प्रदेश २ सरकारले भव्य रुपमा मनायो संविधान दिवस



जनकपुरधाम : प्रदेश २ सरकारले आज (शुक्रबार) अर्थात असोज तीन गते भव्य रुपमा संविधान दिवस मनाएको छ ।

आज बिहान मुख्यमन्त्री लालबाबु राउतसहित सरकारी कर्मचारी, प्रहरी र नेपाली सेनाका उच्च अधिकारी सम्मिलित समूहले जानकी मन्दिरदेखि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसम्म प्रभातफेरी गरेका थिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलका अनुसार प्रभातफेरीका क्रममा नेपाली सेनाका जवानले बाजा बजाएर जनकपुर सहर परिक्रमा गरेका थिए ।

प्रभातफेरीपछि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा नेपाली सेना र प्रहरीले राष्ट्रिय झण्डालाई सलामी दिएर संविधान दिवस मनाएको थियो ।

तर यस कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु भने सहभागि भएका थिएनन् ।

संविधान दिवस मनाउने निर्णय गरेपनि संविधान दिवसको अवसरमा आयोजित यसअघिका कार्यक्रमहरुमा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु अनुपस्थित भएपनि धनुषाका प्रमुख जिल्ला अधिकारीको सक्रियतामा विगत तीन दिनदेखि जनकपुरमा विभिन्न कार्यक्रमको आयोजना हुँदै आएको थियो ।

भदौ १७ गते मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा प्रदेश स्तरीय संविधान दिवस मनाउन मूल समारोह समिति समेत गठन गरेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. २ ले भदौ २७ गते सूचना जारी गर्दै तीन दिवसीय रुपमा संविधान दिवस मनाउन प्रदेशवासीलाई आह्वान समेत गरेको थियो ।

प्रदेश सरकारको निर्णय अनुसार असोज २ गते बिहीबार जनकपुरको जिरोमाइलदेखि बसपार्कसम्म सरसफाई तथा डेंगु नियन्त्रण सम्बन्धी जनचेतना मूलक कार्यक्रम, असोज ३ गते संविधान दिवसको अवसरमा जानकी मन्दिरको प्रांगनबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी र अन्तिम दिन असोज ४ गते शनिबार मधेस भवन परिसरमा सरसफाई तथा बृक्षारोपन र मधेस भवन परिसरबाटै जानकी मन्दिरसम्म लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना मूलक र्याली गर्ने कार्यक्रम तय गरिएको थियो ।

प्रदेश सरकारको निर्णय र पूर्व सूचना अनुसार पहिलो दिन असोज २ गते बिहीबार जनकपुरको जिरोमाइलदेखि बसपार्कसम्म सरसफाई तथा डेंगु नियन्त्रण सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको थियो । धनुषाका प्रमुख जिल्ला अधिकारी कणेलको नेतृत्वमा भएको कार्यक्रममा मन्त्रालयका कर्मचारीहरु, नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी र सरकारी अधिकारीहरुको हसभागिता थियो । तर पदेश २ सरकारका मुख्यमन्त्री लगायत कुनै पनि मन्त्री उक्त कार्यक्रममा सहभागि भएका थिएनन् ।

संविधान दिवसको दिन कालोदिवस मनाउने प्रदेश २ सरकारको सत्ता साझेदार राजपा नेपालका मन्त्रीहरुले अभिब्यक्ति दिँदै आएका थिए । जसको कारण सत्तारुढ समाजवादी पार्टीबाट मुख्यमन्त्रीदेखि मन्त्रीहरु र सत्ता साझेदार राजपा नेपालका मन्त्रीहरु बीच संविधान दिवस मनाउने कि नमनाउने भनेर जुहारी चल्दै आएको थियो ।

तर संविधान दिवसको मुखमा आएर समाजवादी पार्टीले संविधान दिवसको दिन कालो दिवस र दीपावली केही नगर्ने एवं तटस्थ बस्ने निर्णय गरेपछि प्रदेश २ सरकार संविधान दिवस मनाउने आफ्नै निर्णयबाट पछि हट्ने संकेत गरेको थियो ।

यता राजपा नेपालले संविधान दिवसको दिनलाई कालो दिवसको रुपमा जनकपुरको रामानन्द चोकमा टायर बालेर विरोध जनाएका छन् । संविधान संशोधन नभएसम्म संविधान दिवसलाई कालो दिवसको रुपमा मनाइरहने राजपा नेपालबाट राज्यमन्त्री बन्नुएका प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस्