विप्लवलाई सीके शैलीमा समाउन यस्तो तयारी



काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका महासचिव विप्लवलाई सीके राउत शैलीमा वार्तामा ल्याउन सरकार भित्रभित्रै लागेको छ । विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएपछि पार्टीका नेता तथा कार्यकता धमाधम पक्राउ परिरहेका छन् भने कतिपय नेता तथा कार्यकर्ता पलायन भएका छन् ।

सरकारले विप्लव समूहलाई हिंसा त्यागेर वार्तामा आउन बारम्बार आग्रह गरेपनि विप्लवले वार्ताप्रति चासो देखाईरहेका छैनन् । यद्यपी विप्लव समूहको हाइकमाण्डले सरकारसाग वार्ता गर्ने या नगर्ने भन्ने विषयमा विप्लवलाई सम्पूर्ण अधिकार दिएको बताइन्छ । विप्लवले सरकारसँग वार्ता प्रक्रिया अगाडि बढाएर आफ्ना नेता तथा कार्यकर्तालाई छुटाउने र शक्ति सञ्चय गर्ने निति अख्तियार गर्न सक्ने कतिपयको आकलन छ ।

विप्लवलाई वार्तामा ल्याउन सरकारले फकाउने र थकाउने रणनीति लिएको छ । यससँगसँगै सरकारले विप्लवलाई टार्गेटमा राखेर सुरक्षा संयन्त्र परिचालित गरेको छ । यसका लागि टोली गठन गरेर गोप्य ढंगले विप्लवको निगरानी गर्दै उनको फलो गरिरहेको बताइन्छ । वार्तामा नआए विखण्डनकारी मुद्दा बोकी राजनीतिक अभियान चलाएका सीके राउतकै शैलीमा विप्लवलाई पनि पकाउ गरी जेल हालेर उसलाई गलाउने रणनीति सरकारले अघि सारेको गृहमन्त्रालय श्रोतले बताएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लव समूहलाई हिंसाको रानीति छोडेर वार्तामा आउन सरकारले आह्वान गरिरहेको बताउँदै वार्तामा नआई हिंसा र आतंक फैलाइरहे सरकार कडा ढंगले प्रस्तुत हुने बताउछन् ।

प्रवक्ता बाँस्कोटा भन्छन्– ‘विप्लव समूह वार्तामा नआई सुखै छैन । वार्तामा नआए विप्लव समूह ठूलो संकटमा पर्नेछ, पर्दै गएको पनि छ । सरकारले गरेको आह्वानलाई विप्लव समूहले गम्भिरतापूवर्क नलिए विप्लव समूहका लागि ठूलो क्षति हुनेछ ।’

प्रवक्ता बाँस्कोटाको यो भनाईले पनि सरकारले भित्रभित्रै विप्लव समूहलाई निगरानी बढाएको र अन्य तयारी पनि गरेको पुष्टि हुन्छ ।

त्यसो त विप्लव समूहलाई वार्तामा ल्याउन नेकपाका सचिवालय सदस्य माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठहरुले पनि पहल गर्दै आएको बताइन्छ । तर उनीहरुले आफूलाई सरकारले जिम्मा दिनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्