अमेरिकी सेना नपुग्दै शान्ति वार्ताको माहौल सुरु



काठमाडौं : अमेरिकी सेना साउदी अरब प्रवेश तयारीको पूर्वसन्ध्यामा घटनाले नयाँ मोड लिन थालेको छ । साउदी अरबको कच्चा तेल प्रशोधन केन्द्रहरुमा हुथी विद्रोहीहरुबाट भएको भनिएको ड्रोन आक्रमण र भीषण आगलागी पश्चात् पेन्टागनले तेल प्रशोधन केन्द्रहरुको रक्षार्थ अमेरिकी सेना पठाउने पूरा तयारी गरिसकेको हो । तेलसम्राट मानिने साउदी अरबमा हुन लागेको अमेरिकी सेनाको उपस्थितिलाई विश्वका सबै देशहरुले असहज रुपमा लिइरहेका छन् ।

यसैबीच शुक्रवार चिनियाँ राष्ट्रपति सि जिनफिङ र साउदी राजा सलमान बिन अब्दुल्ल अजिजका बीचमा लामो टेलिफोन वार्ता भएको छ । अर्कोतिर, तेल प्रशोधन केन्द्रहरुमा आक्रमणको जिम्मा लिएका हुथिविद्रोहीले शान्ति वार्ताको प्रस्ताव राखेका छन् । यो शान्ति प्रस्तावलाई संयुक्त राष्ट्र संघले स्वागत गरेको छ ।

चिनियाँ राष्ट्रपति र साउदी राजाका बीचमा भएको टेलिफोन वार्ता आपसी सद्भावपूर्ण सम्बन्ध सुदृढिकरणका लागि जस्तो देखिए पनि समय र सन्दर्भका हिसाबले यो आफैँमा राजनीतिक महत्वको रहेको देखिएको छ ।

वार्तामा राष्ट्रपति सिले साउदी अरबका तेल प्रशोधन केन्द्रमा भएका ड्रोन आक्रमणको निन्दा गर्दै उक्त आक्रमणको ‘विस्तृत, वस्तुगत र निष्पक्ष’ अनुसन्धान गर्न-गराउन साउदी राजालाई सल्लाह समेत दिएका छन् ।

राष्ट्रपति सिले त्यसका लागि चीन सहयोग गर्न तयार रहेको र त्यस्तो अनुसन्धानले मात्र सत्य तथ्य बाहिर आउने र खाडी समस्या र तनाव हल गर्न सहयोग पुग्ने कुरामा जोड दिएका छन् । सिले यो घटनाले विश्व तेल बजारलाई धक्का दिएको र मध्य–पूर्वको तनावलाई थप तन्काउने काम गरेकाले निष्पक्ष अनुसन्धानमार्फत् यसको हल खोज्न सबै पक्षलाई आह्वान समेत गरेका छन् ।

पछिल्ला वर्षहरुमा साउदी अरब र चीनबीच द्विपक्षीय सम्बन्ध गाढा बन्दै गएको प्रति सन्तोष पनि व्यक्त गर्दै फोन सम्बादमा सीले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र स्थायित्वको प्रतिरक्षाका लागि साउदी अरबले गरिरहेको प्रयासमा चीनको दृढ समर्थन कुरा राखिरहँदा साउदी राजाले पनि साउदी अरब एक चीन नीतिप्रति दृढ रहेको कुरा दोहर्याएका छन् ।

यमन र इरानको समर्थनप्राप्त हुथी विद्रोहीले राखेको शान्ति वार्ताको प्रस्तावलाई संयुक्त राष्ट्र संघले स्वागत गरेपछि अब अरबको मामलामा साउदी अरबमा अमेरिकी सेनाको उपस्थितिको स्थानमा शान्ति वार्ता अघि बढ्ने संभावना देखा पर्दै गएको छ ।

आइन्दा साउदी अरबको तेल कम्पनीमाथि ड्रोन र मिसाइल आक्रमण नगर्ने घोषणा गर्दै हुथी विद्रोहीद्वारा शान्ति वार्ताको प्रस्ताव गरिएको हो ।

एक टेलिभिजन घोषणामार्फत् हुथीका सर्वोच्च राजनीतिक परिषद् अध्यक्ष महदी अलमसातले आफ्नो समूहले साउदी अरेबियामाथिको सबै आक्रमण अन्त्य गर्ने घोषणा गरेका हुन् । यसलाई कमजोरीका रुपमा नलिन पनि अलमसातले चेतावनी दिएका छन् हुथीले राखेको शान्ति वार्ताको प्रस्ताव संयुक्त राष्ट्रसंघले स्वागत गरेलगत्तै राष्ट्रसंघका विशेष दूत मार्टिन ग्रिफिथ्सले समस्याको राजनीतिक समाधान खोज्न आह्वान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्