व्यावसायिक कागती खेतीमा किसान



डाटी : जोरायल गाउँपालिका–५ गडसेराका लक्ष्मण देउवाले व्यावसायिकरुपमा कागतीखेती शुरु गरेका छन् । परीक्षणका लागि उनले पाँच सय कागतीका बिरुवा लगाएका थिए ।

कागतीका बोटले फल दिन थालेपछि देउवा अहिले कर्मचारी राखेर व्यावसायिकरुपमा लागेका छन् । “राम्रै आम्दानी होला जस्तो छ”, उनले भने । देउवाले यस वर्ष एक हजारको हाराहारीमा कागतीका बिरुवा रोपेका छन् । केही वर्ष अघिसम्म अध्यापन पेशामा आवद्ध देउवा पछिल्लो समय पढाउन छोडेर व्यावसायिक कृषि पेशामा सक्रिय हुन् ।

कागती भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । त्यसलाई रोक्नका लागि आपूmले व्यावसायिक कागतीखेती शुरु गरेको देउवा बताए । कागती फलेपछि अहिले उनको नर्सरीमा हेर्न आउनेको घुइँचो नै लाग्छ । कागतीखेती गर्न राम्रो सम्भावना भएको ठाउँ भएकाले अहिले यहाँका अधिकांश किसान व्यावसायिकरुपमा कागतीखेती गर्न थालेका छन् । देउवाले गन्याप कृषि उत्पादन तथा बिक्री केन्द्र फार्म स्थापना गरी कृषि पेशा थालेका हुन् ।

अहिले उनले व्यावसायिक तरकारीखेती, गाई तथा भैँसीपालनसमेत गर्दै आएका छन् । जोरायल गाउँपालिकामा कागतीखेतीको राम्रो सम्भावना भएकाले कागतीको बिरुवा अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । “हामीले उक्त पेशालाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएका छौँ”, उनले भने । यहाँका जोरायल, गड्सेरा, निरौली, केआई सिंह, शिखर नगरपालिकालगायत ठाउँमा कागतीखेतीको पर्याप्त सम्भावना भएको कृषि प्राविधिक मदन खड्काले बताए । चिसो तथा भिरालो ठाउँमा कागतीखेती गर्न सकिन्छ । बजारमा कागतीको चुकको मूल्य प्रतिलिटर रु २ सयदेखी रु ५ सयसम्म पर्छ । (रासस)

प्रतिक्रिया दिनुहोस्