एनआरएनको अध्यक्षमा आचार्य र पन्तको भिडन्त



काठमाडौं : गैरआवासीय नेपाली संघमा उम्मेदवारको दौड सुरु भएको छ । संघको अध्यक्षका प्रत्यासीहरु कुल आचार्य र कुमार पन्तले चुनावी सरगर्मीको प्रतिस्पर्धात्मक नेतृत्व गर्ने छन् । यस पटकको चुनावी चर्चा हेर्दा रोमञ्चकारी प्रतिस्पर्धा हुने देखिएको छ ।

संघको नवौं विश्व सम्मेलन तथा अधिवेशन नेपालमा हुँदै छ । सम्मेलन तथा अधिवेशन यही असोज २८ देखि ३० सम्म संघीय राजधानी काठमाडौंमा हुँदैछ ।

अधिवेशनको मिति घोषणासँगै यसको तयारीका लागि विश्वभरबाट समन्वय परिषद्मा प्रतिनिधित्व गर्न निर्वाचन भई मतदानका लागि प्रत्येक देशबाट आउने प्रतिनिधिको संख्या दर्ता हुने क्रम जारी रहेको संघको सचिवालयले जनाएको छ ।

हाल विश्वका ८० देशहरुमा बसोबास गर्ने ८० लाख नेपालीको अगुवाइ गर्ने नयाँ नेतृत्व चयनका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेवारी दिने पक्का भएको छ । बेलायतमा बसोबास गर्दै आएका आचार्यले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् भने कुमार पन्तले आन्तरिक रुपमा प्रचारप्रसार तीव्र पारे पनि औपचारिक रुपमा मुख खोल्न बाँकी छ ।

गैरआवासीय नेपाली संघको अधिवेशनमा विभिन्न देशबाट १८ सयदेखि दुईहजार प्रतिनिधि सहभागी हुनेछन् । एकजना अध्यक्ष, पाँचजना उपाध्यक्ष, एक महासचिव, दुईजना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदहरुमा निर्वाचन हुनेछ ।

संघको अध्यक्ष पदका उम्मेदवार कुल आचार्य पर्वतका हुन् भने कुमार पन्त गोर्खाका हुन् । रोजगारीका क्रममा करिब दुई दशक अघि विदेशिएका दुवैजना हस्पिटालिटी व्यवसायमा छन् । आचार्यको बेलायत तथा पोर्चुगलमा चेन रेष्टुरा व्यवसाय छ भने पन्तको जर्मनीको फ्रैंकफर्टमा होटल तथा रेष्टुरा व्यवसाय सञ्चालनमा छन् । पन्तको संघका पूर्व उपाध्यक्ष जीवा लामिछाने, शेष घले लगायतसँग सामुहिक साझेदारी व्यवसायका रुपमा युरोपभर १ सय २८ होटलहरु सञ्चालनमा छन् ।

संघको हालसम्मको १६ वर्ष जीवनकालमा यस संस्थाको नेतृत्व उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले कुशलताका साथ गर्दै आएका छन् । संस्थाको व्यापक कार्यक्षेत्र, लोकप्रियता र आर्थिक पहुँचका कारण यसको नेतृत्व प्राप्ति निकै लोभलाग्दो बन्दै गएको छ ।

गैरआवासीय नेपाली संघको अधिवेशनमा विभिन्न देशबाट १८ सयदेखि दुई हजार प्रतिनिधिसम्म सहभागी हुने आँकलन गरिएको छ । अध्यक्षका संभावित प्रत्यासी कुमार पन्तको जोड सामूहिक लगानीका परियोजनालाई अघि बढाउने रहेको छ भने कुल आचार्यको जोड गैरआवासीय नेपालीको सीप, ज्ञान, पुँजी र प्रविधिलाई नेपाल भित्र्याउने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्