विदेशको विकल्प बाख्रा फार्म



काठमाडौं : विदेशमा कमाइ हुने आशाले विदेश जानका लागि चार वर्षसम्म भौतारिनु पर्दा नमिठो हण्डर ठक्कर पाएका गलकोट मल्मका विष्णु थापा अहिले आफ्नै घरआँगनमा अपेक्षा गरिए भन्दा धेरै पैसा कमाइरहेका छन् । अहिले उनले विश्वासका साथ मेहनत गरे स्वदेशमै सुन फल्ने बताउन थालेका छन् ।

थापालाई सुरुका दिनमा कोरियाको रोजगारीले निकै आकर्षण गर्यो । उनी पढाइ छाडेर भाषा पढ्न थाले । गर्दागर्दा कोरियाको सपना नै ट्ट्यो । तर त्यसको स्थान जापानले लिन थाल्यो । तर जापान मोहले पनि पैसा मात्र सत्यानाश पारिदियो ।

बरु उनी कोरिया र जापानको विस्मृतिमा हराउँदै दिल्लीमा बसेर मजाले भाँडा माझेँ । रहर पुग्यो, घर फर्के । तर आफ्नै टोलका युवाहरु कोही जापान त कोही कोरिया र अरु कोही अरब पुगिसकेका थिए । उनको भविष्य भने घरतिरै सोझियो ।

अब कहिल्यै पनि विदेश नजाने, जे हुन्छ घरमै खाने भनेर उनी घर फर्किएका थिए । पैसाभरि विदेशी सपनाले उडाइदिएपछि बचेको छ हजार रुपैयाँ लिएर व्यावसायिक बाख्रापालनतिर लागे उनी । अहिले स्थानीय खरी, बोयर र जमुनापारि जातका गरी ६० बाख्रा फार्ममा छन् । खर्च कटाएर वार्षिक पाँच लाखभन्दा बढी आम्दानी हुन्छ ।

कृषि तथा पशुपालनबाट आत्मनिर्भर बन्ने युवाको चाहना साकार हुँदै गएको छ । थापाका अनुसार कृषिमा मौसमअनुसारको तरकारी खेती गर्दा निकै फाइदा छ, यसमा घाटा छैन र बजारको समस्या पनि छैन । बोका बाख्राहरु फार्मबाटै भनेको मूल्यमा बिक्रि हुने गरेका छन् । मासुको आपूर्ति गाउँघरमा नै गर्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्