भक्तपुरमा पाथीभरा वैष्णोदेवी मन्दिर निर्माण हुने



काठमाडाैं : भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुको चार रोपनी क्षेत्रफलमा माता पाथीभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ । आज भक्तपुरमा आयोजना भएको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै आगामी असोज १२ गतेदेखि २१ गतेसम्म गुण्डुको सुब्बा पाखामा आयोजना गरिने शतचण्डी ज्ञान महायज्ञ एवं नवरात्रमा वैष्णोदेवी महोत्सवबाट सङ्कलित रकमबाट मन्दिरको निर्माण गरिने भएको बताइएको हो ।

बहुसांस्कृतिक बहुभाषिक, आधुनिक, वैज्ञानिक गुरुकूल निर्माणको सहयोगार्थ श्रीमद्देवी भागवत् नवाह शतचण्डी ज्ञान महायज्ञ एवं माता पाथीभरा वैष्णोदेवी महोत्सव नेपालका प्रख्यात १८ पुराण प्रवक्ता लक्षण शास्त्रीको प्रमुख वाचकत्वमा महायज्ञ सञ्चालन हुने भएको छ । नेपालका राष्ट्रिय कलाकारको सहभागितामा भजनकीर्तन देवलीला झाँकी तथा गुरूवर्गहरुबाट शतचण्डी पाठपारायण र दैनिकी हवन हुने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा मूल व्यवस्थापन समितिका संयोजक अरबिन्द शास्त्रीले जानकारी दिए ।

भक्तपुरमा पाथीभरा मन्दिरको निर्माणका साथै संस्कृत भाषा सबै जातजातिका साझा भाषा भएको बताउँदै उनले सोही स्थानमा पाथीभरा मन्दिर निर्माणसँगै श्री द्वारकापुरी दिव्यधामसमेत निर्माण गरिने बताए । ताप्लेजुङको पाथीभराबाट ल्याइएको २७ फिट अग्लो माताको अस्त्रस्वरुपको त्रिशूल शक्तिको रुपमा गत असार ४ गते सोही स्थानमा पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेत लगागतले शिलान्यास गरेका थिए ।

पत्रकार सम्मेलनमा सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले गुण्डुमा निर्माण हुने पाथीभरा मन्दिरले सूर्यविनायक नगरपालिकालाई धार्मिक पर्यटकको विकास गर्न सहयोग पुग्ने बताए। त्यस्तै पत्रकार सम्मेलनमा महायज्ञ मूल समारोह समितिका सचिव गणेश अधिकारी, महायज्ञ अनुगमन समितिका संयोजक नारायणप्रसाद न्यौपाने, महायज्ञ समितिका सहसंयोजक अर्जुन बस्नेत, महायज्ञ पूजा व्यवस्थापन समितिका संयोजक अम्बिका बस्नेतलगायतले महायज्ञको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्