दशैंका लागि नयाँ नोट १० गतेदेखि, कहाँ–कहाँ साट्न पाइन्छ ?



काठमाडौं : सर्वसाधारणलाई लक्षित गरेर यो वर्षको दशैं तिहारका लागि नेपाल राष्ट्र बैंकले आगामी १० गतेबाट नयाँ नोट वितरण गर्ने तयारी गरेको छ ।

यसका लागि आन्तरिक तयारी पूरा गरेका बताउँदै नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने– ‘हामी आउदो शुक्रबार १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने तयारीमा छौँ । त्यसदिन नसकिए आइतबार १२ गतेदेखि वितरण कार्य शुरु हुन्छ ।’

त्यस्तै अन्य बैंक र वीत्तीय संस्थालाई आगामी ५ गतेदेखि वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । अहिलेसम्म बैंकको थापाथली कार्यालयबाट नोट सटही सुविधा दिँदै आएकोमा यसपटक भवन निर्माणकार्य भइरहेकोले थापाथलीको सट्टा राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाटै सटही सुविधा हुने प्रवक्ता निरौलाले जानकारी दिए ।

गत वर्ष प्रतिव्यक्ति २७ हजार रुपैयाँको सटही सुविधा दिइएकोमा यो वर्ष भने प्रतिव्यक्ति १८ हजार पाँच सय मात्र उपलब्ध गराईने भएको छ । ५, १०, २०, ५० र १०० दरका एकएक बण्डल उपलब्ध गराईने छ । बैंकले नयाँ नोट सटही निरुत्साहित गर्न खोजेकोले गत वर्षभन्दा यो वर्ष कम दिन लागिएको प्रवक्ता निरौलाको भनाई छ ।

राष्ट्र बैंकले गत वर्षजस्तै यो वर्ष पनि कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाबाट नयाँ नोट सटही हुने जानकारी दिएको छ । जसअनुसार नेपाल बैंकका न्यूरोड, किर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही हुनेछ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार, नक्साल, कलंकी र बालाजु शाखाबाट सटही सुविधा लिन सकिनेछ । त्यस्तै कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु शाखाबाट सर्वसाधारणले नयाँ नोट सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्