गच्छदारलाई मनाउन १३ भाई दिने तयारी



काठमाडौं : एकीकरण भएको बेला आफूसँग भएका समझदारी कार्यान्वयन नभएको भन्दै नेपाली कांग्रेसले सुरु गरेको जागरण अभियानमा सहभागी नभई पार्टी विभाजनको सम्म धम्की दिएका उपसभापति विजय गच्छदालाई मनाउन पार्टी सभापति शेरबहादुर देउवाले केही केन्द्रीय सदस्य र जिल्ला पदाधिकारीहरु दिने भएको छ ।

कांग्रेस र तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बीच दुई वर्षअघि एकीकरण भएको थियो । गच्छदारको धम्की र पछिल्ला गतिविधिबाट सशंकित भएका देउवाले उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिलाई गच्छदारसँगको सम्झौता पूरा गर्ने गरी काम तत्काल टुंग्याउन निर्देशन दिएका थिए ।

उपसभापति निधि संयोजक रहेको सो समितिमा तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू महेश आचार्य, डा. प्रकाशशरण महत र दीपक गिरी सदस्य रहेका छन् ।

कांग्रेस स्रोतका अनुसार तत्कालीन फोरम लोकतान्त्रिकका ११ देखि १३ जनालाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनाउने समायोजन समितिमा गत आइतबार सहमति भएको छ । गच्छदारले यस अघि कम्तिमा आफ्नो तर्फबाट १५ जना केन्द्रीय सदस्य बनाउनु पर्ने अडान राख्दै आएका थिए ।

फोरमका तत्कालीन अध्यक्ष गच्छदार नेपाली कांग्रेसको संसदीय दलको उपनेता तथा पार्टीको उपसभापति बनिसकेका छन् । समायोजनमा ढिलाइ हुँदा तत्कालीन फोरम लोकतान्त्रिकका नेताहरूले नेपाली कांग्रेसका कुनै पनि कार्यक्रममा सहभागी नहुने भन्दै विज्ञप्ति नै जारी गरेका थिए । एकीकरण भएको दुई वर्ष पुग्न लाग्दासमेत भूमिकाविहीन हुन परेकोमा फोरमबाट कांग्रेसमा समायोजन भएका नेता तथा कार्यकर्तामा निराशा बढेको भन्दै गच्छदारले नेतृत्वमाथि दवाव दिँदै आएका थिए ।

यसैगरी, समायोजन समितिले स्थानीय तहको संगठनमा पनि समायोजनको खाका तयार पारेको छ । एक सय जनाको आसपासमा क्रियाशील सदस्य रहेका जिल्लामा फोरमका तर्फबाट एक सहसचिवसहित दुईजना सदस्यको प्रतिनिधित्व गराउने सहमति भएको छ । त्यसभन्दा बढी क्रियाशील सदस्य रहेका जिल्लामा भने संख्याको अनुपातमा प्रतिनिधित्व गराइनेछ । खासगरी तराईका प्रायःजसो जिल्लामा फोरमले उपसभापति र सहसचिव पाउने भएको छ ।

सुनसरी जिल्लामा उपसभापति र सहसचिवसहित १३ जना, मोरङमा उपसभापति र सहसचिवसहित १५ जना, कैलालीमा उपसभापति र सहसचिवसहित तीनजना, बर्दियामा उपसभापति र सहसचिवसहित ६ जना, सप्तरीमा उपसभापति र सहसचिवसहित नौजना फोरमले पाउने छ । यसैगरी, रुपन्देही र झापामा उपसभापति र सहसचिवसहित पाँचजना, धनुषा र बाँकेमा सहसचिवसहित ६ जना, पर्सा, काभ्रे, दाङ र सर्लाहीमा एक पदाधिकारीसहित पाँचजना फोरमले पाउनेगरी समायोजन समितिले आफ्नो काम टुंग्याएको छ ।

यसलाई पार्टी सभापति देउवाबाट अनुमति लिएपछि आगामी बस्ने केन्द्रीय कमिटिको बैठकमा पेश गरिने समायोजन समितिका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्