दूध किन्न गोठमै पुग्छन् ग्राहक



बाँके : तपाई दूध किन्नका लागि डेरी पसल वा किसानको गोठमै पुग्नुभयो भने तपाईलाई पहिलो प्रश्न सोधिन्छ, दूध कति लिटर चाहियो ? तपाईले प्रतिलिटर दूधको मूल्य सोध्दै आवश्यकताअनुसार दूध माग्नुहुन्छ । पसले वा किसान आफैँले दूध लिटरले नापेर तपाईलाई दिन्छन् ।

यो अहिलेसम्म चलिआएको पद्धति नै हो भन्नुपर्छ तर बाँकेको कोहलपुर नगरपालिका–११ को शीतलनगरमा एउटा घर छ, जहाँ ग्राहकले आफैँ नापेर दूध लैजान्छन् । दूध नाप्दा कहिल्यै तलमाथि हुन्न । ग्राहकले गोठमै पुगेर दुहुँदै गरेको अवस्थामा प्रतिलिटर रु ७० तिर्छन्, आफैँले लिटरमा नाप्छन् र चाहिए जति लैजान्छन् । दूध बेच्ने र किन्नेबीच मोलमोलाई हुँदैन । न त ग्राहकलाई दूध कम प¥यो कि भन्ने शङ्का नै रहन्छ ।

कोहलपुरका विष्णु पोखरेल र शारदा पोखरेलले सञ्चालन गरेको गाई फार्ममा यस्तै पद्धति बसालिएको छ । “शुरु शुरुमा गाई दुहुँदै गर्दा दूध माग्न आउँथे । हामी व्यस्त हुन्थ्यौँ । आफैैँ नापेर लैजान भन्यौँ”, विष्णुले शुरुआती दिन सम्झँदै भने, “आफैँ नापेर लैजान पाउँदा उनीहरु दङ्ग, हामीलाई पनि काममा सहयोग भयो । सबै विश्वासमा चलेको छ । ग्राहकलाई शुद्ध दूध खुवाउन पाउँदा खुशी छु ।”

यस्तो अभ्यास एक दशकदेखि चलिरहेको छ । शुरुमा यो दम्पतीको गाई फार्म थियो । स्थानीयवासीलाई दुहुँदै गरेको दूध दिने बानी बस्यो । अहिले कोहलपुर नगरपालिका–८ पिपरीमा प्रकृति गाई फार्म छ । त्यहाँबाट दुहुने बित्तिकै ल्याएको दूध ग्राहकलाई दिइन्छ।

फार्ममै दूध लिन आउने उनका ग्राहकलाई दूध लिनकै लागि फार्म मालिकलाई कुर्नुपर्दैन । “बेच्ने र किन्नेबीच विश्वास भएपछि शङ्काको कुरै रहेन”, फार्म सञ्चालक विष्णुले भने।

पोखरेल दम्पतीले २०६६ सालमा खजुराबाट रु २२ हजारमा एउटा गाई किनेर व्यवसाय शुरु गरे । अहिले उनको गोठमा ३५ वटा गाई छन् । तीमध्ये १७ वटा त दूध दिने नै छन् । औसत एउटा गाईले १५ लिटरसम्म दूध दिने गर्छ ।

उनले दैनिक १५० लिटर दूध बेचेर वार्षिक रु १८ लाख बचत गर्छन्। “मल मात्र वर्षमा रु दुई लाखभन्दा बढीको बेच्दै आएको छु”, विष्णु पोखरेले भने, “गाई फार्ममा रु दुई करोड लगानी भइसकेको छ ।” शिक्षित भएर गाई पाल्ने किसान, पोखरेल दम्पतीको पहिचान हो । उनले सफल कृषकका रुपमा केही वर्षअघि राष्ट्रपतिबाट पुरस्कार पनि पाइसकेका छन्।

पोखरेल दम्पती दुवै जना समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। कोहलपुरमा आफ्नै लगानीमा सञ्चालित सङ्कल्प शिक्षालयमा विष्णु प्रिन्सिपल छन् भने शारदा कोहलपुरमै रहेको उपकार लघुवित्त वित्तीय संस्थामा कार्यकारी निर्देशक । पढेलेखेका व्यक्तिले गोठमा काम गर्दैनन् भन्ने समाजलाई उनीहरुले चुनौती दिएका छन्।

पाल्पाको रैनादेवीमा पुख्र्यौली घर भएका पोखरेलले नवलपरासी हुँदै बाँकेमा आएर गाईपालन शुरु गरे। १३ वर्ष शिक्षण पेशा र आठ वर्ष भूमि अधिकारका क्षेत्रमा लाग्नुभएका पोखरेल अहिले शिक्षालय र गाईपालनको काम सँगसँगै अघि बढाएका छन् । “कुनै पनि काम ठूलो सानो हुँदैन । सबै कामका आफ्नै महत्व हुन्छन्”, विष्णुले भने, “गोठमा काम गर्दा गोबर फाल्नुपर्छ । गोठको काम सकेर मात्र घर परिवारलाई समय दिन्छौँ ।”

गोठमा एक जनामात्र कामदार छन् । गाई दुहुने, सरसफाइ गर्ने र घाँस दाना दिने सबै काम पोखरेल दम्पतीकै जिम्मा हो । बिहान ३ बजेदेखि उहाँहरुको दैनिकी शुरु हुन्छ । “काम सकेर ९ बजे अफिस जान्छु”, शारदाले भने, “दिउँसो ३ बजेदेखि दूध दुहुन शुरु हुन्छ । अफिसबाट ५ बजे आएर राति ९ः३० बजेसम्म फार्ममा काम गर्छु ।” यसबाट पोखरेल दम्पती पूर्णरुपमा सन्तुष्ट छन्।

“रक्सी बेचेको भए म रातारात धनी हुन्थे होला । घर परिवारमै बसेर समाजलाई दूध खुवाएर स्वास्थ्यका लागि फाइदा हुने काम गरेको छु”, विष्णुले सन्तुष्टि व्यक्ति गर्दै भने, “छ महीनाको बच्चादेखि १०३ वर्षको हजुरआमालाई दूध खुवाउन पाएकोमा खुशी छु । उनीहरु मेरो ऊर्जा र प्रेरणाको स्रोत हो ।” उनले दूधमात्र होइन, मलमूत्रबाट पनि फाइदा लिएका छन्। “बारीमा रासायनिक मल र विषादी नहालेको तरकारी फलाउँछु र खान्छु”, उनले भने।

उनले अहिलेसम्म रु पाँच लाख सरकारी अनुदान पाएका छन्। प्रदेश सरकारबाट रु चार लाख र कोहलपुर नगरपालिकाबाट रु एक लाख पाएका छन्। अनुदान वितरणको मापदण्ड नै उनलाई चित्त बुझेको छैन । “३५ वटा गाई पाल्दा पनि रु चार लाख पाएँ । चार÷पाँच वटा गाई हुनेले पनि यतिनै रकम पाएका छन् । पाल्दै नपाल्नेले अनुदान पाएका छन् । यो निकै अन्यायपूर्ण छ । सरकारले नै अनुदान वितरणको मापदण्ड बनाउनुपर्छ”, उनको भनाइ छ ।

“मुलुकको विकास र समृद्धिका लागि कृषि क्षेत्रको विकास अपरिहार्य छ”, विष्णुले भने, “देश समृद्ध बनाउने कृषिबाटै हो । कृषि आर्थिक क्षेत्रको मेरुदण्ड नै हो । यहाँ त जग्गा बाँझो राखेर बेरोजगार छु भन्ने गलत प्रवृत्ति छ ।” उनले गाई पालेर कोहलपुरमा १० कोठे दुई तले घर बनाएका छन्। – रासस

प्रतिक्रिया दिनुहोस्