स्वास्थ्यमन्त्रीको जिल्ला डेंगुले आक्रान्त



सप्तरी : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको जिल्लामा अहिले डेंगुको प्रकोप व्यापक फैलिएपछि जिल्लामा त्रास बढेको छ । यसको नियन्त्रणको जिम्मेवारी बोकेका स्वास्थ्यमन्त्रालयका मन्त्री रहेका यादव जिल्लामा डेंगुको प्रकोप व्यापक फैलिदा मन्त्री यादव बेखबरजस्तै बनेका छन् ।

यस जिल्लाको जनमतबाट सत्तामा पुगेका यादव जिल्लामा यस्तो संक्रमण फैलिरहँदा बेखबर मात्र होईन विदेश शयरमा छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले मात्रै गएको १५ दिनभित्र ४ जना डेंगुका बिरामीको उपचार गरेको छ ।

भदौ २० गते कञ्चनरुप नगरपालिका–१, वैरवाका ६० वर्षीय राजेन्द्र परियार, भदौ २४ गते राजविराज नगरपालिका–८ हिमालय टोलकी २० वर्षीया आसिकी यादव तथा असोज ३ गते खडक नगरपालिका–११, लालपुरका ४० वर्षीय श्रवणराम र असोज ४ गते महादेवा गाउँपालिका पथ्थरगढाकी ६१ वर्षीय कोशीलादेवी यादव अस्पतालमा भर्ना भएको मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए ।

उनीहरुमध्ये क्रिटिकल अवस्था भएका परियार र रामलाई विराटनगर रेफर गरिएको छ भने आसिकी यादव सामान्य उपचारपछि घर फर्किएको अस्पतालले जनाएको छ । शनिबार भर्ना भएकी यादवको अस्पतालमै राखेर उपचार भइरहेको छ । उनको सवै रिपोर्ट आइनसकेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्।

मोरङ्गको विराटनगरस्थित नोबेल अस्पतालमा जचाँउन आउनेको संख्या पनि बढ्दो छ । जचाँउन आउनेमध्ये धेरैजसोलाई लामखुट्टेको टोकाइका कारण लाग्ने डेंगुका विरामीहरु रहेका छन् । उनीहरुलाई डेंगु लागेको अस्पतालले जनाएको छ ।

गत साउन महिनामा सप्तकोशी नगरपालिकाको स्वास्थ्य शाखा सह–संयोजक नागेश्वर महतो आफैं डेंगु रोगबाट पीडित भए । विराटनगरस्थित विराट नर्सिङ्ग होममा उनको उपचार भयो। महतोको अवस्था अहिले सामान्य रहेको स्वास्थ्य संयोजक जीवछ साहले बताउछन् ।
एक हप्ताअघि नेपाल प्रहरीमा कार्यरत सिताराम विष्ट ज्वरो आएर थला परे । १०३ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, आँखाको गेडी, टाउको, घाँटी, जोर्नीलगायत शरीरका सम्पूर्ण भाग दुख्न थालेपछि असह्य भएर उनी अस्पताल पुगे।

मोरङ्गको विराटनगरस्थित नोबेल अस्पतालमा चेकजाँच गराउँदा उनलाई डेंगु पोजेटिभ भएको पत्ता लाग्यो। घर आएका बेला आफूलाई डेंगु संक्रमित लामखुट्टेले टोकेको हुन सक्ने उनको शंका छ। उनी नगरपालिका–१, फत्तेपुर निवासी हुन ।

त्यस्तै समस्या भएर सँगै चेकजाँच गराउन सोही अस्पताल पुगेका विष्टका छिमेकी लिलाबहादुर खत्रीलाई पनि डाक्टरले डेंगु भएको पुष्टि गरे। चिकित्सकको सल्लाहअनुसार दुवै जना अहिले प्रशस्त मात्रामा झोलिलो खाने कुरा खाँदै आराम गरिरहेका छन्।

विष्ट र खत्री मात्र होइन, सप्तकोशी नगरपालिकामा यतिबेला एकपछि अर्को गर्दै डेंगुका बिरामी थपिने क्रम जारी छ ।

यो समस्या सप्तकोशीको मात्रै नभई कञ्चनरूप, राजविराज, खडक, सुरुङ्गालगायतका नगरपालिकासहित १८ वटै स्थानीय तहमा डेंगुको समस्या र त्रास उस्तै रहेको छ ।
गाउँभर डेंगुकै त्रास
ज्वरोका कारण विरामी हुनेहरु गाउँभरी नै रहेका छन् । सप्तकोशी नगरपालिकाका धेरैजसो घरका सदस्यहरु ज्वरोले आक्रान्त हुन थालेका हुन । कसैले समयमै चेकजाँच गराएर डेंगु भएको थाहा पाएपछि आवश्यक सतर्कता आपनाएका छन् भने कोही मौसमी रुघाखोकी र ज्वरो भन्दै निच मारेर बसेका छन्।

तर, गाउँभर ज्वरोका बिरामी बढेकाले अधिकांशलाई डेंगुको आशंका गरेर गाउँलेहरू त्रसित बनेका छन्। ‘कडा र निरन्तर ज्वरो आउनु, जिउ दुख्नुलगायतका लक्षण देखिए डेंगुको आशंका गर्न सकिन्छ।

भरपर्दो रिपोर्ट नदिने, अन्दाजकै भरमा उपचार गर्नेलगायतका कतिपय समस्याका कारण स्थानीय अस्पतालहरूको विश्वास गर्न नसक्दा कतिपय बिरामी चेकजाँच नै नगरी घरमा बसिरहेको स्थानीयवासी बताउँछन्। बिरामीको चेकजाँच तथा डेंगु संक्रमित लामखुट्टे नियन्त्रणका लागि आवश्यक पहल गर्न उनीहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्