वामदेवसँग रामचन्द्रलाई भिडाउने देउवाको दाउँ



काठमाडौं : देशभरबाट महत्वका साथ हेरिएको कास्की निर्वाचन क्षेत्र २ मा हुने उपनिर्वाचनमा राजनीतिक दलहरुले कस्कलाई उम्मेदवार बनाउँछन् भन्ने कौतुहलतासँगै विभिन्न नामहरु चर्चामा आउन थालेका छन् ।

रिक्त निर्वाचन क्षेत्रहरुबाट जनप्रतिनिधि निर्वाचित गर्नका लागि आगामी १४ मंसिरमा हुन गइरहेको उपनिर्वाचनमा कास्की–२ मा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी उपाध्यक्षमा प्रस्तावित हेभिवेट नेता वामदेव गौतमलाई अघि सार्ने तयारी गरेपछि कांग्रेसले पनि हेभिवेट उम्मेदवारका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम चर्चामा ल्याएको छ ।

यो हिसाबले कास्कीमा हुने उपनिर्वाचनमा रोचक भिडन्त हुने आकलन गरिएको छ । संघीय निर्वाचनमा पराजित हेवीवेटहरु सत्ताधारी तथा प्रतिपक्ष दुवै पार्टीको रोजाइमा परेको देखिन्छ । सत्तारुढ नेकपाले गौतमलाई अघि सार्ने तयारी गरिरहँदा प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीमा वरिष्ठ नेता पौडेललाई अघि सार्ने विषयमा आफ्ना निकटवर्तीसँग परामर्श गरेको बताइन्छ । यद्यपी वरिष्ठ नेता पौडेलले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले कास्कीको चुनावलाई जिवन र मरणको सवालको रुपमा बताउँदै आएको छ ।

गौतम गत निर्वाचनमा बर्दियामा कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए भने पौडेल साबिक एमालेका किसन श्रेष्ठसँग तनहुँमा पराजित भएका थिए । २०४८ सालदेखि नै लगातार चुनाव जित्दै आएका पौडेल र जितमा ‘ओभर कन्फिडेन्स’ रहेका गौतमले पराजय बेहोरेपछि यी दुवैले निकै आहत महसुस गरेका थिए ।

हाल कांग्रेसका सभापति देउवाले पौडेललाई अघि सारेर राहत दिने योजना बनाएको देखिन्छ । हुन त पौडेललाई उम्मेदवारका रूपमा चर्चामा ल्याउनुका पछाडि देउवाको अन्य मनसायले पनि काम गरेको विश्लेषण कतिपयले गरेका छन् । तथापि संभावित उम्मेदवारका लागि चर्चामा आएका पौडेलले भने यसबारे मुख खोलेका छैन । जानकारहरु पौडेलको विजय सुनिश्चित गर्न सकेमा पार्टीलाई महाधिवेशनमा पुर्याउन सहज बन्ने र आफू पुनः सभापति बन्न सक्ने देउवाको दाउँ रहेको बताउछन् । त्यसै गरी पराजय नै हात लाग्यो भने पनि पौडेल अझ कमजोर बन्ने हुनाले देउवालाई फाइदा नै हुने देखिन्छ ।

तत्कालीन पयर्टनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्र भएकाले पनि नेकपाले यसलाई आफ्नो प्रतिष्ठाका रूपमा लिएको छ । गौतमले उठ्न नचाहेको अवस्थामा भने नेकपाले रवीन्द्र धर्मपत्नी विद्या भट्टराईलाई उठाउने क्रममा राखेको छ । गौतम उठेको अवस्थामा भने भट्टराईलाई राष्ट्रियसभामा मनोनित गर्ने बताइएको छ । उता, कांंग्रेसले पनि आफ्नो राम्रै जनमत भएकाले पौडेलबाहेक जित्न सक्ने वैकल्पिक उम्मेदवारको खोजीमा छ ।

प्रतिक्रिया दिनुहोस्