कोरिया र जापानबीच कूटनीतिक वार्ता हुने



एजेन्सी : जापान र कोरियाबीचमा पछिल्लो समयमा व्यापारसम्बन्धी विवाद देखिएको बेला यी दुई देशका अधिकारीबीच यसै हप्ता कूटनीतिक वार्ता हुने भएको छ । जापान र कोरियाका महानिर्देशक तहका अधिकारीबीच सो वार्ता हुने अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्।

दक्षिणको कोरियाको विदेश मन्त्रालयले बिहीबार जनाएअनुसार दक्षिण कोरियाको विदेश मन्त्रालयका एसिया प्यासिफिक क्षेत्रीय मामिलाका महानिर्देशक किम जङ हन र उनका जापानी समकक्षी सिगेकी ताकिजाकीबीच सो वार्ता हुन लागेको हो ।

दक्षिण कोरियाको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिका अनुसार आगामी शुक्रबार उक्त द्विपक्षीय वार्ता हुन लागेको छ । उक्त वार्ताका क्रममा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी हुने जानकारी सो विज्ञप्तिमा दिइएको छ ।

यी दुई देशबीच पछिल्लो समयमा आयात निर्यातका वस्तुहरु र करका विषयमा विवाद उत्पन्न भएको छ ।
सोही विवादलाई सहज बनाउने प्रयासस्वरुप उहाँहरुबीच यो तहमा वार्ता हुन लागेको अधिकारीहरुले जानकारी दिएका छन् । – रासस

प्रतिक्रिया दिनुहोस्