चिनियाँ विदेश विभाग प्रमुख ताओ र परराष्ट्रमन्त्रीबीच भेटवार्ता नहुने



काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ र नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीबीच भेटघाट नहुने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख ताओ आजै नेपाल आइपुगेका छन् । तर नेपालका परराष्ट्रमन्त्री ज्ञवाली संयुक्त राष्ट्र संघको महासभामा भाग लिनका लागि अमेरिका गएकाले भेटघाट नहुने भएको हो ।

नेपाल आइपुगेका ताओलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं स्कुल विभागका उपप्रमुख बेदुराम भुषाल र नेकपाका केन्द्रीय सदस्य एवं विदेश विभागका उपप्रमुख विष्णु रिजालले स्वागत गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा दिउँसो आइपुगेका ताओ नेतृत्वको टोली नेकपा स्कुल विभागले आयोजना गर्ने वृहत्त छलफलमा सहभागि हुनेछन् । चीनको सि जिङपिङको सी विचारधाराको बारेमा केन्द्रीत आज र भोली गरी दुई दिने वृहत्त छलफल कार्यक्रम हुँदैछ ।

नेकपा स्कुल विभागको आयोजनामा हुने सो छलफलमा दुजै देशका तीन सयभन्दा बढी नेता सहभागि हुने बताइएको छ । काठमाडौंमा हुने सो कार्यक्रमका लागि तयारी पूरा भएको नेकपाले जनाएको छ ।

नेकपा सचिवालयका ९, स्थायी कमिटीका ४५, केन्द्रीय कमिटीका एक तिहाई गरी नेपालबाट २ सय ५० जना नेताहरु सहभागि हुनेछन् । चीनको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको नेतृत्वमा ४० चिनियाँ नेताहरु सहभागि हुँदैछन् ।

नेकपा केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले नेपालको ७० वर्षे कम्युनिष्ट इतिहासका साथै चीनको कम्युनिष्ट बिचारको आदानप्रदान हुने बताए ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको राजकीय भ्रमणको पूर्वसन्ध्यामा सत्तारूढ नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारको आदान–प्रदान एवं अन्तरक्रिया भनिए पनि यसलाई कुटनीतिक नियोगहरुले नजिकबाट नियालिरहेका छन् ।

कार्यक्रममा नेकपा स्थायी कमिटीका सदस्य एवं प्रशिक्षण बिभागका उपप्रमुख देवेन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नीति, सिद्धान्त, कार्यक्रमलगायतका विषयमा छलफल हुने बताए । दुवै देशका कम्युनिष्ट नेताहरु सहभागि हुने कार्यक्रममा दुवै तर्फबाट विभिन्न कार्यपत्र प्रस्तुत हुनुका साथै त्यस विषयमा खुल्ला छलफल हुने उनले बताए ।

छलफलमा दुई देशको कम्युनिष्ट विचारका साथै, सांस्कृतीक, आर्थिक, इतिहासलगायतका विषयमा केन्द्रीत भइ अनुभव साटासाट हुनेछ । यसका साथै विश्वको पछिल्लो राजनीतिक, आर्थिक अवस्था एवं प्रगतिको विषयमा छलफल हुनेछ ।

उद्घाटन सत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको बदलिँदो कम्युनिष्ट आन्दोलनका बारेमा आफ्नो मन्तव्य राख्नेछन् । स्कुल विभागका प्रमुख ईश्वर पोखरेलको अध्यक्षतामा कार्यक्रम हुने र सञ्चालन विभागका उपप्रमुख देबेन्द्र पौडेलले गर्नेछन् ।

भोली नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तोओले दुई कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्धका लागि ‘समझदारी’ पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको विदेश विभागका उपप्रमुख रिजालले बताए ।

चिनियाँ राष्ट्रपति सी ले असोज अन्तिममा नेपालको राजकीय भ्रमण गर्दैछन् । दुवै देशले भ्रमणको तयारीलाई तीव्रता पनि दिएका छन् । सोमबार र मङ्गलबार हुने अन्तरक्रिया र वैचारिक आदानप्रदान पनि भ्रमणकै पूर्वतयारीको रुपमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्