संविधान दिवसको अवसरमा मुख्यमन्त्री पोखरेलले दिए शुभकामना



बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधान दिवसको अवसरमा शुभकामना दिएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै संविधान दिवसको शुभकामना दिएका हुन ।
उनले दिएको शुभकमना सन्देश जस्ताको तस्तै :

संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी, दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सबै ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

नेपाली जनताको एकताबद्ध र लामो संघर्षबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ नागरिकका छोराछोरीले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीे निर्माण गर्न सम्भव भएको हो । नयाँ संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको हो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्ने अभियानमा हामी अघि बढेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा संकल्प हुनुपर्छ । संविधान दिवसलाई सिंगो मुलुकले उत्सवका रुपमा मनाइरहँदा हामीले पनि विभिन्न कार्यक्रम आयोजना गरी उत्सवका रुपमा मनाउन लागिरहेका छौं । राजनीतिक स्थायित्व र सुशासनको लागि यो महत्वपूर्ण आधारशीलाको रुपमा रहने हाम्रो विश्वास छ ।

ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन गर्दै अघि बढेका छौ । संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि नागरिकहरु विकास र समृद्धिको व्यग्र प्रतीक्षामा छन् । तीनै तहमा निर्वाचन मार्फत राजनैतिक नेतृत्व स्थापित भएपछि संघीयताको राजनीतिक आधारशीला खडा भएको छ । कर्मचारी समायोजनले प्रशासनिक संघीयता कार्यान्वयन हुँदैछ । आवश्यक कानुन निर्माण गर्दै शासन प्रणालीलाई स्थापित गर्ने महत्वपूर्ण काम भएको छ । कानुनी, प्रशासनिक र संरचनागत हिसावले संघीयतालाई व्यवहारमा कार्यान्वयन गर्न अझै धेरै काम गर्न वाँकी छ । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गरी मुहारमा उज्यालो छर्न संघीय प्रणालीको व्यवहारिक कार्यान्वयन आवश्यक छ । संविधान दिवसले हामी सबैलाई त्यस दिशामा अघि बढ्न अवश्य प्रेरित गर्ने छ ।
राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा संभव छ । राष्ट्रिय एकतालाई खल्बलाउने गरी हुने कतिपय हर्कतका प्रयत्नलाई नागरिकको बलियो एकता र विश्वासबाट निस्तेज हुने विश्वास लिएको छु । राजनीतिक स्थायित्व र सुशासन विना विकास र समृद्धिको कल्पना गर्न सकिदैन । राज्य वलियो नभई जनअधिकारले सुसज्जित संविधानले प्रत्याभूत गरेका मौलिक हकहरुको संरक्षण हुन सक्दैन । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको बलियो जगको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।
समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य बोकेर समृद्ध प्रदेश निर्माणको अभियानमा अघि बढिरहेका छौं । संविधानले दिशानिर्देश गरेको बाटोवाट न्यायपूर्ण, समतामुलक र समृद्ध समाज निर्माण गर्ने कुरा तीनै तहका सरकारहरुको साझा लक्ष्य हो । संघीय सरकारले सुखी नेपाली समद्ध नेपालको लक्ष्य अघि सारेको छ । प्रदेशको विकास र समृद्धिको बाटोवाट उक्त लक्ष्य पुरा गर्न हामी सार्थक योगदान गर्न चाहन्छौ । संविधान दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्दछु ।
अन्त्यमा, संविधान दिवसको अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।
शंकर पोखरेल
मुख्यमन्त्री

प्रतिक्रिया दिनुहोस्