संविधानले सामाजिक न्यायलाई सुनिश्चित गरेको छ : मन्त्री बाँस्कोटा



विराटनगर : सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधानले जनताका सुरक्षा, सम्मान र सामाजिक न्यायलाई सुनिश्चित गरेको बताएका छन्।

प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले परिवर्तनका लागि जोखिमपूर्ण यात्राबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नुको विकल्प नभएको बताए।

मन्त्री बाँस्कोटाले संविधानलाई कार्यान्वयनमा ल्याउन जनता बढी जागरुक हुुनुपर्ने भन्दै विभिन्न जातजाति, भाषा, संस्कृतिका भन्दा सबैका साझा पर्व संविधान दिवस भएको बताए।

उनले नेपाली जनताका भविष्य र सपनालाई अुनबन्धित एवं सुनिश्चित गरेको यो संविधान दिवसले देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायलाई स्थापित गर्ने विश्वास व्यक्त गरे।

संविधान दिवस २०७६ विशेष रुपमा मनाउन सरकारबाट आह्वान भइसकेको चर्चा गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रलाई सबलीकरण गर्ने सञ्चारमाध्यम सधैँ जागरुक हुनुपर्ने बताए।

वर्तमान प्रणालीलाई बलियो बनाई आर्थिक र सामाजिक रुपान्तरणमा गति दिन सबैलाई आग्रह गर्दै मन्त्री बाँस्कोटाले संविधान कुनै दल विशेषको मात्र नभएर सबैको भएको स्पष्ट पारे। ।

उनले नागरिक गुनासोलाई स्वाभाविक रुपमा लिएको चर्चा गर्दै सरकार मन परेन भने व्यवस्थालाई कमजोर पार्ने काम सह्य नहुने बताए।  – रासस

प्रतिक्रिया दिनुहोस्