संविधान दिवसका दिन निजी मेडिकल कलेजमा निशुल्क बहिरङ्ग सेवा



चितवन : संविधान दिवसका अवसरमा यहाँका निजी मेडिकल कलेजले पनि आज बहिरङ्ग सेवा निःशुल्क गरेका छन् । सरकारले सबै सरकारी अस्पतालमा आज एक दिनका लागि बहिरङ्ग सेवा निःशुल्क गर्ने घोषणा गरेको थियो ।

जिल्लामा रहेका चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरङ्ग सेवा निःशुल्क गरेका हुन् । चितवन मेडिकल कलेजका व्यवस्थापक पारस अधिकारीले बहिरङ्गका विशेष र सामान्य दुवै सेवा निःशुल्क गरिएको बताएका छने । अरु दिनहरुमा सामान्यमा रु. २५ र विशेषमा रु. ४०० सेवा शुल्क लिने गरिएको थियो ।

यी दुवै निजी मेडिकल कलेजमा दैनिक पन्ध्र÷पन्ध्र सयका दरले बिरामी आउने गरेका छन् । दैनिक २,००० का दरले बिरामीहरु आउने गरेको जिल्ला सरकारी अस्पतालले पनि बहिरङ्ग सेवा सबै निःशुल्क गरेको छ ।

त्यसै गरी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि बहिरङ्ग सेवा निःशुल्क गरेको छ । संविधान दिवसलाई विशेषरुपमा मनाउन जिल्लाभर विभिन्न कार्यक्रमको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्