संविधान दिवसका थरिथरी तर्क



काठमाडौं : संविधान दिवसको अवसरमा विभिन्न टिकाटिप्पणी आइरहेका बेला नेकपाका युवा नेता तथा प्रदेश ५ का सांसद विष्णु पन्थीले सरकारमा सहभागीहरुले नै सविधान दिवसलाई ‘कालो दिवस’ भन्नु अनैतिकताको पराकाष्ठा भएको बताएका छन् भने राजनीतिक विश्लेषक डा. राजेश अहिराजले सपथ खाएको संविधानको विरोध गरेर मधेशीको मानमर्दन नगर्न आग्रह गरेका छन् ।

देशभर दीपावली गरी मनाइने संविधान दिवसलाई संघीय र प्रादेशिक सरकारमा संलग्न पार्टीहरुले कालो दिवसका रुपमा मनाउने घोषणा गरेपछि नेकपाका युवा नेता तथा प्रदेश सांसद पन्थीले त्यसबारेमा कडा आपत्ति जनाएका छन् । पन्थी भन्छन्– ‘त्यही संविधानको सपथ लिएर मन्त्री, सांसद भई ओहदा ग्रहण गर्ने र पारिश्रमिक खाने अनि त्यही संविधानलाई मान्दिन भन्ने हुन सक्दैन । जनताबाट निर्वाचित संविधानसभाद्वारा संविधान पारित गरेको दिनलाई ‘कालो दिन’ भन्नु अनैतिकताको पाराकाष्ठा, चरम गैरजिम्मेवार र घोर विग्रहकारी कुरा हो, जसलाई सर्वत्र अस्वीकार गरिनु पर्छ ।’

पन्थीका अनुसार यसो गरिनु भनेको “हग्नेलाई भन्दा देख्नेलाई लाज” भने जस्तै हो । उनका अनुसार मधेस र मधेसी जनतालाई केवल सिंहदरबार पुग्ने भ‍र्याङका रूपमा प्रयोग गर्दै आएका केही दल र तिनका नेताले मधेस र मधेसी जनतातिर फर्केर विगतमा आफूले दिएको सपना र आश्वासनको निर्मम समीक्षा गर्नुपर्ने बेला आएको छ ।

संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउने तयारी गरिरहेका मधेशका राष्ट्रिय जनता पार्टीलगायतलाई राजनीतिक विश्लेषक तथा अधिवक्ता डा. अहिराजले यसको विकल्पमा केही विशेष टिप्स सुझाएका छन् । डा. अहिराज विरोधको पुरानो तौरतरिकामा सुधार ल्याउनुपर्ने पक्षमा देखिन्छन् । यसका साथै उठाइएका विषयहरु समयसापेक्ष परिवर्तित हुँदै जाँदा तदनुकुल एजेण्डामा पनि केही न केही परिवर्तन आउनु पर्ने कुराको हेक्का राख्न राजनीतिक पार्टीहरुको ध्यानाकर्षण गरेका छन् ।

डा. अहिराजका अनुसार संविधानमा विभेद देखिने धाराहरु, कारण र समाधान सहितको सुची सार्वजनिक गरी अघि बढ्नु पर्ने कु्रामा जोड दिन्छन् । यससँगै संविधान बनाउने क्रममा पाएका पद, बेचेका पद, बाँडेका पद र कारण सार्वजनिक गरिनुपर्ने धारणा राख्दछन् । पटक पटक सरकारमा गएका कारण जनताका जानकारीका लागि मन्त्री हुँदा मधेशलाई दिएको लाभ, सहिद परिवारका लागि गरिएको कार्यको फेहरिस्त सार्वजनिक गरिनुका साथै एउटै पात्रलाई पटकपटक समानुपातिक पद दिनु वा समानुपातिक सांसद बनाउनु र मधेश मुद्दामा गरेका लागानी र उचित कारणहरु जनतामाझ सार्वजनिक गरिनु पर्छ ।

यसका साथै डा. अहिराजको अर्को टिप्स छ, सम्झौता लागू नहुनुको कारण र यसका दोषीबारे मुख खोलिनु पर्छ । आफ्ना आन्तरिक कमीकमजोरीतिर फर्केर हेरी पारिवारिक सदस्य र व्यापारीलाई राजनीतिक पद दिनुको न्यायोचित कारण र त्यस बापत मधेशले पाएको उपलब्धि सार्वजनिक गरिनु पर्ने उनको तर्क छ । उनका अनुसार समग्रमा देशलाई केन्द्रमा राखेर यो संविधानले मधेशीलाई गरेको विभेदको सुची सार्वजनिक गरिनु जरुरी छ ।

सधैं द्वैधचरित्र पालिराख्ने मधेशी नेताहरुको नियतलाई कोट्याउँदै उनी भनछन्, संसदमै बसेर संविधानको सपथ खाएर संविधानको विरोध गरेर सबै मधेशीको मानमर्दन हुने काम बन्द गर होइन भने कि त सामुहिक राजीनामा दिएर सडकमा ओर्ल कि त संसदभित्र सङ्घर्ष गर ।

प्रतिक्रिया दिनुहोस्