‘आवश्यकता र औचित्यमा संविधान संशोधन’



काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका छन्।

संविधान दिवसको अवसरमा आज उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतले आज आयोजना गरेको ‘संविधान कार्यान्वयन उपलब्धि र आगामी मार्गचित्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले संविधानका कार्यान्वयनका केही चुनौती रहेकाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गरिने बताए।

संविधानमा उल्लेख गरिएका केही कुरा कार्यान्वयन गराउन चुनौती रहेकाले त्यस्ता चुनौतीको बारेमा ध्यान जान जरुरी रहेको धारणा पनि राखे। “मौलिक हक रहेको स्वास्थ्य र शिक्षामा सबैको सहज पहुँच पु¥याउन समस्या रहेको छ । गरीबी निवारणका बारेमा अहिलेकै प्रणालीबाट ठोस र परिमाण दिन सक्न पनि चुनौती रहेको छ”, उनले भने, “चुनौतीलाई समाधान गर्न संविधान संशोधन आवश्यक रहेको छ ।”

उनले अहिलेको न्यायप्रणालीबाट आम नागरिकले न्याय प्राप्त गरेको अनुभव पाउनुपर्ने भए तापनि त्यसो हुन नसकेको बताए। उनले १५ औँ योजनाले तय गरेका लक्ष्य पूरा गर्न पनि अहिलेको संविधानबाट चुनौती रहेको बताए।

संविधानका चुनौतीलाई चिर्दै संविधानको गतिशीलता प्रदान गरेर मुलुकलाई समृद्धि बनाउनुपर्ने उनको भनाइ रहेको थियो । उनले संविधानमा व्यवस्था गरिएको निर्वाचन प्रणाली पनि खर्चिलो भएकाले संशोधनको आवश्यकता रहेको बताए।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधान कार्यान्वयन अझै परिपक्व चरणमा नपुगेको बताए। “कतिपय विषयवस्तु कार्यान्वयन गर्दै जानुपर्ने भएकाले अझै संविधान कार्यान्वयन अझै परिपक्व भइरहेको छैन”, उनले भने, “विस्तारै कार्यान्वयन गर्दै संविधान परिपक्व हुन्छ ।”

नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले पहिलोपटक सार्वभौमसत्ता नेपाली जनतामा राखिएको अहिलेको संविधान सबैले मिलेर कार्यान्वयन गर्नुपर्ने बताए। “योभन्दा राम्रो सविधान अरु हुन सक्दैन”, उनले भने, “यही संविधानबाट मुलुकलाई समृद्धि बनाउनु पर्दछ ।” – रासस

प्रतिक्रिया दिनुहोस्