अफगानिस्तानमा कारबम विस्फोट, १० जनाको मृत्यु



अफगानिस्तान : अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा परी १० जनाको मृत्यु भएको छ । यस घटनामा परी अन्य ८५ जना घाइते भएको अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्।

अफगानिस्तानको जाबुल प्रान्तमा तालिबानी लडाकू समूहले गरेको यो पछिल्लो हिंसात्मक घटना हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक अमेरिकी सेनाबाट फिर्ता लिने सम्बन्धमा तालिबानसँगको वार्ता समाप्त गरेपछि हिंसा बढेको पाइएको छ ।

आज बिहान जाबुलको कलाट शहरमा भएको कारबम राष्ट्रिय सुरक्षा निर्देशालयलाई लक्षित भएको बताइएको छ । उक्त हमलामा सोही स्थानमा अवस्थित रहेको जाबुलको क्षेत्रीय अस्पताल नष्ट भएको बताइएको छ ।

जाबुल प्रान्तका प्रान्तीय परिषदका प्रमुख अता जान हकबायानले भने उक्त घटनामा २० जनाको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएको बताएका छन्। बम विष्फोटको तालिबान लडाकू समूहका प्रवक्ता, कारी यसुफ अहमदीले दाबी गरेका छन् । – रासस

प्रतिक्रिया दिनुहोस्