पाँगा पुग्दा माइती आए जस्तो लाग्छ–प्रचण्ड



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँगा पुग्दा माइती आए जस्तो लाग्ने गरेका बताए ।

कीर्तिपुर स्थित जनसेवा माध्यमिक बिद्यालयको भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कीर्तिपुर आफ्नो लागि आउँजाउँ भईरहने थलो रहेको समेत बताए ।

‘कीर्तिपुर पाँगा युवाकालदेखि नै आउजाउ गर्ने, बस्ने र सिक्ने थलो हो, कीर्तिपुर अझ पाँगा आउँदा मलाई माइती आएजस्तो लाग्छ’ उनले भने । पञ्चायतविरोधी आन्दोलनमा आफू भूमिगतरुपमा बसेर प्रशिक्षण गर्ने, अन्तक्र्रिया चलाउने थलो कीर्तिपुरको पाँगा भएको खुलासा उनले गरे ।

पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा प्रचण्डले कीतिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनाएको दावी गरेका छन् । उनले जनयुद्ध र जनआन्दोलनपछि पहिलो संविधानसभामा आफू यसै क्षेत्रबाट उम्मेदवार बनी विजयी भइ गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेको बताए ।

‘जनयुद्ध र जनआन्दोलनपछि पहिलो संविधानसभामा निर्वाचन लड्ने थलो पनि कीर्तिपुर बन्न पुग्यो’, उनले भने, ‘तपाईंहरुको भरोसा विश्वासले म यहाँबाट निर्वाचित भएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुने अवसर पनि मलाई प्राप्त भयो ।’ यिनै कारणले कीतिपुर, कीतिपुरवासी, नागरिक अगुवासँग आफ्नो भावनात्मक र सांस्कृतिक सम्बन्ध रहेको उनले बताए ।

उनले कीतिपुर सामान्ती राज्य निर्माणमा भएको ऐतिहासिक युद्धको थलो भएको र गाणतन्त्र निर्माणमा अग्रणी भूमिका खेलेको थलो भएका कारण युद्ध स्मारक पार्क निर्माणका लागि आफूले पहल गर्ने बताए ।

अध्यक्ष प्रचण्डले सामुदायिक विद्यालयको शैक्षिक स्तर र भौतिक सुविधा कम भएको चर्चा चल्दै आएको भए पनि केही वर्षदेखि त्यो सोचाइमा परिवर्तन आउन थालेको बताए । सरकारले सामुदायिक विद्यालयलाई राज्यतर्फबाट अझबढी प्रोत्साह गर्ने र समुदायले पनि मेहेनत गर्ने प्रक्रियाको सुरुवात भइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्