संविधान दिवसको अवसरमा टूँडिखेलमा देखिएको यो दृश्य (फोटो फिचर)



काठमाडौं : संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको उपलक्ष्यमा आज मुलुकभर आपसमा खुशियाली साटेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।

हजारौँको बलिदानपछि सशस्त्र सङ्घर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो । विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा ऐतिहासक र एक युगको अन्त्य र अर्काे युगको प्रारम्भ भएको दिन पनि हो ।

संविधान दिवसलाई यसपटक पृथक बनाउने उद्देश्यअनुरुप संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित मुलुकभरका कार्यक्रम झण्डामय बन्न पुगेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमात्रै होइन, हरेक सरकारी कार्यालय, संस्थान, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारण हातहातमा झण्डा बोकी झण्डा अङ्कित टिसर्ट लगाएर दिवसमा सरिक भए । यसपटक सरकारले कार्यविधि परिवर्तन गरेर घरघरमा समेत झण्डा राख्न पाउने व्यवस्था गरेपछि यसको रौनक थप बढेको छ ।

टुँडिखेलको चौर सर्वसाधारणदेखि सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले भरिभराउ थियो । सबैले हातहातमा राष्ट्रिय झण्डा फहराएका थिए । अधिकांश सहभागीले झण्डा अङ्कित टिसर्ट लगाएका थिए । संविधान जारी भएको खुशी त छँदै थियो, त्यसमाथि कार्यक्रम झण्डामय भएकामा रौनक थप बढेको थियो ।

सरकाले यसपटक ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने नारा तय गरेको थियो । उक्त नारालाई चरितार्थ गर्दै आज घरघरबाट झण्डा बोकेर सरकारी कर्मचारी तथा सङ्घसंस्थाका प्रतिनिधि दिवसको खुशियालीमा रमाए । सर्वसाधारणको स्वतःफूर्त सहभागिता थियो ।

विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित मौलिक वेषभूषामा भएको सहभागिताले टुँडिखेलको शोभा बढेको थियो । सांस्कृतिक संस्थानले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सांस्कृतिक झाँकी प्रदर्शन गरेको थियो ।

टुँडिखेलमा कतै नौमती बाजा, कतै लाखे नाच, कतै सारङ्गीको धुन त कतै नेवारी समुदायका विभिन्न झाँकी र नृत्य प्रस्तुत भएका थिए । जुनसुकै कार्यक्रममा पनि सम्मानका साथ झण्डाको प्रयोगले संविधान दिवस थप उल्लासमय भएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि हुँदा तलबाट झण्डा फहराएर स्वागत गरिएको थियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित समारोहमा भने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल स्काउटबाट कवाज प्रदर्शन भएको थियो । विभिन्न क्षेत्रका जातजातिको वेषभूषासहितको झाँकी पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्