दू्रतमार्गमा काटिएका रुखको बदलामा बिरुवा रोपिए



बारा : नेपाली सेनाले काठमाडौँ तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माणका क्रममा काटिएका रुखका बदलामा बाराको कोल्हवी नगरपालिकामा बृहत् वृक्षरोपण गरेको छ ।

संविधान दिवसको अवसर पारेर शान्ति टोलको पाँच हेक्टर जग्गामा गरिएको उक्त कार्यक्रमा टिक, सिमल, शिरिष तथा जामुन जातका बिरुवा रोपिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाका अनुसार, बाराका प्रमुख जिल्ला अधिकारी, स्थानीय निकायका जनप्रतिनिधि, नेपाली सेनाका सकलदर्जा, सुरक्षा निकायका प्रमुख, सम्बन्धित सरोकारवाला निकायका पदाधिकारी उक्त वृक्षरोणमा सहभागी भएका थिए।

उक्त स्थानमा उम्रिएका साललगायतका बिरुवा र नयाँ रोपिएका बिरुवालाई तारबार गरी संरक्षण गर्ने कार्यसमेत भएको सेनाले जनाएको छ ।

वन तथा भू–संरक्षण विभाग र द्रुतमार्ग आयोजनाबीचको समझदारीअनुरुप द्रुतमार्ग निर्माणका क्रममा हालसम्म हटाइएका १७ हजार ९५४ र पछि कटान गर्नुपर्ने रुखको सट्टामा छ लाखको सङ्ख्यामा बिरुवा रोपिनेछ ।

वैशाखदेखि बाराको निजगढ तथा मकवानपुरको राजदमार इलाकामा आफ्नै नर्सरी स्थापना गरी जमीन सुहाउँदो र छिटो हुर्कने प्रजातिका एक लाख ५० हजार बिरुवा उत्पादन गरिसकेको छ ।

निजगढ र कोल्हवी नगरपालिकामा रहेका सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रको पहिचान गरिएको १८८ हेक्टर खाली जग्गाको सर्भेगरि वृक्षरोपण गरिने पनि नेपाली सेनाले जनाएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्