यो कस्तो प्रेम?



उफ.., मेरा हातको घडी, मोबाइलको र अफिसको रिसेप्सनको भित्तामा राखिएको घडीका सुइहरु यसरी दौडिउन कि लगाम नलगाएको घोडा जस्तै,
६ पनि किन नबजेको होला ? यो घडीका सुइहरु किन ढिला चलेको होला ? कि यि मेरा आखाँले देखेका घडीहरु कतै बिग्रेका त छैन ? त्यसै बेला एक जना दाई गुड इभिनिङ्ग बैनी भन्दै आउनुभयो । म झसङ्ग भए ।


बैनि बिरामी छौं हो ? किन टोलाएर बसेको ? के भयो ?
ए..ए..हैन दाई केहि भएको छैन मलाई ।
दाई यहाँ हाजिर गर्नुस् है..।
हस्..बैनि ट्याक्कै कति बज्यो अहिले प्रश्न सोध्नु हुँदै उहाँ सिग्नेचर गर्न थाल्नु भयोे ।


मैले भने यहाँ त ५ बजेर ५ मिनेट गयो । तपाईको मोबाइमा हेर्नुस् न एक पटक…किनकी मलाई विश्वास लगेको थिएन यि घडी प्रति ।
हैन यति नै बजेको होला बैनी । म खासै समयमा तलमाथि नगर्ने मन्छे हुँ ।
ल है त…उहाँ त टपक्क ब्याग बोकेर भित्र पो जानु भयो ।
मलाई अझ छटपटि भयो ।


यो छटपटिमा एक बोतल पानी पनि पो सके छु थाहा नै भएन ।
फोन गरु भने के भन्ने ?
उसले अफिस जोइन गरेका मात्र ७ दिन त भएको छ । उसको अफिस जोइन गरेको पहिलो दिनमै उसलाई हेर्ने हेराई नै फरक भयो किन होला ? थाहा छैन मलाई ।


त्यो पहिलो दिन ..अफिसको सिनियर सरसँग । लगभग ५ फिट जतिको हाइट…लजालु ..केटा मान्छे पनि यति लजालु हुन्छ भन्ने मैले त्यहि बेला थाहा पाए त्यो पनि यो उमेरमा । कपाल ठाडो बनाएको, एक साइट ब्याग भिरेको, टक्क चेक सट र पाइन्टमा अनि सेतो जुत्ता…वहा… हाइट त मसँग मिल्ने रहेछ । पहिलो दिनमै उसँग पो दाज्न थाले छु आफैलाई ।

सरले..सीमू उहाँ अब यहि अफिसमा काम गर्नु हुन्छ । आज पहिलो दिन हो उहाँको भन्दा पो झसङ्ग भए ।
नमस्कार सीमू म्याम…हाई हेल्लो गरेको भए पनि त हुन्थ्यो नि सिँधै नमस्कार म्याम पो । मन मनै उकुसमुकुस भइरह्यो । त्यति पनि नमस्कार त फर्काउनै पर्यो..नमस्कार ।


हजुरको नाम ?
रिमेस बिक
कति बजेदेखि कति बजोसम्म डियूटी हो हजुरको ?
उ बोल्न के लागेको थियो सरले भनि हाल्नु भयो ६ बजे देखि १२ बजेसम्म..।
हस्..यहाँ सिग्नेचर गर्नुसन् ।


हस्…सिग्नेचर गरेपछि सरले नै उसलाई लिएर जानु भयो ।
त्यसपछि उसको बारेमा सोच्न थाले ।
किन किन त्यस दिनदेखि छुट्टै आन्नद आउन थाल्यो काम गर्न ।


यसरी नै दिन बित्यै थियो । उसको बारेमा धेरै कुरा सोध्न मन थियो । नभए पनि मेरै बारेमा सोधि दिए पनि हुन्थ्यो नि भन्ने लाग्थ्यो तर उसको मुखबाट अफिस आउँदा नमस्कार र जादा बाई भन्दा अरु कुनै शब्दनै निस्कदैन थियो ।


मलाई पनि सोध्ने आटै आउदैन थियो । अरुलाई उसको बारेमा सोधु त फेरी के सोच्लान् । नेपाली समाज न पर्यो । कोही केटी मान्छेले केटाको बारेमा सोध्दा कति उत्तौली भाकी होला भन्ने सम्मको अवस्था छ । म पनि त त्यही समाजको नारी नै हूँ ।


फेसबुकमा रिक्वयस्ट पठाउदा उसले के सोच्ला । कोही केटा देख्नै नहुने, कस्ती पात्तिएकी केटी रहिछे रिक्वेस्ट पठाउन भ्याइ हालिछे, भनेर सोच्यो भने के गर्ने ? सोचे मात्र त ठिकै थियो यही कुरा अफिसमा हला चलाईदियो भने….. म त बर्बाद हुन्छु ।


उसको नजरमा त म झन राम्रो पो हुनु पर्ने त ।
८ दिनको दिन उ आधा घण्टा ढिला आइपुग्यो ।
अरु दाईहरुलाई सोध्दा एउटा रेडियोमा भोलेन्टियर काम गर्न थालेको छ रे भन्नु भयो ।
मलाई चै उ जहिले चाडैँ अफिस आइदे पनि हुन्थ्यो जस्तो लाग्थ्यो तर उ त ढिला पो आउन थाल्यो ।
बा अफिसै छोड्ने हो कि भन्ने डर मनभित्र भित्रै लाग्न थाल्यो ।
एक दिन त झन १ घण्टा ढिला पो आइपुग्यो । त्यसै बेला कुरा गर्ने मौका पाइ हाले ।
अरु दिनभन्दा हसङ्गफसँग अफिस आएका थिए । आज त जामले धेरै ढिला भयो म्याम ।
ठिकै छ रिमेस जी..हजुर कहाँ बस्नु हुन्छ र ?

म बस्ने त कलंकी हो तर म एउटा रेडियोमा भोलेन्टियर गर्न सुरु गरेको अहिले बाग्डोलबाट आएको हुँ ।
ए ए.. हजुरको घर चै काहाँ हो ?
कास्की
अनि तपाई को ? बल्ल आनन्द लाग्यो ।


मेरो भोजपुर हो । म यहाँ बालाजु बस्छु । काम गर्न थालेको ३ महिना भयो ।
म काठमाडौं आको..मात्र के भनेको थिए उ त सीमु जि अहिले ढिला भयो म तपाईसँग पछि कुरा गर्छु नि ल, भन्दै उ त पर पो पुगि सकेछ । मनमा एकखालको काउकुती लागिराको थियो । झन सबै कुरा एकै सासमा भनौला भनेको त …


कुरा गर्ने एउटा बहाना मिलेको थियो त्यो पनि उम्कियो । त्यहि पनि केही छैन । उसले पछि कुरा गर्छु त भन्यो । मेरो मनमा एक खालको ढाढस त मिल्यो नि !
यसरी नै महिना दिन बित्यो । उ मसँग पनि बिस्तारै घुलमिल हुन थालेको थियो । उसले गीत पनि राम्रो गाउदो रहेछ ।


एक दिन त उ अफिसमा आधा घण्टा अघि नै आइपुगे छ ।
मेरो मन यति खुसी भयो कि उ परै हुँदै मुस्कुराए उ पनि हाँस्दै आयो ।
के हो रिमेस जी त आज चाँडै आउनु भए छ त ? रेकर्ड नै तोड्नु भयो त । मैले पनि ठट्यौलि भाषामा भने ।


उसले भन्यो उताको अफिस बिदा थियो त्यहि भएर..।
ए..ए..
आज पनि ६ बजे मात्र भित्र जानुस् है । हुन्छ ।
कति सहजै स्वीकार गरेको होला आज त धेरै समय कुरा हुने भयो । भित्रभित्रै मेरो मन गदगद भइरहेको थियो । खासमा पहिलेको काउकुति लागेको कुरा बताउन पाउने भए भन्नेमा म ढुक्क थिए ।


अफिसमा अरु कोही पनि नआए हुन्थ्यो । आए पनि रिसेप्सनमा काम नभए पनि हुन्थ्यो भन्ने लागेको थियो ।
तर सोचेको जस्तो कहाँ हुन्थ्यो र ? तर पनि विस्तारै कुराकानी भइरहेको थियो यतिकैमा उसले सोध्यो ?
सीमु जी हजुरको फेसबुक आइडि भन्नुस् न ।


म हत्तनपत्त बोले ‘सीमु तामाङ’ नै छ ।
ल हजुरलाई मैले रिक्यस्ट पठाएको छु । नराम्रो त सोच्नु हुन्न नि ?
हैन किन नराम्रो सोच्नु नि ल म एक्सेप्ट गरिहाल्छु है ।


हतार हतार उसको रिक्यस्ट एसेप्ट गरे । मलाई त संसार जिते जस्तो महसुश भयो । अब म के गरौं के गरौं भयो त्यसपछि बाथरुम गए र एस एस भन्दै ऐना हेर्दै नाच्न पो थालेछु । यतिकैमा सफा गर्ने दिदीले भित्रको हुनुहुन्छ एक छिन ट्वाइलेट सफा गर्नुपर्ने अलि चाँडै गर्दिनु न है भन्दा पो म फेरी झस्किन पुगे ।


ए..ए दिदी म हो क्या । ल म आइहाले । अलि सम्माहालिदै निस्के ।
त्यो दिन त मलाई कहिले छुट्टि होला हामी दुबै जनाको र घर पुगेर फेसबुकमा कुरा गरौं भइसकेको थियो । किनकी त्यहाँ उ गीत गाउन मै व्यस्त हुन्थ्यो । कुरा गर्ने मौकै नै पाइँदैन थियो ।
घर पुग्ने बित्तिकै कपडा पनि चेन्ज नगरी ब्याग फ्यात्त भुइमा फाले र फेसबुक खोले तर उ त अनलाइन नै आएको रहेनछ ।


अब त घर पुग्न पर्ने हो त ? यो उपत्यकाको गाडीहरु पनि कति ढिला हाक्छन् । डाइभरदेखि पो रिस उठ्न थाल्यो मलाई त । हुन त काठमाडौंमा सवारी जामको कुरा गरी साध्य छैन, कतै जाममा पो प¥यो कि एक मनले सोचे ।


उसलाई अनलाइन कुर्दा कुर्दै भुसुक्कै पो निदाए छु ।
एकै चोटि ८ बजे पो बिउझे छु ।
फेरी फेसबुक खोले ‘सिक्स हावर एगो’ पो देखाई रहेको छ ।
म कस्ति होली..केही समय ननिदाएको भए कुरा हुने थियो नि उसँग.. आफैँदेखि आफैँलाई रिस उठ्यो ।


तर मलाई थाहा थियो रिसको औषधी, एक गिलास पानी एकै सासमा स्वात्त पारे मानौ सहरका मान्छेहरुले रक्सी घ्याम्पे हानेको जस्तै स्वात्तै ।
एकछिन आराम गरे रियाक्स भो । त्यसपछि फ्रेस भए चिया पिउँदै फेसबुक खोले तर उसलाई अनलाइन नै देखिन ।


यति कै मा साढे १२ बजे पो अनलाइन देखायो ।
त्यसपछि म्यासेज गरुकि नगरु दोधार भयो ।
यति राति ….


आज जे सुकै भनोस् भनेर मैले म्यासेन्जरमा हाई भनेर म्यासेज पठाए । तर रिप्लाई आएन ।
अफिस आएपछि सोधे..मेरो म्यासेजको रिप्लाई नै आए नी !
ए उताको अफिसमा बिजि थिए । कुरा गर्ने टाइमै हुँदैन । भरै घर पुगेपछि कुरा गरौं न है ।
खुसी हुँदै हस् भने । रेडियो जान थालेपछि उ उति बोल्ने भएको थियो ।


फेरी मलाई कहिले रातिको १२ बज्छ भन्ने लाग्न थाल्यो ।
अफिस छुट्टी भएपछि हतार हतार रुम पुगेर फेसबुक खोले ।
२० मिनेटको प्रतिक्षापछि प्रतिक्षाको घडी समाप्त भयो । उसैबाट कतिखेर रुम पुग्नु भयो सीमु जी भन्ने म्यासेज आयो ।


मैले भने ‘जी’ नभन्नु न । नामबाट बोलादा र तिमी भन्दा नि हुन्छ ।
उताबाट हस् भन्ने आयो ।
त्यसपछि विस्तारै दिनहु कुरा हुन थाल्यो ।
उसको रेडियोमा काम मिल्यो । रेडियोमा १२ देखि ७ बजेसम्मको डिउटी थियो ।
यताको अफिस ६ बजेदेखि ।

यसरी हामी धेरै नजिक हुन थाल्यौ । सधै नै बिहान ३÷४ बजेसम्म कुरा हुन थाल्यो ।
त्यसपछि हामी भिडियो कलमा कुरा गर्न थाल्यौ ।
उसले गितार बजाएर मलाई गीत सुनाउथ्यो । मलाई मन पर्ने गीत गाउन लगाउथे । मलाई नाच्न एकदमै मन पर्ने भएर पनि होला मलाई गीत सुन्न एकदमै मन पथ्र्यो ।


यसरी हामी एकदमै मिल्ने साथी भयौं तर मैले त उसलाई देखेकै पहिलो दिन त्यो भन्दा माथि सोचिसकेकी थिए।
हामी विदाको दिन घुम्न जान थाल्यौ ।
अफिसमा मलाई एकाउन्टेनमा सारियो ।


त्यसपछि त्यहि अफिसको एकाउन्टेन भए । यसरी नै केही महिना बित्यो ।
हरेक समय उसले मलाई प्रपोज गरे पनि हुने जस्तो लाग्थ्यो । कहिले काही त आफैँ गरौं जस्तो लाग्थ्यो । तर म केटि मान्छे !
केटालाई प्रपोज गर्न अलि अड लाग्यो ।


नभन्दै उसले एक दिन पशुपति मन्दिरमाथिको डाडामा लगेर प्रपोज गर्यो । मलाई त केही सोच्नु नै थिएन किनकी पहिलेदेखि माइन्डमा सेट गरिसकेको थिए । त्यही पनि सोचेर भरै फेसबुकमा भन्छु भने तर मेरो एक मनले भनिरहेको थियो ।

जसरी फिल्महरुमा डाडाँ गएर हिरो हिराइनले चिच्याउदै ‘आइ लभ यू’ भन्छन् मलाई पनि यो डाडाँमा बसेर ‘आइ लभ यू टू’ भनेर चिच्याउन मन थियो तर म पनि त अरु केटिहरु जस्तै घुर्कि लगाउनेमा न परे ।

उसले यहि भन भन्दै जिद्धि गरिरहेको थियो । तर मैले मलाई सोच्न देउ भने ।
कुरा गर्दागर्दै १ घण्टा बितेछ । थाहा नै भएन । हामी छुटियौं ।
रुम पुगेपछि सुरुमा उस्कै म्यासेज आयो । खोइ त रिप्लाई ।
मैले यताबाट रिप्लाई गरे..पख्नु न सोच्न त दिनुस् ।

प्लिज छिटो भनन् मलाई के गरु के गरु भइसक्यो । तिम्रो मुखबाट ‘एस’ भन्ने कुरा सुन्न यि मेरा मन तड्पिरहेका छन् । म भोलि भन्छु है..इमोज सहित पठाए ।
म सुते बाइ गुड नाइट..मात्र के भनेको थिए । भिडियो कल नै पो आयो ।
भिडियो कल काटे । त्यसपछि फोन आयो, तर उठाइन ।


किन किन उ यसरी तड्पिदा मेरो मन खुसीले गदगद भइरहेको थियो ।
सायद माया भनेकै त यही होला ।
पहिला उसले यी तीन शब्द नभनेर तड्पिने म भनिसके पछि उत्तर दिन कुनै हत्तार त थिएन म मा जति पहिला थियो । फोन बजेको बजेकै भएपछि मैले उठाए ।


किन कल गर्नु भा.. म त निदाउन पो लागेको ।
खुरुक्क उत्तर भन ।
सिधै त पो… यति धेरै खुसी भएकी म ।
हास पनि उठ्यो तर हास्न सकिन । मैले तर्किदै भने,‘मैले भने त मलाई सोच्ने टाइम दिनु म भोलि भन्छु ।’


प्लिज व्यबि भनन्.. तिमीले उत्तर नदिएसम्म म त सुत्तै सुत्तिन । बाहिर यतिकै बस्छु ।
उ मलाई घुक्र्याुउन थाल्यो । सायद घुक्र्याउने पालो उसको थियो क्यारे ।
मैले फेरी भने ल म भोलि पक्का भन्छु ।
अहिले सुत्नुस् ।


नाई मोटु भनन्…. प्लिज
उसका मुखबाट एक एक गरेर निस्किएका कर्ण प्रिय शब्दले मलाई नै भनुभनु बनायो ।
अन्तत… एस् भनिदिए । त्यसपछि म पनि यति खुसि भएकी त्यो क्षणलाई म कसरी वर्णन गरु ।
हामी फेरी भिडियो कलमा कुरा गर्न थाल्यो र त्यहि दिनदेखि मैले पनि ‘राजा’ भनेर बोलाउन थाले ।
त्यसपछि त म भन्दा खुसी कोही पनि छैन संसारमा भन्ने लाग्यो ।
उसले पनि दुबै तिरको अफिस बिदा लियो र म पनि काम छ भन्दै बिदा लिएर हामी चन्द्रागिरी घुम्न गयौं ।


दैनिक हाम्रो भेट्घाट हुन थाल्यो कहिले कफि सप त कहिले पार्क । अफिसमा त भेट भइहाल्थ्यो । यसरी नै यति नजिक भयौं कि । सायद एक अर्का बिना बाच्नै नसक्ने अवस्थामा पुग्यौं ।
एकछिन कुरा भएन भने धर्ति फाटे जस्तो, मुटु चुडिए जस्तो लाग्थ्यो ।


हरेक कुरा सेयर हुन्थ्यो । कुनै नयाँ काम गर्नु परे दुबै जनाको डिसिजन हुन्थ्यो । हामी एक अर्काको रुमसम्म गएर बस्न थाल्यौ । किन किन कोही केटाको रुमसम्म पहिलो चोटि जान पनि मलाई कुनै हिचकिचाहट लागेन ।


सायद मायामा विश्वास हुनुपर्छ भनेको यहि होला । पहिलो चोटि कसैलाई यति विश्वास गरेको हुँ ।
सधै उसकोमा अथवा मेरोमा आएर बस्दा घरबेटले पनि गालि गर्न थाले । त्यहाँका समाजले पनि कुरा काट्न थाले । हामी छुटिएर पनि बस्ने नसक्ने भयौं । एकै ठाउँ बस्न पनि समस्या भयो ।
बिहे गर्न पनि उसको घरको आर्थिक अवस्था पनि खासै राम्रो थिएन ।

हामीले कमाएको पनि ठिक्क खान बस्नलाई मात्र पुग्थ्यो । हाम्रो परिवारले पनि हामीलाई स्वीकार गर्दैन थिए । उसले २ तिर काम गरे पनि १२ हजार मात्र हुन्थ्यो । मेरो अलि धेरै हुन्थ्यो । तर पनि हामीलाई खान बस्न मात्र पुग्थ्यो ।

भागेर विवाह गर्न पनि पैसा थिएन हामीसँग । अलिअलि जम्मा गरेको पैसाले एउटा पुरानो बाइक किनेका थियौं ।
अब अफिसमा पनि गाइगुइ हल्ला हुन थाल्यो । सबैले विवाह गर्न सुझाव दिन्थे । म पनि विवाह गरु भन्थे तर उ मान्दैन थियो । हामी अफ्नो खुट्टामा राम्रोसँग उभिएका छैनौ । अलि राम्रो कमाई हुन थालेपछि बिहे गर्नुपर्छ भन्थ्यो ।


त्यो पनि सहि हो भन्ने लाग्थ्यो ।
अन्ततः हामी लिभिङ टुगेदरमा बस्ने भयौं ।
उसले मैले त्यहाँको रुम खालि गरेर अर्को ठाउँमा रुम लिएर बस्न थाल्यो । अब सँगै बस्ने आदत्त नै बसिसकेको थियो ।


उसको बोलि व्यवहार र केयर गराइले लाग्थ्यो मरो जस्तो जीवन साथी यो संसारमा हुनैसक्दैन । त्यो बेला लाग्थ्यो, जस्तो सुकै परिस्थिति आइपरे पनि हामी दुबै मिलेर समाधान गछौं । जीवनमा आइपर्ने अप्ठ्याराहरु हाम्रा लागि केही थिएन, हामी दुबै मिलेर समाधान गथ्र्यौ ।
लिभिङ टुगेदरमा बसेको ३ महिना पनि बितेछ ।


३ महिना बितेको पत्तै भएन । यसरी नेपाली समाजमा त्यहि पनि विवाह नगरी एउटा केटा र केटीसँंगै बस्नु कति चुनौतिपूर्ण छ, त्यो तपाईलाई पनि थाहा छ तर हामीले ति चुनौति पार गरिरहेका थियौं । यसरी विवाह नगरी बसेकोमा मलाई कुनै संकोच थिएन ।
यतिकै मा मेरो घरमा यसरी बसेको थाहा पाउनु भएछ । त्यसपछि
मेरो बुबा र दाईले फोनमा धेरै गाली पनि गर्नुभयो उसलाई । र केही दिनमा काठमाडौं नै आउनु भयो ।


त्यसपछि विवाह गर्न दवाव दिनुभयो ।
मलाई त विवाह स्वीकार्य नै थियो तर किन हो उसले मानि राखेको थिएन ।
उसले मेरो परिवारको अगाडि घरसल्ला गरि विवाह गर्ने वचन दियो ।
मलाई पनि यति धेरै गाली गर्नुभयो कि भनेर साध्य नै छैन ।
सायद यसरी हामी नबसेको भए ।

लभ मात्र गरेको भए उदेखि छुट्याएर लैजानु हुन्थ्यो होला तर यसरी बसिसकेकोले गाली गर्नु र सम्झाउनु बाहेक उहाँहरुमा अरु केहि उपाय थिएन ।
छुट्यार लगेर पनि के गर्ने कुन केटाले मलाई अपनाउथ्यो र गाउँ समाजमा बदनाम हुन्थ्यो ।
हुन पनि हो हाम्रो समायमा यसरी बसेकोलाई निको मानिदैँन ।


भनिन्छ मर्नु भन्दा बौलाउनु बेस उसरी नै उसँगै विहे गरि दिने पक्षमा मेरो परिवार भए। मेरो परिवार पनि घर फर्किनु भयो ।
उ त्यसपछि घर सल्लाह गर्छु भनेर गयो। घर पठाउदा धेरै नराम्रो लागिरहेको थियो। कता कता केहि होला होला जस्तो । अनौठो भनौं वा मनमा एकखालको पिडा भैरहेको थियो ।


तर घर नपठाउ पनि कसरी हामै्र विषयमा त कुरा गर्न जान लागेको हो । पठाउन त मेरो मनले मानिरहेको थिएन । उसको परिवारले यहि आएर कुरा गर भनेका छन् ।
अफिस विदा लिएर उ घर गयो ।
मेरा आँखाबाट भने आँशुका धारा बग्न थाले ।


बाटोमा हुदाँ एक कल पनि आएन । घर पुगेपछि म घर आइपुगे भनेर एउटा म्यासेज आयो ।
यो घटना भएदेखि उ मसँग राम्रोसँग बोलेको थिएन । मैले धेरै सम्झाए ता पनि उ उस्तै थियो । मलाई पनि लाग्यो केही दिनपछि सब ठिक हुन्छ ।


उसलाई पनि टेन्सन भयो होला त्यहि भएर राम्रोसँग कुरा नगरेको होला भन्ने लाग्यो ।
घर गएको ५ दिनसम्म न फोन आयो न म्यासेज नै । ति दिनहरु मेरा लागि जसरी कुखुराको घाटी काटेर छोड्दा छट्पटिन्छ म पनि त्यस्तै भए ।


त्यो कुखुरा त बरु केही समयपछि छट्पटिन छोड्न तर म त ..
फोन गर्दा फोन अफ छ । उसको परिवारको कसैको पनि मसँग नम्बर थिएन ।
कता जाउ के गरु…. न हाँस्न सक्छु न त रुनै ।
त्यसको ६ दिनपछि बल्ल फोन आयो ।


उसले भन्यो सुन न मलाई केही समय देउ सब ठिक हुन्छ ।
म पर्सि पर्कन्छु काठमाडौं ।
पहिला म धेरै बोल्थे । उ सुन्थ्यो अहिले त उ धेरै बोल्ने म सुन्ने भए छु ।
काम पनि छोडे किनकी धेरै समय बिदा मिल्दैन थियो । म अफिस जान सक्ने अवस्थामा थिइन ।
तर पर्सि बित्यो न कल आयो न फोन न मान्छे नै ।


उ त काठमाडौं आएर पनि साथीकोमा बसेको रहेछ ।
नम्बर पनि चेन्ज गरे छ ।
१० दिनका दिन उ बल्ल रुम आयो ।
यति धेरै खुसी भएकी उठेर बाथरुसम्म पुग्न नसक्ने म कसरी दौडेर ढोका नजिकै अंगालो हाल्न पुगे छु ।


तर उ मेरो पहिलेका राजा जस्तो थिएन । न मलाई अंगालो नै मार्यो न त मलाई चुम्वन गर्यो । यतिका दिनपछि भेट्दा पनि सिरिफ अपरिचित व्यक्ति झै उभि रह्यो ।
मैले हत्त न पत्त तानेर खाटमा बसाएर सोधे ?


घरमा के भन्नु भयो त ? हामी कहिले विहे गर्ने ? सानो बच्चाले झै सोधे ।
घरमा अहिले बिहे नगर भन्नु भयो ।
अब म साथीसँग केही महिना बस्छु । तिमी यहि बस । साथिहरुसँग म अलि अलि पैसा माग्छु र मेरो तलब पनि जम्मा गर्छु अनि हामी मन्दिरमा गएर विहे गर्नुपर्छ ।


उ यस्तो सजिलो तरिकाले बोलिरहेको थियो तर म यि कुरा सुन्न नसकेर घोप्टोपरेर रुन थालि सके छु । तर उ भने बोलि रह्यो ।
तिम्रो परिवारलाई म यहाँ बस्दा समस्या हुन्छ त्यसैले मैले यो निर्णय लिएको हो । साथीले सबै खर्च ब्यहोर्छु भनेको छ । खर्च पनि अलि कम हुन्छ यसो गर्दा, उसले भन्यो ।


मैले भने, ठिक छ विहेपछि गरौला तर पहिले जस्तै हामीसँगै बसौन । म मेरो परिवार त्याग्छु तर तिमी भन्दा टाढा बस्न सक्दिन । अर्कै कोठा लिएर बसौं । मेरो परिवारले केहि गर्दैन । कसैलाई थाहा हुर्दैन । सिम पनि चेन्ज गरौं ।


तर उ बोलेन चुप्चाप बस्यो । मैले कति २ हात जोडेर बिन्ती गरे । उसको खुट्टा समाएर बिन्ति गरे तर उ मान्नलाई तयार भएन ।
मैले प्रश्न गरे तिमीलाई मलाई विहे गर्न के ले छेक्छ ? के कारणले तिमी यसो गरिरहेको छौं ? मलाई जवाफ देउ । म तिमीलाई जान दिन्छु ।
तर उ फेरी केही बोलेन ।


एक छिन पछि म अफिस जान्छु भनेर गया े।
त्यसपछि त्यो क्षण म कसरी बयान गरु । मुटु बाहिर निस्के जस्तो, सास फेर्ने नलिमा कसैने निमोठे जस्तो भयो ।
बल बल उठेर बाथरुम गए ऐनामा आफ्नो अनुहार देख्दा आफैलाँई माया लागेर आयो । अझ भनौ अनुहार प्रति दया लागेर आयो ।


भनु कसलाई भनु । नभनु त के गरु । यति चिच्याएर रुन मन लाग्यो तर आवाज वाहिर आएन ।
आफैँले आफैँलाई सम्झाए । बा उसले भने जस्तै एक महिनामा ठिक हुने हो । यही कुराले चित्त बुझाए ।
जसरी अरुलाई दुःख परेको बेलामा सम्झाइन्छ र आफुलाई परेको बेलामा कहाँ सजिलो हुन्थयो र ? प्रायः धेरैलाई हाम्रो सम्बन्धको बारेमा थाहा थियो ।


सच्चा प्रेमले उसँग बसे पनि विवाह भएकै थिएन ।
बिना विवाहको प्रेमको कुनै पु्रफ थिएन । भनौ त्यहा प्रेमको कुनै निशाना थिएन ।
लिभिङ टुगेदरको अर्थमा नारीलाई समाजले छाडा लज्जाजनक, यौनकर्मीजस्तो ठान्छ, पुरुषका हकमा पुरुषार्थी ठाने पनि ।


मैले समाजमा कसरी मुख देखाउने ? न उ सम्पर्कमा नै आयो न त फेसबुक मै ।
सिम पनि पनि चेन्ज गरेछ ।
त्यसको एक हप्तापछि बल्ल उ रुम आयो । पहिला भन्दा अलि उज्यालो मुख लगाएर । सब ढिक भयो कि भनेर मन खुसीले गदगद भयो । पहिला जसरी नै घुक्र्याएर बसे । उसलाई देख्ने बित्तिकै किन किन ति दुःख सबै भुल्थे म ।


खासै केही प्रतिक्रिया जनाईन । बोल्नु पनि के बोलु निशब्द थिए म ।
फिस्स हाँसे…
एउटा गीतले भने जस्तै मुटुमाथि ढुगां राखि हास्नु पर्या छ…
भोक लाग्यो खाना पका भन्यो । मलाई त खान मन थिएन तर उसको लागि भने पनि पकाइ दिए।


खानासाना खाएर यही सुत्यो । लगभग बिहानको ५ बजेको थियो । मोबाइल त्यहि टेबलमा थियो । विदेशको नम्बरबाट फोन आयो । उसले फोन काट्यो । मैले भने किन फोन काटेको उठाउनुस् .. उसले होस् भन्यो ।


लगातार फोन आएको आएकै गर्यो । मैले पनि उसको फोन खोसे । फेरी उसले खोस्यो । मलाई एकदमै रिस उठि रहेको थियो । मैले भने तेरो मोबाइलमा कसले फोन गरेको हो यति हेर्ने त मेरो पनि हक लाग्छ । के भनेको थिए । उसले गालामा एक झापड हान्यो । अरु धेरै कुरा त मैले सहेकै थिए । तर यो झापड मलाई सैह्य भएन ।


उसको हातमा रहेको मोबाइल तानेर भुइमा बजारी दिए । मोबाइल भुइमा छरपष्ट भयो । मैले रुदै भने..मेरो जिवन बर्वाद पारिस् ? किन त्यसो गरिस् ? अरु केटीलाई माया गर्नु थियो भने मसँग किना मायाको नाटक गरिस् ? भन्दै कराउन थाले । त्यसपछि फेरी लातैलातले हानेर मेरो मोबाइसम्म लिएर गयो ।


दिनभरि रोए, रातभरि रोए । भोकै रोए, प्यासै रोए । पैले उसलार्ई सम्झेर रोए । पछि आफूलाई सम्झेर रोए । आफ्नो भावी जीवन सम्झेर रोए । त्यसपछि उसित बिताएको पलहरु सम्झेर रोए । रुँदारुँदै अरू रुन नसक्ने महसुस गरेपछि थोरै सम्मालिए । आफ्नो मनलाई आफैँले कन्ट्रोल गर्ने कोशिस गरे ।


त्यसको एकदिनपछि एउटा साथीलाई पैसा मागेर सिम्पल फोन किने ।
सम्पर्क गर्न खोजे तर सबै सिम अफ थियो । फेसबुकमा हेर्न खोजे तर ब्लक गरिसकेको रहेछ ।
अर्को आइडि खोलेर रिक्वेस्ट पठाए तर एक्सेप्ट भएन ।
विदेशमा बस्ने एउटा केटीसँग लभ परेको रहेछ पछि पो थाहा पाए ।


२ महिनापछि फोन त लाग्यो तर उठाएन । म्यासेजमा कती पटक सरी भने । कती माफि मागे तर उसले एक पटक पनि फर्केर हेरेन । न फोनमा एक कल नै गर्यो न म्यासेज नै । हुन त मान्छेको मन यति कठोर हुन्छ भन्ने कतै पढेको सुनेको थिए तर आज आफ्नै जीवनमा पर्दा छाँगाबाट खसेझै भको छु ।

उबेला त भन्थ्योे तिमी बिना एक पल पनि जिउन सक्दिन भनेर के अहिले पल पल मरिरहेका छौं ?
सँगै बाँच्नेसँगै मर्ने खाएका ति हजारौं कसमको याद आउदैन ?
माया गरेको थिएनौं भने किन मेरो जिवन बर्बाद पारेयौं ?
किन यतिका समय मेरो कोमल भावनामा खेलवाड गरेयौ ?


अहिले आएर सोच्न थालेकी छु गीतकार डा. राजुबाबु श्रेष्ठले त्यसै लेखेका होईन रहेछ
‘पानीको फोका जस्तै फुट्यो हाम्रो माया
नचाहदा नचाहदै छुट्यो हाम्रो माया
अलिकति तिम्रो गल्ती भो
अलिकति मेरो गल्ती भो
अलिकति नजर लाग्यो पापी दुनियाँको’


तर जे जस्तो भए पनि मेरो मन भित्र रहेको हजारौं हजार सपनामाथि कुठाराघात गरेर जाने निष्ठुरीलाई केही प्रश्न अहिले पनि सोध्नु छ ….फेरी भेट भए….

प्रतिक्रिया दिनुहोस्