आज रातीदेखि सोमबारसम्म चट्याङसहित वर्षा हुने भन्दै सचेत हुन आग्रह



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जानकारी गराउँदै देशका मध्य र पूर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । साथै पहाडी भूभागमा पहिरो जानसक्ने तथा नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज राति देशका मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै भोलि आइतबार देशभरि सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । सोमबार देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने पूर्वी पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ । यो अवस्था देखिएसँगै नेपालमा मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्रणाली विकसित भएकाले अझै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । महाशाखाका अनुसार यस वर्ष औसतभन्दा मनसुनको सयम लम्बिने सम्भवना रहेको छ । मनसुनको समय लम्बिए पनि भारी वर्षाको सम्भावना भने छैन । छोटो समयमा हल्कादेखि मध्यम हुने मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्