निष्कृय बन्यो प्रदेश २ का सांसदको आचरण अनुगमन समिति



जनकपुर : प्रदेश २ का सांसदहरुको आचरण सुधार्नको लागि बनेको सांसदको आचरण अनुगमन समिति निष्कृयजस्तै बनेको छ ।

प्रदेशसभा सञ्चालन भएको दुई वर्ष पुगनै लाग्दा पनि समितिले प्रभावकारी ढंगले काम गर्न सकिरहेको छैन । जसका कारणले प्रदेशसभाको वैठकमा अहिले पनि कतिपय अमर्यादित र अशिष्ट ढंगले सांसदरु प्रस्तुत हुने गरेको एक प्रदेश सांसदले बताए ।

प्रदेशसभा गठन भएको डेढ वर्षपछि सांसदहरुको आचरण अनुगमन र नियमन गर्न सभामुख सरोजकुमार यादवको नेतृत्वमा अनुगमन समिति गठन गरिएको थियो ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १९५ को उपनियम २ बमोजिम गठन गरिएको आचरण अनुगमन समितिको सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा देवलाई चयन गरिएको थियो । सदस्यहरुमा नेकपाका सांसद रविन्द्र बैठा, समाजवादी पार्टीका रामअशिष यादव, राजपाका सुरिता साह, नेपाली कांग्रेसका उपेन्द्रप्रसाद कुशवाहा र नेपाल संघीय समाजवादी पार्टीका सावित्रीदेवी साह रहेका छन् । समितिको सदस्य सचिवमा प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादव छन् ।

प्रदेशसभाका सचिव यादवका अनुसार समितिको कार्यसञ्चालन विधि र प्रदेशसभा वैठकमा सांसदरुले पालना गर्नुपर्ने नियमहरुलाई कडाईका साथ लागू गर्ने गर समितिले काम गरिरहेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्