विप्लवको नयाँ रणनीति : सरकारसँग पर्ख र हेरको नीति



काठमाडौं : पछिल्लो समय नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कतिपय केन्द्रीय नेता, जिल्ला ईन्चार्ज र सेक्रेटरी लगायतका नेता तथा कार्यकर्ताहरु एकपछि अर्को गर्दै धमाधम प्रहरीले पक्राउ गर्न थालेपछि कतिपयले पार्टी परित्याग गरिरहेका छन् भने कतिपय पलायन हुन थालेका छन् ।

यस्तो परिस्थिति सिर्जना भएपछि विप्लवले नयाँ रणनीति बनाएको श्रोतले बताएको छ । श्रोतका अनुसार स्थायी समिति,पोलिटव्युरो र केन्द्रीय समिति भंग गरेर पाँच सदस्यीय हाईकमाण्ड गठन गरेका विप्लवले नयाँ रणनीति निर्माणका लागि हाईकमाण्डमा पटक–पटक छलफल गरेका थिए ।

नयाँ रणनीतिअनुसार आफ्ना विश्वासिला मान्छेहरु राखेर पार्टी पुर्नगठन गर्दै अघि बढ्ने नीति लिएको छ । पार्टीको रणनीति र कार्यनीति चुहिन नदिन आन्तरिक सम्बन्धलाई पनि कडाई पारिएको छ । पार्टीका केन्द्रीय नेताहरु पक्राउ परेपछि पार्टीका आन्तरिक गोप्य कुराहरु बाहिर आएको हुनसक्ने कुरालाई मध्येनजर गर्दै नयाँ राणनीति लिईएको छ ।

जसअनुसार सरकारसँगको वार्ता सम्बन्धी रणनीतिलाई पनि अख्तियार गरिएको छ । सरकारले वार्ता गर्ने हल्ला फिजाँएर आफ्नो शक्तिलाई क्षिण पार्न खोजेको हुनसक्ने आशंका गर्दै त्यस कुरामा नअल्झि पार्टीलाई व्यापक पुर्नगठन गर्ने निर्णय हाईकमाण्डले गरेको छ । एक नेताका अनुसार सरकारसँगको वातालाई अहिले पार्टीले पर्ख र हेरको रुपमा लिएको छ ।

सरकारसँगको वार्ता अगाडी बढाएर आफ्ना नेता तथा कार्यकर्ताहरुलाई छुटाउने नीति पनि अघि सार्ने विषयमा एकल जिम्मा विप्लवलाई दिईएको ती नेताले बताए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले हिंसात्मक गतिविधिमाथि प्रतिवन्ध लगाएको छ । राजनीतिक रुपमा प्रतिबन्ध लगाएको सरकारले विप्लव समूहलाई वार्ताको माध्यमबाट नै समस्याको समाधान गर्न चाहेको बताउदै आएको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लव समूहले हिंसात्मक गतिविधि त्यागे वार्ता प्रकृया अगाडी बढ्ने बताउँछन् । तर विप्लव समूहका एक केन्द्रीय नेताले भने सरकारले वार्ताको जालो फ्याँकेर आफूहरुलाई फँसाउन खोजेको बताउँछन् ।

२०६९ को असारमा पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहेको तत्कालीन एकीकृत नेकपा माओवादी विभाजन गरी मोहन वैद्य नेतृत्वको नेकपा –माओवादी गठन हुँदा विप्लव केन्द्रीय सचिव बनेका थिए । महासचिवका दाबेदार रहेका विप्लव नेकपा– माओवादी क्रान्तिकारी हुन नसकेको भन्दै २०७१ मंसिरमा वैद्यसँग छुटेर छुट्टै पार्टी गठन गर्दै भूमिगत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्