सुपथ मूल्यका पसल : हल्ला धेरै सामान कम



काठमाडौं : सर्वसाधारण जनतालाई चाडपर्वको मुखमा सर्वसुलभ ढंगले उपभोग्य वस्तुहरु उपलब्ध गराउने उद्देश्यले सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलहरुमा क्रमशः घुइँचो लाग्न थालेको छ । सबै उपभोग्य सामाग्रिहरु एकै ठाउँमा पाउने भने पनि एकै ठाउँमा सामान नपाउँदा सर्वसाधारणले भने असहज महशुस गरेका छन् ।

उपभोग्य वस्तु एउटै छानामुनी नपाउँदा सरकारले चाडपर्व लक्ष्ति सञ्चालन गरेको सुपथ मूल्य पसल प्रभावकारी नभएको सर्वसाधारणको गुनासो छ ।

नेपालीले मनाउने महान पर्व दशैं, तिहार तथा छठलाई लक्षित गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

सुपथ पसलहरु भक्तपुर, जावलाखेल, थापाथली, रामशाहपथ, नख्खु र जडिबुटिमा राखिएको छ । सुपथ मूल्य पसलमा नुन, तेल, चिनी, दाल, पिठो, चामल लगायतका दैनिक उपभोग्य बस्तु राखिएको छ ।

यी सामान खरिदमा २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिने व्यवस्था गरिएको छ ।

तर खोजे जस्तो सामानको गुणस्तर, लामो समय लाइन बस्नुपर्ने, चाडपर्वमा चाहिने सामानहरु नपाइने गरेको रामशाहपथमा खोलिएको पसलमा सामान किन्न आउने रमेश केशीको गुनोसो छ । उनी भन्छन्–‘कुनै सामान पाइन्छ कुनै पाइँदैन हामीलाई थाहा हुँदैन । लाइन बसी सकेपछि सोध्दा त्यो सामाननै पाइँदैन । समयको मात्र खर्च हुन्छ ।’

घट्टे कुलो बस्ने अर्का सर्वसाधारण देवी निरौला भन्छन्–‘अरु पसलभन्दा अलि अलि सस्तो रहेछ । सोचे जस्तो धेरै फरक पाइन । नजिक हुनेलाई त ठिकै छ हामी जस्तो टाढाबाट गडि चढेर आउनेलाई उस्तै उस्तै पर्छ । सामान खरिदका लागि सर्वसाधारण साँझ वा बिहानको समयमा बजार निस्किने गर्छन् । तर, सहुलियत मूल्य पसल भने उपभोक्ताको चाप बढी हुने समयमा बन्द हुने गरेका छन् । विहान १० बजेदेखि बेलुका पाँच बजेसम्ममात्र यस्ता पसल सञ्चालन भइरहेका छन् । जुन हाम्रो लागि निकै अपायक समय हो ।’

जडिबुटिमा खोलिएको सुपथ मूल्य पसलमा किन्न आउने अर्का सर्वसाधारण सिला आचार्यलाई भने सरकारले सञ्चालन गरेको यस्ता पसल ठिकै लागेको बताउछिन् ।

उनी भन्छन्– ‘पहिलाको वर्षहरुमा पनि यस्तै पसलबाट सामान किन्दै आएका छौं । केहि नहुनु भन्दा यतिकोसम्मको पनि ठिकै छ । अझ राम्रो गुणस्तरीय सामाग्री भइदिए, अझ सस्तोमा पाए झन प्रभावकारी हुन्थ्यो ।’

यस्तै जाउलाखेलमा सञ्चालन गरिएको सुपथ मूल्य पसलमा सामान किन्न आउने मुना थापाको पनि उस्तै गुनासो छ । उनी भन्छन्– ‘बाहिर र यहाँको पसलमा खासै फरक छैन । चाडपर्वलाई मात्र लक्षित नभएर १२ महिना सञ्चालन भए अझ राम्रो हुन्थ्यो ।’

जनतालाई सहुलियत दिने उद्देश्यले २३ गतेदेखि सञ्चालनमा आएका सुपथ मूल्य पसलको बारे कतिले अझ सुधार गर्नुपर्ने बताएका छन् भने कतिले राम्रो भएको बताएका छन् ।

सरकारी संयन्त्रले भने सुपथ पसल सर्वसाधारणको लागि प्रभावकारी भएको दाबी गर्दै आएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपानेका अनुसार अहिले आफ्नो उत्पादन मात्र बिक्री वितरण भइरहेको छ ।

कम्पनिको योजना विभागकी प्रमुख समेत रहेकी उनी भन्छिन्– ‘सर्वसाधारणले गुनासो गरे जस्तो सहुलियत नै नभएको अवस्था होइन । एउटै छाना मुनि सबै सामान नपाउने समस्या छ हामी स्वीकार गछौँ । अरु कम्पनिहरुको पनि उत्पादन राख्न चरणबद्ध रुपमा छलफल गरिरहेका छौं ।’

सहुलियत पसल सञ्चालन गर्नुभनेको बजारलाई कन्टोल गर्ने उपायको रुपमा लिनुपर्ने हुन्छ । सबै ठाउँमा हामी सञ्चालन गर्न सक्ने अवस्थामा छैनौं यो कुरा सर्वसाधारणले पनि बुझिदिनुपर्छ उनी भन्छिन् ।

अनुगमनको पाटोमा पसल भर्खरै सुरु भएकोले अहिले नै अनुगमन सुरु गरेका छनौँ । अब विस्तारै सुरु गछौं । उनी भन्छिन्– ‘अनुगमनका लागि कार्यदल नै बनाएका छौँ, मन्त्रालयको तर्फबाट, संस्थानको तर्फबाट र जुन ठाउँमा पसल सञ्चालन भएको छ त्यहाँका स्थानीय निकायबाट अनुगम गर्ने र बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्ष विभागबाट पनि अनुगम हुन्छ ।’

थोरै प्रकारका उत्पादन हामीसँग भएकोले पनि समस्या छ र कर्मचारी पनि कम भएकोले सोचे जस्तो प्रभावकारी नभएको हो । हामी यसमा लागि परेका छौं उनी भन्छिन्–‘पहिलाको वर्षहरुमा भन्दा यो वर्ष संख्याको हिसाबले वृद्धि गरिएको छ।’

पहिला उपत्यका केन्द्रीत पसल सञ्चालन हुन्थ्यो तर यो वर्ष पूर्वदेखि पश्चिमसम्म सञ्चालन गरिएको छ ।

उपत्यकाका ५ स्थान र उपत्यका बाहिरका १८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा छन् । उपत्यकाको एउटा ठाउँ रामशाहपथमा भने एकिकृत सहुलियत मूल्यका पसल सञ्चालन गरिएको छ जहाँ साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले एकीकृत रुपमा एउटै छानामुनि सामान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्