नेकपाले टुंगो लगायो ६ वटा महानगर कमिटीको अध्यक्ष र सचिव



काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ६ वटा महानगरमा पार्टी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । तत्कालिन एमाले र माओवादी केन्द्र बीच पार्टी एकीकरण भएको १६ महिना पछि महानगर कमिटीमा नेतृत्वको टुंगो लागेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले ६ वटा महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायाणकाजी श्रेष्ठले महानगर कमिटीको अध्यक्ष र सचिव टुंगो लागेको बताए ।

‘सचिवालय बैठकले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ’ श्रेष्ठले भने, ‘एकताको बाँकी सांगठनिक कामहरु छिटै नै बस्ने अर्को बैठकले टुंगो लगाउँछ ।’

श्रेष्ठका अनुसार काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठ, ललितपुर महानगरमा अध्यक्ष मन्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य चयन भएका छन् ।

पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगर अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा छन् ।

यसैगरी वीरगंज महानगरको अध्यक्षमा रोहवर अन्सारी र सचिवमा डा. विश्वम्बर शर्मा, विराटनगर महानगरमा अध्यक्ष सागर थापा र सचिव हेम कार्की चयन भएको श्रेष्ठले बताए ।
तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठ २०७४ मा पार्टी एकीकरण भएको थियो ।

एकीकरण सभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका शिर्ष नेताहरुले तीन महिना भित्रैमा पार्टी एकताको काम टुंगो लगाउँने उदघोष गरेका थिए ।

तर पार्टी एकता भएको १६ महिना बित्दा समेत अहिले सम्ममा पोलिटव्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटी लगायतका एकताको सांगठनिक कार्य अझै टुंगो लागेको छैन् ।

नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनका लागि तत्कालीन एमालेका तर्फबाट नामावली तयार भए पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट नामावली टुंगो लाग्न नसक्दा ढिलाइ भएको छ ।

नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी छन् । पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ अर्थात् १ सय ४७ जनाको पोलिटब्युरो कमिटी बनाउनुपर्छ । जसमा तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागबन्डा गर्ने सहमति शीर्ष नेताबीच यस अघि नै भईसकेको छ ।

यसैबीच पछिल्लो सचिवालय बैठकले चार जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेकाले यस संख्यामा घटबढ हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्