सिंहदरबारमा चोरको विगविगी, खाग र जुंगा चोरको खोजी



कुकुरको विगविगी त बन्ध्याकरण गरेर नियन्त्रण गर्नुपर्यो तर चोरको विगविगी नियन्त्रण कसरी गर्ने भनेर धेरैको टाउको दुखाइको विषय बनेको छ, सिंहदरबारमा ।

काठमाडौं : कहिले माटरसाइकल, कहिले कम्प्युटर त कहिले हाकिमको मोवाइल हराउने ? त कहिले गाडीका टायर नै हराउने ? यस्ता घटना भइरहने देशको केन्द्र तथा सचिवालय सिंहदरबारमा अहिले छुट्टै प्रकृतिको सामान चोरी भएको घटनाले विशिष्ट व्यक्तिहरुको मथिंगल नै घुमाइदिएको छ ।

सामान्य चोरीको घटना हुनु सिंहदरबारको लागि स्वभाविक जस्तै बनेको छ । तर पछिल्लो पटक अलि फरक शैलीको चोरी भएको घटनाले सिंहदरबारमा हल्लिखल्ली मात्र मच्चाएको छैन यो विषय क्याविनेटदेखि संसदमा समेत प्रवेश पाएको छ । यसरी क्याविनेटदेखि संसदसम्म नै पुग्नुपर्ने चोरी घटना खासमा के हो ?

बेलाबखत कुकुरहरुको विगविगी भएको देखिने सिंहदरबारमा अहिले भने चोरको विगविगी बढेको सुनिन्छ । कुकुरको विगविगी त बन्ध्याकरण गरेर नियन्त्रण गर्नुपर्यो तर चोरको विगविगी नियन्त्रण कसरी गर्ने भनेर धेरैको टाउको दुखाइको विषय बनेको छ, सिंहदरबारमा ।

कसले लग्यो गैंडाको खाग र बाघको जुङ्गा
सिंहदरबारस्थित पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेलायती बैठकमा सजाइएको अखेटपहारहरू हराएपछि त्यसको चोरी गर्ने चोरको खोजी भएको छ ।

सर्वसाधारण जनता त्यहाँभित्र छिर्न कडा सुरक्षा व्यवस्था र विशेष पास आवश्यक पर्ने स्थानबाट पहिले राजामहाराजाले प्रयोग गरेका वन्यजन्तुका कतिपय अंग सिंहदरबारभित्रैबाट गायब भएपछि चोरको खोजी गर्नु आवश्यक नै हो । संसद्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीको नेतृत्वको टोली बेलायती बैठक निरीक्षण गर्दा ती चिज वस्तुहरू हराएको पाइएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको टोलीसमेतले अध्ययन गर्दा गैंडाको खाग, बाह्रसिङेको सिङ, बाघका जुँगा नभेटिएका हुन् । सिंहदरबार ग्यालरी बैठकको भुइँतलामा वन्यजन्तुको अंगप्रत्यंग फिँजाइएको छ । त्यहाँ गैंडा, बाह्रसिंगेको टाउको छ । बाघको छालाले मोहोरेर बाघकै आकार दिइएको बुख्याचा छ । डाँफे चराका अंग प्रयोग गरेर डाँफेकै स्वरूप बनाइएको छ । यस्ता अन्य थुप्रै मृत जनावरका अंग छन् ।

ती हराएका सामग्री खोजी गरिनुपर्ने र जिम्मा लिएर बसेका अधिकारीहरूलाई कारबाहीको दायराममा ल्याउनुपर्ने समिति सदस्यहरको मत छ । २०७२ सालको भूकम्पले सिंहदरबारको ग्यालरी भवन ध्वस्त बनायो । अहिले फलामको डन्डी लगाएर भवन जोगाइएको छ । पुनर्निर्माण थालिएको छ । तर, त्यहाँ रहेका सामग्री भने अन्यत्र सारिएको छैन ।

तर बाघका दाँत र नंग्रा नभेटिनुका साथै बाघको जुँगा उखेलिएका र बाह्रसिङेको सिङ काटेर लगिएको तथा गैंडाको टाउको भए पनि खाग नभएको अवस्थामा भेटिएपछि सरकारी कार्यालयबाटै अखेटोपहार तस्करी हुने गरेको पुष्टि हुन थालेको छ । कुनै बेला ग्यालरी बैठक सजाउन प्रयोग गरिएका जीवजनावरका अंग महँगो मूल्यमा बिक्ने भएकाले पनि चोरी भएको हुन सक्ने अनुमान छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराई नेतृत्वको ३५ जनाको टोलीले राजामहाराजाले प्रयोग गरेको अखेटोपहारबारे केही दिनयता अध्ययन गरिरहेको छ । नारायणहिटी दरबारबाट यो अध्ययन सुरु भएको थियो । समितिले नारायणहिटी फारसखानामा रहेको अखेटोपहारको व्यवस्थापन गरिसकेको छ । त्यहाँ पनि हात्तीका छाला, गैंडाको टाउको, बाघको छाला, गोहीको टाउकोलगायत धेरै जीवजन्तुका हाडखोर रहेको बताइन्छ ।भट्टराई नेतृत्वमा रहनेगरी विभिन्न मन्त्रालय र निकाय समेटेर ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’ले अखेटोपहार व्यवस्थापन गर्न समिति गठन गरेको थियो ।

समितिमा ११ मन्त्रालयको समेत प्रतिनिधित्व छ । ३५ सदस्यीय समितिमा सेना–प्रहरी पनि संलग्न छन् । गत बिहीबार समिति सभापति रामनारायण बिडारीले समेत ग्यालरी हल पुगेर अखेटोपहारलगायत अन्य वस्तुस्थिति बुझेका थिए ।

ती हराएका सामग्री खोजी गरिनुपर्ने र जिम्मा लिएर बसेका अधिकारीहरूलाई कारबाहीको दायराममा ल्याउनुपर्ने समिति सदस्यहरको मत छ । २०७२ सालको भूकम्पले सिंहदरबारको ग्यालरी भवन ध्वस्त बनायो । अहिले फलामको डन्डी लगाएर भवन जोगाइएको छ । पुनर्निर्माण थालिएको छ । तर, त्यहाँ रहेका सामग्री भने अन्यत्र सारिएको छैन ।

स्रोतका अनुसार गृह मन्त्रालयअन्तर्गतका कर्मचारहरूले सो निकायको संरक्षणको जिम्मा लिएकाले तिनीहरू कारबाहीमा पर्ने बताइएको छ । यद्यपि समितिले निरीक्षणको प्रतिवेदनको अन्तिम रूप दिइनसकेकाले के सुझाव दिन्छ भनेर अहिले नै यसै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्