नेकपाले चिनियाँ मोडल पढाउन थालेपछि भारत सशंकित



काठमाडौं : नेपाल–चीनको कम्युनिष्ट बिचारका बारेमा बृहत्त छलफलको आयोजना हुँदैछ । नेकपाले अवलम्बन गरेको जनताको जनवाद र चीनको सि जिङपिङको सी विचारधाराको बारेमा केन्द्रीत भई आज (सोमबार) काठमाडौंमा छलफल हुने भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्कुल विभागको आयोजनामा हुने सो छलफलमा दुवै देशका तीन सय भन्दा बढी नेता सहभागि हुने बताईएको छ । सोमबार र मंगलबार गरी दुई दिनसम्म काठमाडौंमा सो कार्यक्रम आयोजना हुँदैछ ।

नेकपा सचिवालयका ९, स्थायी कमिटीका ४५, केन्द्रीय कमिटीका एक तिहाई गरी नेपालबाट २ सय ५० जना नेताहरु सहभागि हुनेछन् । चीनको तर्फबाट चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको नेतृत्वमा ४० चिनियाँ नेताहरु सहभागि हुँदैछन् ।

नेकपा केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले नेपालको ७० वर्षे कम्युनिष्ट इतिहासका साथै चीनको कम्युनिष्ट विचारको आदानप्रदान हुने बताए ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको राजकीय भ्रमणको पूर्वसन्ध्यामा सत्तारूढ नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारको आदान–प्रदान एवं अन्तरक्रिया भनिए पनि यसलाई गम्भिर रुपमा हेरिएको छ । नेपालमा बढ्दो चिनियाँ प्रभावबाट भारत भने शसंकित बनेको छ ।

‘यो कुनै प्रशिक्षण होईन, दुई देशका कम्युनिष्ट बिचारको छलफल मात्रै हो’ थापाले भने, ‘नेपाल र चीन दुवै तर्फबाट कार्यपत्र प्रस्तुत गरिने र त्यसमा छलफल हुन्छ ।’

नेकपा स्थायी कमिटीका सदस्य एवं स्कुल बिभागका उपप्रमुख बेदुराम भुषालले यो केवल बैचारिक छलफल मात्रै भएको बताए । दुवै देशका कम्युनिष्ट विचारको बारेमा अनुभव साटासाट एवं छलफल हुने उनले बताए ।

‘यो केवल बैचारिक छलफल मात्रै हो, बाहिर प्रचार भएजस्तै चीनबाट प्रशिक्षण लिने होईन्’ भुषालले भने, ‘नेपाल र चीनका बीचमा राम्रो सम्बन्ध छ, एकले अर्काको सैद्धान्तिक एवं बैचारिक विषयमा छलफल हुनेछ ।’

नेपाल तर्फका कम्युनिष्ट नेताकार्यकर्ता समय समयमा चीनमा गएर त्यहाँको राजनीति, सांस्कृती, समाजिक लगायतका बिषयमा अध्ययन गर्नेगरेका छन् । चीनको तर्फबाट त्यहाँको सत्तारुढ दलकै बिदेश बिभाग प्रमुखको नेतृत्वमा नेपालमै छलफल हुने यो कार्यक्रम अहिले सम्मकै पहिलो भएको नेताहरु बताउँछन् ।

नेकपा स्थायी कमिटीका सदस्य एवं प्रशिक्षण बिभागका उपप्रमुख देवेन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नीति, सिद्धान्त, कार्यक्रम लगायतका बिषयमा छलफल हुने बताए । दुवै देशका कम्युनिष्ट नेताहरु सहभागि हुने कार्यक्रममा दुबै तर्फबाट बिभिन्न कार्यपत्र प्रस्तुत हुनुका साथै त्यस विषयमा खुल्ला छलफल हुने उनले बताए ।

‘दुबै देशका कम्युनिष्ट नेताहरुको संयुक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत हुनुका साथै खुल्ला छलफल हुनेछ’ पौडेलले भने, ‘नेपाल र चीनका कम्युनिष्ट आन्दोलनको इतिहास छुट्टै छ, ति विषयका केन्द्रीत भई हामीले आ–आफ्ना अनुभव साटासाट गर्नेछौं ।’

छलफलमा दुई देशको कम्युनिष्ट विचारका साथै, सांस्कृतीक, आर्थिक, इतिहास लगायतका विषयमा केन्द्रीत भई अनुभव साटासाट हुनेछ । यसका साथै बिश्वको पछिल्लो राजनीतिक, आर्थिक अवस्था एवं प्रगतिको विषयमा छलफल हुनेछ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा भूमिगत कालमा सीपी मैनालीको नेतृत्वमा नेकपाका वर्तमान स्कुल विभाग प्रमुख ईश्वर पोखरेल, अमृत बोहोरासहितका नेता ६ महिना चीनमा अनुशिक्षित भएर आएका थिए । त्यसयता पनि नेपालका क्रियाशील कम्युनिस्ट घटकका नेताकार्यकर्ता चीनमा गएर कम्युनिष्ट बिचारधारका बारेमा अध्ययन गर्दै आएका छन् ।

उद्घाटन सत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको बदलिँदो कम्युनिस्ट आन्दोलनका बारेमा आफ्नो मन्तव्य राख्नेछन् । स्कुल बिभागका प्रमुख ईश्वर पोखरेलको अध्यक्षतामा कार्यक्रम हुने र सञ्चालन विभागका उपप्रमुख देबेन्द्र पौडेलले गर्नेछन् ।

चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावको नेतृत्वमा नेपाल आउँनेलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमै पुगेर स्कुल विभागका अर्का सदस्य बेदुराम भुषालले स्वागत गर्ने कार्यक्रम रहेको नेकपा प्रचार विभागका उपप्रमुख थापाले बताए ।

चिनिया कम्युनिष्ट पार्टीका बिदेश बिभाग प्रमुख सोङ ताओले पार्टीको दृष्टिकोण राखेपछि अघिल्लो दिनको सत्र पूरा हुनेछ । भोलिपल्ट चिनियाँ कम्युनिस्ट पार्टीका विदेश, प्रशिक्षण र सङ्गठन विभागका प्रतिनिधिले आ–आफ्ना छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने र छलफल हुनेछ ।

चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ महाधिवेशनले तय गरेको राजनीतिक–वैचारिक कार्यदिशा, कम्युनिष्ट आन्दोलनको विश्व दृष्टिकोण, बदलिँदो विश्वबारे उनीहरूले आफ्ना विचार–दृष्टिकोण–धारणा राख्ने कार्यक्रम तय भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिङपिङले असोज अन्तिममा नेपालको राजकीय भ्रमण गर्दैछन् । दुवै देशले भ्रमणको तयारीलाई तीव्रता पनि दिएका छन् । दुई दिन चल्ने अन्तरक्रिया र वैचारिक आदानप्रदान पनि भ्रमणकै पूर्वतयारीको रुपमा रहेको बताईएको छ ।

सन् १९४९ को जनवादी क्रान्तिपछि माओ त्से तुङले नौलो जनवादमार्फत् झण्डै तीन दशक परिवर्तनको नेतृत्व गरेका थिए । त्यसपछि शासनमा आएका देङ स्याओ पिङले चिनियाँ विशेषतायुक्त समाजवादको अवधारणाअघि सारेर चीनलाई आर्थिक क्रान्तिको दिशा दिए ।

दोस्रोपल्ट राष्ट्रपति पद सम्हालिरहेका सीले ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद’ शुरू गरेका छन् । जसलाई संविधानमा समेत सी विचारधाराका रूपमा ग्रहण गरी चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशक सिद्धान्त बनाइएको छ ।

‘सी जिनपिङ्ग विचारको अर्थ’ भन्ने एउटा आलेखमा साल्बाटोर बाबोन्सले चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को सन् २०१७ को अक्टोबर १८ देखि २४ सम्म भएको १९ औं नेशनल कंग्रेसको चर्चा गरेका छन् । सीसीपीको बैठक सन् १९७७ देखि हरेक ५ वर्षमा हुँदै आएको छ ।

देङ्ग स्याओपिङ्ग जो चीनको सुधार युगका पिता मानिन्छन् । उनी पार्टीको ११ आंै कंग्रेसपछि शक्तिमा आएका थिए । माओत्सेतुङ्गको त्योभन्दा अघि मृत्यु भएको थियो । पार्टी अस्तव्यस्त र देश पनि सांस्कृतिक क्रान्तिका कारण अव्यवस्थामा रहेको बेलामा देङ्गले कानुनी राज्य स्थापनाको प्रयास गरे । पार्टी र राज्यबीचको सम्बन्धलाई संस्थागत गरे ।

चीनलाई खुला र सुधारको बाटोतर्फ अग्रसर गराए । यो क्रम झण्डै २० वर्षसम्म चल्यो । त्यसलाई देङ्ग स्याओपिङ्ग सिद्धान्त भनियो । त्यसमा आधारभूत कुरा चीनमा समाजवादलाई अघि बढाउने र विकास गर्ने कुरा आयो । यसलाई सीसीपीको १५ औं नेशनल कंग्रेस सेप्टेम्बर १९९७ मा प्रस्तुत गरिएको थियो ।

देङ्गको सो वर्षको फेब्रुअरीमा मृत्यु भयो । चीनमा दुई दशकसम्म प्रभावकारी शासनपछि देङ्गलाई चीनको इतिहासमा खेलेको भूमिकालाई लिएर थोरै मात्रै शंका गरिन्छ ।

माओले तीन दशकसम्म शासन गरेका थिए । त्यसै कारणले गर्दा चीनका अहिलेका राष्ट्रपति जो केन्द्रीय सैनिक आयोगका प्रमुख र महासचिव समेत रहेका छन, उनले पनि कुनै मौका छोडेनन् । आफ्नो शासनको ५ वर्षकै अवधिमा उनले सी जिनपिङ्ग विचार संविधानमा नै उल्लेख गर्न लगाए । सी जिनपिङ्ग सिद्धान्त सम्बन्धि विचार पास पनि भयो । त्यसको पूरा नाम ‘सी जिङपिङ थट अन सोसियालिज्म विथ चाइनिज क्यारेक्टरिस्टीक फर अ न्यू इरा’ राखिएको छ । त्यसलाई पार्टी कंग्रेसका दुई हजार २८७ जना प्रतिनिधिले सर्वसम्मत रूपमा पास गरेका थिए ।

त्यसमा १४ बुँदामा उनका विचारहरु समेटिएका छन् । त्यसले पार्टीको विचारधारालाई ‘थिंक इन बिग पिक्चर टर्मस’को रुपमा अगाडि बढाएको थियो । केन्द्रीय कमिटी सी जिङपिङलाई केन्द्रमा राखेर बनाइयो । त्यसको मुटुको रूपमा सी जिङपिङको सुशासन सम्बन्धी वक्तव्य राखिएको थियो ।

त्यसमा सी जिङपिङले सम्पूर्ण शक्ति लिएर पिपुल्स लिबरेसन आर्मी र पिपुल्स आर्मड फोर्सेजको नेतृत्व लिएर सेनाको सवलीकरण गर्ने, पिपुल्स लिबरेसन आर्मीको विकास गर्ने र यसलाई सबलीकरण गरेर सुधार र प्रविधिको विकास, कानुनअनुसार अघि बढाउने, पार्टीको कमाण्ड स्वीकार गर्ने आज्ञाकारी जनताको बल बनाउने र लड्ने तथा जित्न सक्ने परिस्थितिको निर्माण गरी कार्यान्वयन प्रक्रियालाई अत्युत्तम बनाउने भनिएको छ ।

नयाँ युगमा पिपुल्स लिवरेसन आर्मीले यो उद्देश्य प्राप्त गर्ने र चीनमा बलियो समुदाय बनाउने, साझा चासोमा न्यायको प्रत्याभूति गराउने, आपसी संयोजन र छलफलबाट मानव जातिको भलाइका लागि काम अघि बढाउने उल्लेख छ ।

यसैगरी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अगाडि बढाउने भनिएको छ । दशवटा बुँदामध्ये शुरुका ५ वटा सैनिकतर्फ केन्द्रीत छन् भने बाँकी ४ वटा समाजतर्फ र अन्तिम बुँदा विदेश नीतिमा केन्द्रित छ । यिनै बुँदामा सी जिङपिङ विचारधारा अन्तरनिहीत रहेको बताईन्छ । सीको मन्तव्यलाई विश्वले नै आशाको रुपमा हेरेको थियो ।

त्यसलाई अन्तर्राष्ट्रिय नीतिमा नरम हुने संकेतको रूपमा पनि लिइएको थियो । तर, यो नीति सेनाको सहयोगमा राष्ट्रिय सुधारमा मात्रै केन्द्रीत भएको थियो । जसमा पार्टीलाई पहिलो र सेनालाई दोस्रो प्राथमिकतामा राखिएको छ ।

उनले देशलाई अझ वैभवशाली बनाउने र मुलुकलाई अझ सशक्त पार्ने जनाएका छन् । सीलाई यो विचारधाराको मुख्य नेताको रुपमा लिइएको छ । देङ्गले आफ्नो विचार लाद्नको लागि १९८९ को जुन ४ मा ट्यांकको सहयोग लिएका थिए । त्यसलाई तियानमेन स्क्वायर हत्याकाण्डको रूपमा लिने गरिएको छ ।

चीनको अर्को विचारमा बेल्ट र सडक केन्द्रित रहेको छ । जसमा समुदायका कुरा पनि छन् । आन्तरिक र बाह्य दुवै विषय यसमा समेटिएका छन् ।

उनले मन्डारिन भाषा र २० शताब्दीको कन्फ्युसियानिज्मको विस्तारलाई पनि उत्तिकै महत्व दिएका छन् । विश्वका करिब पाँच सय विश्वविद्यालयमा चीनले भाषा र संस्कृतिसम्बन्धी कार्यक्रमलाई सहयोग गरेको छ । सन् २०२१ मा चीनले सीसीपीले एक सयौं वार्षिकोत्सव मनाउँदैछ ।

चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ एशिया, अफ्रिका र युरोपलाई विभिन्न सञ्जालबाट जोड्ने परियोजना हो । चीनका राष्ट्रपति सी जिनपिङ्गले सन् २०१३ मा यो परियोजना ‘क्वाइन’ गरेका हुन् ।

दुई हजार वर्षअघि हान वंशले शुरु गरेको सिल्क रोडबाट उनी प्रभावित भएर यो परियोजना ल्याएको जनाइएको छ । यसलाई पहिला ‘वान बेल्ट, वान रोड’ सडककोे रुपमा पनि चर्चामा ल्याइएको थियो । यसमार्फत् चीनले दक्षिण पूर्वी एशिया, दक्षिण एशिया, मध्य एशिया, रसिया र युरोपलाई जमिनबाट तथा समुद्रबाट दक्षिण पूर्वी र दक्षिण एशिया, दक्षिण प्यासिफिक, मध्यपूर्व र पूर्वी अफ्रिकालाई जोड्ने लक्ष्य लिइएको छ ।

यो प्रक्रियामा ५ वटा मुख्य प्राथमिकताहरू तय गरिएका छन् । जसमा नीति, संयोजन, पूर्वाधार कनेक्टिभिटी, व्यापार, आर्थिक एकीकरण र जनस्तरसम्मको सञ्जाल रहेका छन् । यो परियोजनामा एक ट्रिलियन लगानी गर्ने जनाइएको छ ।

जसमा बन्दरगाह, सडक, रेलवे, विमानस्थल र दूर सञ्चार नेटवर्कलगायतका विषय समावेश छन् । बीआरआईको भौगोलिक सीमा विस्तार हुँदै गइरहेको छ । अहिलेसम्म यसले ७० देशलाई साझेदार बनाइसकेको छ ।

जस अन्तर्गत यसबाट विश्वको ६५ प्रतिशत जनसंख्या समेटिएका छन् । जसले विश्वको एक तिहाई कूल गार्हस्थ्य उत्पादन (जीडीपी) धान्छ ।

चीनमा माओपछि सी सबैभन्दा शक्तिशाली नेताका रूपमा चिनिन्छन् । ‘चाइना पर्सपेक्टिभ’ भन्ने अर्को एक आलेखमा जोहन ग्यारिक र यान चाङ्ग बेन्नेटले जनाएअनुसार चिनियाँ कम्युनिस्ट पार्टी सीको विचारधारामा अनुबन्धित भएपछि चीनको संवैधानिक अर्डरमा सीको प्रभुत्व पार्टीको भन्दा बढी हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्