नेकपाको चिनियाँ झुकाव, के–के हुँदैछ ?



काठमाडौं : नेपालमा चिनियाँ प्रभाव बढिरहेको भनेर चर्चा भइरहँदा सत्तारुढ दल नेपाल कम्म्युनिष्ट पार्टी (नेकपा)को वैचारिक लगाव समेत चिनियाँ कम्युनिष्ट पार्टीतर्फ ढल्किएको छ ।

नेकपाको वैचारिक पक्ष समेत चिनियाँ कम्युनिष्ट पार्टीतर्फ ढल्किएपछि अनेक चर्चा र आशंकाहरुले राजनीतिक बजार तताएको छ । नेकपा चीनको समृद्धिमा महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपति सि जिङपिङको विचारबाट प्रभावित भएर त्यो विचारलाई नेपालमा पनि प्रयोग गर्ने सोच अनुरुप अगाडि बढेको देखिन्छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समेत आज साँझ हुने कार्यक्रममा सहभागी हुन भएपछि यस विषयमा थप चर्चा परिचर्चा हुन सुरु भएको छ ।

राष्ट्रपति सि को सम्भावित नेपाल भ्रमण अगावै सि विचारधाराका विषयमा नेपालमा खास गरी बामपन्थी खेमा र नेकपा भित्र बहस, छलफल र प्रशिक्षण चलिरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त आयोजनामा अन्तरक्रियात्मक कार्यक्रम हुँदैछ । कम्युनिष्ट अनुशासन, समाज रुपान्तरण र विकास तथा समृृद्धिका एजेण्डामा सोमबार र मंगलबार काठमाडौंको होटल याक एण्ड यतिमा नेताहरुबीच अन्तरक्रिया हुन लागेको हो । कार्यक्रम सोमबार साँझ ५ बजेबाट सुरु हुने भएको छ ।

कार्यक्रमका लागि सहभागीहरुको छनौट गरिसकेको नेकपाको स्कुल विभागले जनाएको छ । नेकपा स्कुल विभागद्वारा संयोजित अन्तरक्रिया कार्यक्रममा भाग लिनका लागि चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका प्रमुख एवम् चीनका वरिष्ठ कुटनीतिज्ञ सोङ ताओको उच्चस्तरीय टोली नेतृत्व गरी सोमबार दिउँसो नै काठमाडौं आइपुगेका छन् । ताओ चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेताका रुपमा परिचित छन् ।

सोमबार साँझदेखि सुरु हुने उक्त अन्तरक्रिया कार्यक्रममा चिनियाँ कम्युनिष्टका विदेश विभाग, संगठन विभाग र स्कुल विभाग र विज्ञहरुले प्रशिक्षण दिनेछन् । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट करिब ४० जना र नेकपाको तर्फबाट करिब दुई सय नेता सहभागी हुने पूर्व तयारी गरिएको छ । प्रशिक्षणमा नेकपाका उच्चतहका नेता कार्यकर्ताहरु छनौट गरिएका छन् । छनौटमा परेका पार्टी सचिवालय, स्थायी कमिटी र नेकपाका मन्त्रीहरु, केन्द्रीय समिति सदस्य र केही बुद्धिजीविहरु कार्यक्रमस्थल होटल याक एण्ड यति तिर जाने सुरसारमा रहेका छन् ।

दुई दिने अन्तरक्रिया कार्यक्रममा चिनियाँ कम्युनिष्ट नेता तथा विज्ञद्वारा चार भिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत गरिने छ । कार्यक्रमको अध्यक्षता स्कूल विभाग प्रमुख ईश्वर पोखरेल र सञ्चालन उपप्रमुख देवेन्द्र पौडेलले गर्ने गरी कार्य विभाजन गरिएको बताइएको छ । स्कूल विभागकै अर्का उपप्रमुख बेदुराम भुसालले चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख ताओको टोलीलाई एरपोर्टमा स्वागत गर्ने कार्यक्रमअनुसार पाहुनाहरुको स्वागत गरिसकेका छन् ।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रम उद्घाटनपश्चात प्रधानमन्त्री तथा अध्यक्ष ओलीले उद्घाटन मन्तव्य राखेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको तर्फबाट ‘कि नोट स्पिच’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख ताओले पनि ‘कि नोट स्पिच’ राख्ने छन् ।

प्रशिक्षण कार्यक्रमको पहिलो सेसनमा ‘कम्प्लिटिङ द बिल्डिङ अफ मोडरेट्ली कम्फर्टेबल सोसाइटी’ शीर्षकमा चिनियाँ कम्युनिस्ट पार्टी स्कुलका काओ लीले आफ्नो प्रस्तुति राखेसँगै सोमबारको कार्यक्रम बिट मारिने छ ।

मंगलबार स्पेसल थेम्याटिक सेसनमा सबैभन्दा पहिले सु नान पेङले ‘कम्प्रेहेन्सिभ इन्फोर्समेन्ट अफ पार्टी डिस्सिप्लिन’, क्वीन गाङले ‘कम्प्रेहेन्सिभ डिपनिङ अफ रिफर्म’ र सी यु लङले ‘ज्वाइन्ट विड फर बिल्डिङ बेल्ट एण्ड रोड इनिसिएटिभ एण्ड कम्युनिटी फ्युचर फर म्यानकाइन्ड’ शीर्षकमा प्रशिक्षण दिनेछन् । कार्यक्रम सोमबार साँझ ६.० बजे सकिसक्ने गरी तय गरिएको बताइएको छ ।

विदेश विभागका उपप्रमुख विष्णु रिजालका अनुसार मंगलबार नै नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तोओबीच दुई कम्युनिष्ट पार्टीको भाइचारा सम्बन्धका लागि ‘समझदारी’ पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्