सातामै ३०९ प्रतिशतसम्म तरकारीको भाउ बृद्धि



काठमाडौ : २६ भदौमा प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको हरियो प्याजको मूल्य एक सातामै ३०९ प्रतिशतले महँगिएर बिहीबार २२५ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिकिलो २४५ रुपैयाँमा कारोबार भएको हरियो धनियाँको मूल्य ११० प्रतिशतले बढेर ५१५ रुपैयाँमा बिक्री भएको छ ।

केही दिनसम्म लगातार परेको झरीका कारण हरियो तरकारीको भाउ आकासिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अहिले तराईका उत्पादन नआएको, अफ सिजन तरकारीले बजार धानेको र सोह्रश्राद्धका कारण माग बढेकाले पनि हरियो तरकारीको मूल्य ह्वात्तै उकालो लागेको व्यवसायीहरू बताउँछन् । ‘यतिवेला तराईको उत्पादन आएको छैन । भारतीय र उपत्यकाआसपासका जिल्लाबाट आपूर्ति भइरहेको छ,’ तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘अर्कातिर सोह्रश्राद्धमा भएको उच्च मागको असर मूल्यमा देखिएको हो ।’

तर, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भने प्रभावकारी अनुगमन अभावमा बजारमा तरकारीलगायत दैनिक उपभोग्य वस्तुको भाउ वृद्धि हुन थालेको दाबी गर्छन् । सरकारले मूल्यवृद्धि नियन्त्रणमा चासो नदिएको उनको गुनासो छ ।

‘सरकारले अनुगमनमा लापरबाही गरिरहेको छ, जसका कारण उपभोक्ता मूल्यवृद्धिको मारमा परेका छन्,’ उनले भने । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्रकुमार गौचन भने मूल्य नियन्त्रणका लागि सहुलियत पसल सञ्चालन गरेको र अनुमगनलाई चार गुणा बढाएको दाबी गर्छन् ।

किसान र उपभोक्तालाई मार, बिचौलिया मालामाल
उपत्यकामा तरकारीको मूल्य ह्वात्तै बढे पनि दश नग्रा खियाएर उत्पादन गर्ने किसानले सस्तो मूल्यमै बेचिरहेका छन् । उपभोक्ता भान्सा–भान्सामा ठगिएका छन् । किसान र उपभोक्ता मारमा पर्दा बिचौलिया भने मालामाल भएका छन् ।

किसानको बारीमै पुगेर संकलन केन्द्रका व्यापारीले तरकारी उठाउँछन् । यस्ता संकलन केन्द्रका व्यापारीले धेरै किसानको तरकारी नियमित रूपमा खरिद गर्ने गरेका छन् । संकलन केन्द्रमा तरकारी दिए पनि किसानले कति मूल्य पाउने भन्ने थाहा पाउँदैनन् । संकलन केन्द्रका व्यापारीले कालिमाटी बजारमा कुन भाउमा बिक्री हुन्छ, त्यसैका आधारमा मूल्य दिने भनेर किसानबाट उधारोमा तरकारी किन्छन् ।

संकलन केन्द्रका व्यापारी बजार क्षेत्रमा सटर भाडामा लिएर बसेका हुन्छन् । त्यहाँ एउटा ढक राखेर बस्छन् । उनीहरूकहाँ तरकारी लिन ट्रक, मिनीट्रक लिएर ढुवानीकर्ता पुग्छन् । ढुवानीकर्ताले कालिमाटीको पहिलो दर्जाका थोक व्यापारीलाई तरकारी दिन्छन् । पहिलो दर्जाका थोक व्यापारीकै हातमा तरकारीको भाउ निर्धारण गर्ने हैसियत हुन्छ । उनीहरूले तोकेकै भाउ बजारमा चल्छ । यस्ता थोक विक्रेताले ठूलो मात्रामा तरकारी भण्डारण गरी राख्छन् । यिनीहरूबाट साना थोक व्यापारीले तरकारी लिन्छन् ।

साना थोक व्यापारीले सामान्यतया पाँच–पाँच किलोका दरले उपत्यकाका साना बजारमा व्यवसाय गर्ने तथा पसल थापेर बिक्री गर्ने व्यवसायीलाई तरकारी बिक्री गर्छन् । साना थोक व्यापारीले आलू, प्याज भने प्रतिबोराका हिसाबले बेच्छन् । यस्ता व्यापारीबाट तरकारी खरिद गर्ने पसले तथा बजार–चोक क्षेत्रमा ठेला गाडा राखेर तरकारी बिक्री गर्ने साना व्यवसायीबाट उपभोक्ताले तरकारी खरिद गर्छन् । कालिमाटी बजारले निर्धारण गरेको खुद्रा मूल्यभन्दा पसल तथा चोकमा रहेका ठेलागाढाबाट तरकारी किन्दा प्रतिकिलो पाँचदेखि दश रुपैयाँ महँगो पर्ने गरेको छ । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्