बीरगञ्ज भन्सारमा साढे तीनसय बेवारिसे गाडी



बीरगन्ज : नाकाबन्दीपछि सुनसानजस्तै बन्दै आएको बीरगन्ज भन्सार कार्यालयमा अहिले साढे तीनसय भन्दा बढी गाडीहरु बेवारिसे अवस्थामा छन् । यसरी बेवारिसे गाडीको संख्या बढ्दै जादा भन्सारका कर्मचारीहका लागि टाउको दुखाई बनेको छ ।
सबैभन्दा चल्तीको नाका भएको बीरगन्ज नाकाबन्दीपछि भने चहलपहलमा निकै कमी आएको छ । बीरगन्ज नाकाको स्थान अहिले भैरहवा नाकाले लिएको छ । बीरगन्ज नाकाबाट आयात हुने धेरैजसो गाडी र सामान भैरहवा नाकाबाट आईरहेपछि बीरगन्ज नाकामा चहलपहल कम हुन पुगेको हो ।
आयातकर्ताहरुले दाबी गर्न नआएपछि बीरगञ्ज भन्सारमा साढे तीनसय भन्दा बढी बेवारिसे गाडी थन्किएका छन् । गाडी आयातकर्ताले ती गाडीहरूमा दाबी गर्न नआएपछि थन्काएर राख्न बाध्य भएको अधिकारीहरूको भनाइ छ ।

अहिले गाडीहरू भन्सार परिसरमा दुई महिनादेखि थन्किरहेका र आयातकर्ताले दाबी गरी लान नखोजेपछि सरकारी अधिकारीहरूले यी गाडीहरूको डाक लिलाम गर्ने योजना बनाइरहेका छन् ।

आयातकर्ताहरूले यी गाडीलाई भन्सार परिसरबाट छुटाएर नलगेको र भन्सारमा राख्न स्थान अभावका कारण डाक लिलाम गर्न लागिएको भन्सारका अधिकारीहरूको भनाइ छ । बीरगन्ज भंसार कार्यालयका प्रमुख ढुण्डी पौडेलले आफू भर्खर आएको हुँदा यस विषयमा अध्ययन भईरहेको बताउदै आवश्यक निर्णयमा पुग्ने जानकारी दिए ।
भंसार विभागका महानिर्देशक सुमन दाहाल यसरी जम्मा भएका बेवारिसे गाडीहरुको नियमसंगत हिसाबले लिलाम गर्ने व्यवस्था रहेको बताउछन् ।
यसरी थन्किएका गाडीहरूमा ३५वटा विद्युतीय वाहन समेत रहेका छन् । केही एकीकृत जाँच पोस्टमा र केही सुख्खा बन्दरगाहमा यी गाडी थन्किएका छन् ।

भारतको कोलकाता बन्दरगाहबाट बीरगञ्ज भन्सार नजिकको विन्दु परेकाले यो भन्सार अन्य नाका भन्दा बढी सक्रिय रहेको मानिएको छ ।

कतिपय डिलरले भन्सार परिसरमा पार्क गरी गाडी छोड्ने योजना बनाइरहेकाले यहाँ थन्किन पुग्छ । यहाँ पार्किङ शुल्क अन्य ठाउँको तुलनामा सस्तो हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्