मौलिक जरोकिलो पार्टीको पहिलो महाधिवेशन माघमा



काठमाडौं : मौलिक जरोकिलो पार्टीको पहिलो महाधिवेशन आगामी माघ १६, १७ र १८ गते आयोजना हुने भएको छ । पार्टीको तदर्थ केन्द्रीय समितिको शपथ ग्रहण एवं शनिबार भएको पहिलो बैठकको निर्णय आज सार्वजनिक गर्नुहुँदै प्रवक्ता लीलाबहादुर बानियाँले उक्त जानकारी दिए ।

उक्त पार्टी एक महीनापहिले मात्र निर्वाचन आयोगमा दर्ता भएको थियो । मौलिक जरोकिलो पार्टीको तदर्थ केन्द्रीय समितिको काठमाडौँमा सम्पन्न दुईदिने बैठकले सङ्घीय संसद्का लागि कास्की, क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार खडा गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार पार्टीका गण्डकी प्रदेश संयोजक हरि नेपाललाई दिने निर्णय गरेको छ ।

बैठकमा पार्टीका केन्द्रीय संयोजक सुशील गौतमले राजनैतिक प्रतिवेदन, सर्वोच्च परिषद् सदस्य उर्मिला खनालले पार्टीको इतिहासबारे परिचर्चा, सर्वोच्च परिषद् सदस्य लीलाबहादुर बानियाँले साङ्गठनिक प्रतिवेदन र सर्वोच्च परिषद् सदस्य कृष्णराम प्रजापतिले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पार्टीका सातै प्रदेशका संयोजकले प्रदेश प्रदेशको साङ्गठनिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको प्रवक्ता बानियाँले बताए ।

युगद्रष्टा गुरु डा निर्मलमणि अधिकारीद्वारा निर्मित सहृदयता दर्शन, आधारशिला चतुष्टय ढविज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्धण, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद एवं सहृदय अर्थतन्त्र नै पार्टीको मार्गनिर्देशक सिद्धान्त भएको राजनैतिक प्रतिवेदनमा उल्लेख गरिएको छ । पार्टीको तदर्थ केन्द्रीय समिति विस्तार गर्दै दिलबहादुर क्षेत्री (पर्वत), प्रभा सुवेदी (काठमाडौँ), मदन पौडेल (तनहुँ), अम्बिका केसी (काठमाडौँ) र विनोद नेपाल (सिन्धुपाल्चोक)लाई केन्द्रीय सदस्य चयन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्