सि नेपाल आउने पक्का, शंकास्पद ठाउँ र व्यक्तिमाथि बढाईयो निगरानी



काठमाडौं : चिनियाँ राष्ट्रपति सि जिनफिङको भारत भ्रमणको मिति तय नहुँदा नेपाल भ्रमणको मिति पनि तय हुन ढिलाइ भएको छ ।

सी को नेपाल भ्रमण भारत भ्रमण अगावै गराउन नेपालले चिनियाँ सरकारसँग आग्रह गर्दै आएको छ । भारत भ्रमण लगत्तै नेपाल भ्रमण गराउने तयारी गरेको चीन सरकारले यस विषयमा सकारात्म सन्देश पठाएको बुझिएको छ ।

नेपालले आउँदो २३ गतेदेखि ३० गतेसम्मको अवधिमा जुन सुकै बेला पनि भ्रमण हुन सक्ने भन्दै यस सम्बन्धि आवश्यक तयारी गरिरहेको छ । अहिलेसम्म भारत भ्रमणको तिथि तय भइसकेको छैन । भारत भ्रमणको मिति निश्चित भएपछि नेपाल भ्रमणको मिति तय हुने बताइएको छ ।

राष्ट्रपति सि को भारत भ्रमण अघि वा पछि जुनसुकै बेला भएपनि नेपालमा एक रात विताउने गरिको तयारी भइरहेको छ । भारत भ्रमण अनिश्चित भएतापनि राष्ट्रपनि सि ले नेपाल भ्रमण गर्ने पक्का भएको परराष्ट्र स्रोतले बताएको छ ।

परराष्ट्र स्रोतका अनुसार दसैं लगत्तै १४ अक्टोबर अथार्त २७ असोजमा आउन सक्ने सम्भावित मितिमलाई मध्यनजर गरेर आवश्यक तयारी भइरहेको छ । राष्ट्रपति सि आगामी २७ गते नेपाल आएमा २८ गते चीन फर्किने गरी तयारीलाई तीव्रता दिइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तमिलनाडुको मामल्लापुरममा दोस्रो वुहान सम्मेलनमा भाग लिन राष्ट्रपति सी असोज २४ गते भारत जाने कार्यक्रम रहेपनि चीनले मिति र कार्यतालिका टुंगो लगाइसकेको छैन । यसले गर्दा भारत भ्रमण हुने कि नहुने भन्ने आन्योलमा छ ।

लामो समयदेखि नेपाली पक्षले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको निम्तो दिएर प्रतीक्षा गरेपनि सुरक्षालगायतका विविध कारणले भ्रमण हुन सकिरहेको थिएन ।विशेष गरी सुरक्षामा चासो आएको चीनले यसका लागि नेपालमा जर्नेलको नेतृत्वमा एक फौज पठाएको छ । सोल्टी होटेलमा बसेको चिनीयाँ फैजले काठमाडौका सडकदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्ययन अवलोकन गरिसकेको छ । त्यस्तै फ्रि तिव्वत मुभमेन्टसँग जोडिएका ठाउँ र व्यक्तिहरुमाथि निगरानी बढाईएको छ ।

भारत भ्रमण सकिएलगत्तै नयाँ दिल्लीबाट सोझै काठमाडौं उत्रने राष्ट्रपति सीको भ्रमण कार्यक्रमलाई मध्यनजर गर्दै चिनियाँ पक्षले राष्ट्रपति सीको सम्भावित यात्रा स्थलका साथै सम्भावित आवाससम्मको सुरक्षा मूल्यांकन गरिसकेका छन् । चिनियाँ पक्ष काठमाडौंका सडकको भिडियो खिचेर त्यसको मिहीन अध्ययनमा लागिरहेका छन् । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेयता चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन् ।

राष्ट्रपति सिले सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्ने समयतालिका मिलाइएको छ । यद्यपि यसलाई अन्तिम रूप भने दिइसकिएको छैन । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार सीको भ्रमणका क्रममा विभिन्न सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको पनि बताइएको छ ।

भ्रमणका क्रममा हालसम्म सबैभन्दा महत्वका साथ हेरिएको केरुङ–काठमाडौं रेलमार्गको विषयमा सम्झौता हुने र सोको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने बारे पनि द्विपक्षीय विमर्श हुने छ । त्यस्तै केरुङ–काठमाडौं सुरूङमार्ग सहितको सडक निर्माणबारे पनि सम्झौता हुने बझिएको छ ।

सीको नेपाल भ्रमणको क्रममा हुने अन्य सम्झौतामा कोदारी राजमार्गको स्तरोन्नति, काठमाडौंको चक्रपथ विस्तार, मदन भण्डारी प्राविधिक विश्वविद्यालय निर्माणलगायतका विषय पनि रहेका छन् ।

एक हजार मेगावाटको किमाथाङ्का जलविद्युत् आयोजना र सात सय ५० मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माणका विषयमा पनि सम्झौता हुने बताइएको छ । किमाथाङका–जोगबनी राजमार्ग र कोरला भञ्ज्याङ मार्ग निर्माणबारे पनि सम्झौता पनि प्राथमितामा राखिएका छन् ।

यी द्विपक्षीय सम्झौताका बारेमा विस्तृत छलफलका लागि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ शनिबार नेपाल आउँदै छन् । उनको भ्रमणले राष्ट्रपति सीको नेपाल भ्रमणलाई सफल बनाउन आधार तयार पार्ने छ ।

राष्ट्रपति सीको भ्रमण सुरक्षालाई ख्याल गरी नेपालमा सुरक्षा सतर्कता र निगरानीलाई कडा बनाइएको सुरक्षा स्रोतले बताएको छ ।

यसैबीच राष्ट्रपति सि को भ्रमणको तयारी स्वरुप चिनियाँ विदेश मन्त्री तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको साता दिनमै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख एवं स्टेट काउन्सिलर सोङ ताओ आज (शनिबार) अपराह्न नेपाल आउँदै छन् । चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेता ताओले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल विदेश विभाग प्रमुख माधव कुमार नेपाललगायत सरकारी अधिकरीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्