पूर्वसांसद वैरागीको पार्थिव शरिरमा महासचिव पौडेलले ओढाए झण्डा



काठमाडौं : पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज ( शुक्रबार) निधन भएको छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)को प्रतिनिधित्व गर्दै उनी सांसद निर्वाचित भएका थिए ।

राजनीतिका अलावा साना जलविद्युत् विकासको अभियानकर्मीका रुपमा स्थापित दाहाल ‘कोल्ड स्ट्रोल’ रोगबाट पीडित भएको पारिवारिक सदस्य योगेन्द्रविजय दाहालले जानकारी दिए ।

पूर्व सांसद दाहालको उपचारका क्रममा मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो । विसं २०१४ कात्तिक २८ गते मादी गाउँपालिका–५ सङ्खुवासभामा माता फाल्गुकुमारी र पिता यज्ञरत्न दाहालको कोखबाट उनको जन्म भएको थियो । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

दिवंगत दाहाललाई केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेलले पार्टीको झण्डा ओढाउदै पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली दिएका थिए । पार्टी कार्यालयमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा महासचिव पौडेललगायत केन्द्रीय सदस्यहरु,सांसदहरु, परिवारजन र अन्य पार्टी नेता तथा कार्यकर्ताहरुको उपस्थिति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्