आईजीपीलाई सिध्याउँछु भन्ने को हो ?



काठमाडौं : नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई सिध्याउँछु भनी धम्की दिने सुजन गुरुङ उर्फ नजोकलाई यही भदौ २७ गते प्रहरीले खुट्टामा गोली हानी गोलढुंगाबाट पक्राउ गरेको छ । नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि गोली हानी समातिएको महानगरीय अपराध महाशाखा प्रमुख सहकुलबहादुर थापाले बताएका छन् ।

थापाका अनुसार गुरुङको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली पनि बरामद गरिएकोे छ । हाल प्रहरीको निगरानीमा उपचार भैरहेका उनीमाथि धादिङ सेमजोङ—७ का साजनले २०७० माघ २४ गते नुवाकोटको साबिक सामरी गाविस ९ का पहलमान तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लागेको थियो ।

तामाङको हत्या आरोपमा २०७२ सालमा न्युरोडको खिचापोखरीबाट हालका आईजी सर्वेन्द्र खनालले उनलाई पक्राउ गरेका थिए । खनाल त्यसबेला अपराध महाशाखाका एसएसपी थिए । खनालको टोलीले पक्राउ गरेको भन्दै साजनले आईजी खनाललाई समेत मार्ने धम्की दिएका थिए ।

कर्तव्य ज्यान मुद्दामा जिल्लाबाट कैद सजाय पाएका साजनले पुनरावेदन अदालतबाट सफाइ पाएर छुटेपछि उनीविरुद्धको मुद्दा सर्वोच्चसम्म पुगेको थियो । हाल सर्वोच्चमा विचाराधीन रहेको उक्त मुद्दाको कभरमा गुरुङ आफ्नो धन्दालाई निरन्तरता दिंदै आएका थिए ।

गुरुङ निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या अभियोगमा हाल केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गरिरहेका समिरमान बस्नेतको सहयोगी भएको प्रहरीले बताएको छ । काठमाडौंको मुटु मानिने तिनकुनेमा २०७४ साल असोज २३ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गराएका थिए ।

उनले जेलभित्रैबाट विभिन्न व्यापारीहरुलाई धम्क्याउने काम गरिरहेको उजुरी प्रहरीकहाँ पुगेको छ । प्रहरीकहाँ रिपोर्ट मात्र पुगेन उनकै निर्देशनमा ठूला व्यापारीको बारेमा सूचना दिने गरेको अभियोगमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साइला भाई नरेशकुमार थापा पक्राउ परेपछि यसको थप पुष्टि भएको हो ।

त्यसबेला बस्नेतले तीन करोड रकम नदिँदा गौचनलाई सिध्याएका थिए । अहिले बस्नेतकै निर्देशनमा फेरि पनि उद्योगीहरुलाई आतंकित पार्ने काम गरिएको छ । ठेकेदारको सूचना बस्नेतकहाँ पुर्याउने थापालाई थुनामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ठेकेदारहरुलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहका नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान अनुसार थापाको बस्नेतसँग नियमित सम्पर्क देखिएपछि केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले थापालाई पक्राउ गरेको थियो ।

सीआईबीले ठेकेदार जयराम लामिछाने, दीपक गौतम, लाक्पा नुरु शेर्पासहित २५ जनाको सामूहिक जाहेरीको आधारमा थापासहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, वीरबल भट्टराई रमनबहादुर पुन मगरलाई पक्राउ गरेका छन् भने जावेद भनिने जावेद अनवरदिन फरार रहेका छन् ।

सीआईबीमा जाहेरी दिनेमध्येका दीपक गौतम प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटेका पार्टनर समेत हुन् । गजुरमुखी नामको कम्पनीमा घंैटेसहित सन्तोष गौतम, दीपक गौतम र जगदिशनरसिंह केसीको पनि लगानी रहेकोमा अहिले सन्तोष गौतम नै उक्त कम्पनीका हर्ताकर्ता बनेर काम गर्दै आएका छन् ।

गौतमलाई अपराध महाशाखाका तत्कालीन एसएसपी दिनेश अमात्य र काठमाडौं परिसरका तत्कालीन प्रमुख छविलाल जोशी बन्जाडेले सघाउने गरेका थिए । गौतमको त्यतिबेला अमात्य र जोशीसँग राम्रै हिमचिम रहेको थियो । स्रोतका अनुसार अमात्यलाई प्रयोग गरी गौतमले घैंटेको फसेको केही पैसा समेत उठाउन सफल भएका थिए । प्रहरी स्रोत भन्छ– ‘गौतमले निर्माणका टेन्डरको रकम गौचनसँग लिएर गुण्डा र प्रहरीलाई छुट्याउन लगाई भागबण्डा गर्दै आएका थिए । गौतमको यही प्रकरणसँग समेत जोडिएका निलम्बित डीएसपी कुमोद ढुङगेलसँग पनि उठबस रहेको छ ।

गौचन हत्या प्रकरणमा गौतमको पनि संलग्नता छ कि भन्ने आशंका पनि रहेको छ । तर प्रहरी अधिकारीकै संरक्षणका कारण उनलाई प्रहरीले अनुसन्धानको दायरामा ल्यान सकेको छैन ।
गौतमको गौचन हत्या काण्डमा संलग्नता छ वा छैन भन्नेबारेमा अनुसन्धान गर्ने हो भने उनको भाइबर, म्यासेन्जेर, इमो र ह्वाटसएपलाई केलाउनुपर्ने एक ठेकेदार बताउँंछन् । स्रोत भन्छ– ‘उनको मोबाइलमा नियमित आइरहने विदेशी मोबाइल नम्बरको कल डिटेल्स निकालेर अनुसन्धान गर्ने हो भने पनि उनी गौचन हत्या प्रकरणमा तानिन्छन् ।’

घैंटे इन्काउन्टरपश्चात् गुमनाम रहेका गौतम प्रहरीसँग हिमचिम बढाउन पुगेका थिए । घैंटेको करोडौं रकम उनीसँग भएको भन्दै अपराध महाशाखाका तत्कालीन प्रमुख सर्वेन्द्र खनालले उनीमाथि निगरानी राखेका थिए । घैंटेको श्रीमती पिङ्की शेर्पाले समेत गौतमसँग करोडौं रुपैयाँ भएको दाबी गर्दै आएकी छन् । गौतमले भने चिनजान भएको तर कुनै व्यवसायिक साझेदारी नभएको दाबी गर्दै आएका छन् ।

यता जेलबाटै आफ्नो पुरानो धन्दालाई निरन्तरता दिएका बस्नेत काठमाडौं बाफलका स्थायी वासिन्दा हुन भने उनी पहिला शुरुमा टोले गुण्डा रहेका थिए । प्रहरी इन्काउटरमा मारिएका दिनेश अधिकारी ‘चरी’ तथा कुमार घैंटे कुनै समयमा एउटै समूहमा थिए । चरी र घैटेबीच आपसी विवाद भएपछि चरीले आफ्नो छुट्टै समूह बनाए भने घैंटेले बस्नेतलाई मित लाएर आफ्नो साथमा लिई अर्को समूह बनाए ।

चरीलाई काउन्टर दिनकै लागि घैंटेले बस्नेतसँग मितेरी साइनो गाँसे । त्यसपछि बस्नेत घैंटे समूहको हर्ताकर्ता भए । ३ भदौ २०७२ मा सामाखुसीको कपुरधारामा कुमार घैंटेको इन्काउन्टर भयो । त्यसपछि घैंटेको समूह तहस–नहस भएपछि घैंटेको सम्पत्तिमाथि बस्नेतले दाबी गर्दे आए । त्यतिबेला घैंटेले कमाएको अकूत सम्पत्तिसँग जोडिएर बस्नेत पनि चर्चामा थिए ।

निर्माण व्यवसायसँग समेत जोडिएका घैंटेको सबै विषयमा बस्नेत जानकार भएपछि इन्काउन्टरमा पर्ने डरले बस्नेत भूमिगत भए । बस्नेतको चरीका दुश्मन राधे भण्डारीसँग दोस्ती थियो । बस्नेतसँग सानुभाइ भनिने युवराज गुरुङ र चाबहिलका हबल्दार भनिने प्रतिक श्रेष्ठले मिलेर काम गर्दै आएका थिए ।

बस्नेतले बाफलदेखि धादिङसम्म ठेक्कापट्टामा गुण्डागर्दी गर्दै आएका छन् । बस्नेत समूहकै नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योग ढकाल यतिखेर आजीवन कारावासको सजाय पाएर जेल जीवन भुक्तान गरिरहेका छन् । उनलाई बाँके जिल्ला अदालतका जिल्ला न्यायधीश बिष्णु सुवेदीको इजलाशले नेपालगञ्जका चेतन मानन्धरलाई दिउँसै खुँडा प्रहार गरी हत्यामा संलग्न रहेको भन्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

बुटवका प्रचण्ड थेवे र गौचन हत्यामा समेत संलग्न मनोज पुनलाई पनि प्रहरीले इन्काउन्टरमा सिध्याए । गुण्डालाई इन्काउन्टर गर्न थालेपछि बस्नेत अर्धभूमिगत अवस्थामा भारत भासिएका थिए । पछि बस्नेतलाई विभिन्न तरिकाले चितवनसम्म बोलाएर दुईवर्ष अगाडी प्रहरीले पक्राउ गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्