प्रेमिकालाई पानीमुनि गएर प्रपोज गर्ने व्यक्तिको त्यही पानीमा डुबेर मृत्यु (भिडियो सहित)



एजेन्सी : अमेरिकाका स्टिभ वेबरले आफ्नी प्रेमिका केनेशा एन्टोइनलाई पानीमुनि गएर विवाह प्रस्ताव गर्ने क्रममा मृत्युवरण गरेका छन् । 

छुट्टी मनाउनका लागि तान्जानिया पुगेको यस जोडीको सबभन्दा खुशीको पल दुःखमा परिणत हुन पुग्यो । पेम्पा टापुबाट केही पर मान्टा रिजोर्टमा एक जलमग्न क्याबिनमा उनीहरू बसिरहेका थिए । 

वेबरले पानीमुनि गएर प्रेमिकालाई ‘मसँग बिहे गर्छ्यौ ?’ भनी सोधे । वेबरकी प्रेमिका केनेशाले फेसबूकमार्फत उनको मृत्युको खबर सार्वजनिक गर्दै लेखिन्, ‘उनी गहिराइबाट बाहिर आउनै सकेनन् ।’

मान्टा रिजोर्टले अत्यन्तै दुर्भाग्यपूर्ण घटना भएको बतायो । उसले भन्यो, ‘बिहीवार दिउँसो कोठाबाट निस्केर एक्लै उनी गोताखोरी गर्न निस्किए अनि डुबे । उनको मृत्युपछि हामीहरू भित्रैसम्म हल्लिएका छौं ।’

प्रेमी जोडीले रिजोर्टमा चार रातका लागि अन्डरवाटर रूम बूक गरेको थियो । यसमा एक रातको भाडा १७ सय डलर पर्छ र यो पानीभन्दा ३२ फीट तल छ । 

रिजोर्टमा बसेको तेस्रो दिनमा दुर्घटना भएको थियो । लुइजिनियाका वेबरले प्रेमिकासमक्ष विवाह प्रस्ताव राख्न पानीमा गोता लगाएका थिए । उनले आँखामा पानीभित्र उपयोग गरिने चश्मा भिरेका थिए र पाइतालामा फ्लिपर्स पनि लगाएका थिए । 

उनले लुगाबाट औंठी निकालेको केही क्षणपछि नै उनको मृत्यु भयो । रिजोर्टका सीईओ म्याथ्यु सोसले पानीमा गडबडी भएको विषयमा स्टाफले तत्कालै प्रतिक्रिया दिएको तर त्यहाँ पुग्दासम्म वेबरको मृत्यु भइसकेको बताए । 

अमेरिकाको परराष्ट्र मन्त्रालयले तान्जानियामा अमेरिकी नागरिकको मृत्यु भएको कुरा आफ्नो जानकारीमा आएको बताएको छ ।

बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्