एघार प्रदेश नबनाए दसैं-तिहारपछि सरकार छाड्ने डा. भट्टराईको चेतावनी



काठमाडौं : आफ्नै पार्टी सरकारमा भएतापनि प्रतिपक्षले जस्तै व्यवहार गरिरहेका समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले दसैं-तिहार मनाएर सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । उनले संविधान संशोेधनको प्रतिबद्धता नजनाए सरकारबाट बाहिरिने बताएका हुन्।

हिजो बिहीबार पत्रकारहरूसँगको अन्र्तक्रियामा भने- ‘संविधान संसोधनका लागि केही समय पर्खन्छौँ दसैं र तिहारसम्म कुरेपछि पनि संविधान संशोधन नभए सरकारबाट बाहिरिन्छौं ।,’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संविधान संशोधनको माग पूरा गर्न केही समय कुर्ने र त्यसपछि पनि नभए सरकारबाट बाहिरिएर आन्दोलनका कार्यक्रम ल्याउने पनि बताए ।

११ प्रदेशको अडानमा कायम रहेका भट्टराईले भने- ‘हामी ११ प्रदेशको मागमा कायम छौं। ११ वा १० प्रदेशमा जानुपर्छ भन्ने हाम्रो माग हो।’

नागरिकता वितरणको प्रसङ्गमा अनावश्यक कडाइ गरेकोमा उनको आपत्ति थियो। नागरिकता वितरणलाई खुकुलो पार्नुपर्ने बताउँदै उनले थपे- ‘कडिकडाउ गर्न जरुरी छैन।’

समाजवादी पार्टी नेपालका तर्फबाट वर्तमान सरकारमा उपप्रधानमन्त्रीसहित तीन मन्त्री छन्। पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् भने सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री र मोहम्मद इस्तियाक राईले सहरी विकास मन्त्रीको हैसियतमा वर्तमान सरकारमा पार्टीको प्रतिनिधित्व गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्