पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठान स्थापना गरिने



काठमाडौं : सरकारले पर्यटन क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि ‘पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठान’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति विकास गर्ने उद्देश्यका साथ प्रतिष्ठान स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिए।

विभिन्न सञ्चार माध्यममा पर्यटन क्षेत्र हेर्ने सञ्चारकर्मीसँग आज भएको छलफलमा मन्त्री भट्टराईले प्रतिष्ठान स्थापनाका लागि विधेयकको मस्यौदा तयार भई सरोकारवाला मन्त्रालयमा राय सुझावका लागि पठाइएको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा पठाइने बताए।

आर्थिक समृद्धिको मुख्य खम्बाको रुपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनको दायलाई अझ फराकिलो बनाउन पर्याप्त जनशक्ति आवश्यक पर्ने भएकाले त्यस्तो जनशक्ति विकासका लागि प्रतिष्ठानबाट सहयोग पुग्ने मन्त्री भट्टराईको विश्वास छ ।

अहिले पर्वतारोहणसम्बन्धी जनशक्ति उत्पादन गर्ने ‘नेपाल माउन्टेन एकेडेमी’ छ । यसले पर्वतारोहणसम्बन्धी अध्ययन तथा ट्रेकिङ गाइडलगायत तालीम दिँदै आएको छ । समग्र पर्यटन क्षेत्रलाई समेट्ने गरी अहिलेसम्म कुनै पनि प्रतिष्ठान छैन ।

त्यस्तै नागरिक उड्डयन क्षेत्रमा स्वदेशमै जनशक्ति विमान चालक (पाइलट) उत्पादन गर्न ‘फ्लाइङ स्कुल’ स्थापनाका लागि विज्ञ तथा सरोकारवालासँग राय सुझाव लिने काम भइरहेको र यसलाई पनि छिट्टै पूर्णता दिइने मन्त्री भट्टराईको भनाइ थियो ।

नेपाल छिट्टै इयूको सुरक्षा सूचीबाट हट्ने

पर्यटनमन्त्री भट्टराईले युरोपेली सङ्घ (इयू) को सुरक्षा चासोलाई मध्यनजर गर्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायको रुपमा विभाजन गर्ने प्रक्रियामा रहेको तथा तदसम्बन्धी विधेयक अन्तरमन्त्रालयमा छलफल भई मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको जानकारी दिए।

उनले इयूको चासो बमोजिमका प्रगति हालिस गरिरहेकाले नेपाल उसको सुरक्षा सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे । पर्यटनमन्त्री भट्टराईले उपयुक्त विषयमा इयूका राजदूत, सम्बन्धित मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगमार्फत पनि पहल भइरहेको र यसमा सकारात्मक वातावरण बनिरहेकाले छिट्टै नै इयूको सुरक्षा सूचीबाट हट्ने दाबी गरे।

निगम सुधार्न ‘सफ्ट थेरापी’

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार र सेवा स्तरीकरणको अभियानमा प्राथमिकताका साथ लाग्नुभएका मन्त्री भट्टराईले समस्याग्रस्त निगमको प्रभावकारी व्यवस्थापन र गुणस्तरका लागि सफ्ट थेरापी आवश्यक भएको र त्यसका लागि छिट्टै नै आवश्यक निर्णय लिइने जानकारी दिए।

निगम सुधार सुझाव कार्यदलले हालै मन्त्रालयलाई बुझाएको प्रतिवेदनका आधारमा निगमको व्यवस्थापन सुधारको काम थालनी गरिने उनले उल्लेख गरे । “निगम बजाउन हामी (सरकार) निर्णायक उपचार गर्दैछौँ, अहिले रगत परीक्षण, भिडियो एक्सरे आदि गर्दैछौँ सामान्य कुरा सुधारेर सम्भव छैन । त्यसैले निगमको व्यवस्थापन र अरु सुधारका लागि सफ्ट थेरापी गरिन्छ, निगमले गुणात्मक फड्को मार्नेछ”, उनले भने।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई लक्ष्य गरी पूर्वाधार विकास, गन्तव्य प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय बजारीकरणका कामलाई तीव्रता दिएको बताए। – रासस

प्रतिक्रिया दिनुहोस्