‘बेटी पढाउ बेटी बचाउ’ अभियानले छोएन डोम छात्रालाई



जनकपुरधाम : प्रदेश २ सरकारको ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेशका आठै जिल्लाका छात्राहरुलाई वितरण गरिरहेको साइकल अल्पसंख्यक डोम समुदायका छात्राहरुले नपाएको गुनासो डोम समुदायका अगुवाहरुले गरेका छन् । ।

प्रदेश सरकारले ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत छात्राहरुलाई प्रोत्साहनसहित वितरण गर्दै आएको साइकल डोम समुदायका छात्राहरुले नपाएको डोम समुदायका अगुवाहरुले बताएका हुन् ।

प्रदेश २ को राजधानी जनपुरमै अल्पसंख्यक डोम समुदायका छात्रछात्रामाथि शिक्षकहरुले नै विभेद गर्ने गरेको पाइएको छ । डोम समुदायका अगुवाहरुले जनकपुरस्थित राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षकहरुले डोम समुदायका विद्यार्थीहरुलाई विभेदजन्य व्यवहार गर्ने गरेको आरोप लगाएका हुन् ।

शिक्षकहरुले विभेद गरेकै कारण डोम समुदायका अधिकांश बालबालिका विद्यालय जान नमानेको अगुवाहरु बताउँछन् ।

कक्षामा शिक्षक र विद्यार्थीहरु डोम समुदायका विद्यार्थीहरुलाई आफूहरुबाट टाढै बस्न भन्दै हप्काउने गरेको अभिभावकहरु बताउँछन् । ‘जिउमा छोयो भने शिक्षकले गाली गर्छन् । ऐ डोम्बा तिमी कुनामा बस भन्छन् । त्यसैले छोराछोरी स्कुलमा विद्यार्थी र शिक्षकहरुले अपमान गर्छन भनेर विद्यालय जान मानन्दैनन्’ स्थानीय लिला मलिकले भनिन् । पछिल्लो समय डोम समुदायले मल्लिक थर लेख्न थालेका छन् ।

जनकपुरको डोम बस्तिको छेउमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा डोम समुदायका विद्यार्थीमाथि चरम विभेद गरेपछि बस्तिबाट करिब दुई किलोमिटर दुरीमा रहेको बालमन्दिरमा अभिवावकहरुले आफ्नो बालबालिकालाई भर्ना गर्न खोजे पनि बालमन्दिर टाढा भएकाले विद्यार्थी जान नमानेको अर्की अभिभावक विना मल्लिक बताउछिन् । विना भन्छिन् ‘अचाक्लि गर्मी छ, दिनहुँ टेम्पो भाडा तिर्न सकिँदैन । चर्को घाममा पैदल हिँडेर छोराछोरी बालमन्दिरमा पढ्न जान माँदैनन् ।’

‘जनकपुरका सडकहरुमा जथाभाबी गाडी घोडा चल्ने भएकाले पनि ज्यानै जोखिममा राखेर बच्चालाई विद्यालय कसरी पठाउने,’ विनाले भनिन् ‘घाममा आउजाउ गरेपछि बच्चा बिरामी पर्ने गरेका छन् । हातमुख जोड्नै समस्या छ विद्यार्थी विरामी भएपछि उपचारका लागि कहाँबाट पैसा ल्याउने?

समुदायिक विद्यालयले निःशुल्क पढाउने गरेपनि विद्यार्थी भर्ना गर्न पैसा तिर्नु पर्ने, पोशाक किन्न र परीक्षा फि पनि तिर्नु पर्ने हुन्छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले निर्मला मल्लिकले आफ्नो छोराछोरीलाई विद्यालय पठाउन नसकेको बताइन् ।

‘६ कक्षापास गरेपछि माथ्लो कक्षा पढ्नका लागि डेढ कोषको दुरीमा रहेको विद्यालयमा जानुपर्ने हुन्छ । विद्यालय टाढा भएकाले डोम समुदायका धेरैजसो बालबालिका पढाई छाड्ने गरेको स्थानीयले बताए ।

सिरहा र सप्तरी र धनुषामा डोम समुदायको जनसंख्या ५ हजार रहेको तथ्यांक छ । उनिहरु तराई मधेशको बास्तविक दलित मानिन्छन् भने अधिकांशको बस्ने घडेरी समेत छैन । कार्यालयहरुमा मेस्तर र बाँसको सामाग्री बनाएर बेचेको आम्दानीले डोम समुदायहरुले आफ्नो जीविका चलाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्