प्रधानमन्त्रीका लागि ४० करोडको नयाँ निवास



काठमाडौं : प्रधानमन्त्री निवासका लागि ४० करोड खचेर दुईवटा नयाँ भवन बन्ने भएको छ । प्रधानमन्त्रका लागि नयाँ बनाउन लागिएको सरकारी निवासको आज प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास गरेका छन् ।

अहिले बसिरहेको प्रधानमन्त्रीको सरकारी निवास भुकम्पले क्षति पुर्याएको भन्दै नयाँ बनाउन लागिएको हो । अहिलेको सरकारी निवासका विषयमा ज्योतिषहरुले त्यति शुभनभएको बताउँदै आएका थिए ।

अहिले नयाँ बन्ने निवास प्रधानमन्त्रीले मात्रै प्रयोग गर्ने निजी भवन करिब एक रोपनी क्षेत्रफलमा फैलिने छ । यो भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १० युनिट निर्माण गरिनेछ । जहाँ पाहुना रुम, लिभिङ रुम, किचन र डाइनिङ, लुगा धुने लाउन्ड्री, सुरक्षा कोठालगायतका संरचना हुने छन् ।

भवनको पहिलो तलामा विभिन्न प्रयोजनका लागि १५ युनिट बनाइनेछ । यो तलामा प्रधानमन्त्री सुत्ने कोठा, पढ्ने कोठा, पूजा कोठा र खाना खाने कोठा हुनेछन् ।

दोस्रो तला भने अति विशिष्ट पाहुनाको प्रयोजनका लागि छुट्याइने छ । जहाँ विभिन्न ११ युनिट निर्माण गरिनेछ ।

त्यस्तै तीन तलाको सार्वजनिक भवन करिब दुई रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । भवनको बीचमा नेपाली परम्परागत शैलीको चोक बनाइने छ । चोकमा नेपालको संस्कृति झल्कने कला र मुख्य धरोहरको नमूनासमेत निर्माण गरिने बताइएको छ ।

भुइँतलामा अति विशिष्ट व्यक्तित्वसँगको भेटघाट कक्ष रहने छ । भुइँ तलामै आपतकालीन समयमा मन्त्रिषरिषद बैठक बस्नका लागि क्याबिनेट हल पनि निर्माण गरिने छ । प्रधानमन्त्रीसँग मन्त्रीहरूसँगको भेटघाट पनि भुइँ तलामै गर्ने ब्यवस्था मिलाइने छ ।

प्रतिक्रिया दिनुहोस्