बिजुक्छे फेरि निर्विकल्प अध्यक्ष : किन हुँदैन मकिपामा उत्तराधिकारीको विकास ?



काठमाडौं : नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट नारायणमान बिजुक्छे पुनः अध्यक्षमा निर्वाचित भएका छन् । मजदुर किसान पार्टीको स्थापनाकालदेखि नै हरेक महाधिवेशनबाट पार्टी अध्यक्षमा निर्विरोध निर्वाचित हुँदै आएका बिजुक्छे यसपटक पनि सर्वसम्मतबाट नै पार्टी अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष बिजुक्छेसहित महाधिवेशनले २५ सदस्यीय केन्द्रीय समिति पनि निर्वाचित गरेको छ ।

नव निर्वाचित कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लिप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवाँ, खगेन्द्र बहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह र वैकल्पिक केन्द्रिय सदस्यमा कृष्णबहादुर तामाङ र मुक्ति यादव रहेका छन् ।

पार्टीको विधानअनुसार महाधिवेशन, पार्टी नेतृत्व चयन तथा पार्टीको कार्य सञ्चालन सम्बन्धित पार्टीको आन्तरिक कुरा हो । तर आमसरोकारको विषय भनेको कम्युनिष्ट पार्टीमा उत्तराधिकारीको विकास किन हुँदैन भन्ने नै हो । नेपाल मजदुर किसान पार्टीको स्थापनाकालदेखि हालसम्मको पाँच दशकको अवधिमा बिजुक्छेको एकछत्र नेतृत्व रहिआएको छ ।

आठ दशक पार गरिसकेका बिजुक्छे नै निर्विकल्प रहिआएका छन् । पार्टीमा विचार विकासका समस्याहरु पनि छन्, त्योसँगै ८४ वसन्त पार गरिसकेका बिजुक्छेको शारीरिक हिसाबले पार्टी कामलाई गतिदिने देखिदैन ।

बिजुक्छेको मजदुर किसान पार्टीसहित अन्य कतिपय कम्युनिष्ट पार्टीहरुमा नेतृत्व विकास हुन नसक्नुमा निम्न आधारभूत कारणले काम गरेका छन् :-

नेतृत्व क्षमता विकासस
नेतृत्व भनेको क्षमता हो । क्षमताको विकास पुरानै ज्ञानका कुराहरु सुनाएर वा चटाएर हुँदैन । त्यसमा पनि कम्युनिष्टको मान्यताअनुसार पुरानोका ठाउँमा नयाँको सिर्जना आफैमा अद्वितीय क्षमताको प्रयोग हो । तर आफूलाई उछिन्ने र जनतामा लोकप्रिय हुने डरले जीवनभर नेता भइरहन चाहने सामन्तवादी÷राजावादी सोंच राख्ने नेताहरुले आफ्नै समकक्षी र नयाँ पुस्तालाई नेतृत्वका रुपमा विकास गराउन प्रयास गरेको देखिदैन । परिणामस्वरुप कम्युनिष्ट पार्टी निकै जडसूत्रीय, संकीर्ण र परम्परावादी बन्दै आएको देखिएको छ ।

पुस्तान्तरको समस्या
एक समयका पुरानो पुस्ता मात्र नेतृत्वमा रहँदा यसले आफ्ना पछाडि जन्मदै र विकास हुँदै गएका चारपाँच पुस्तासम्मको समाज विकासको गति, नयाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, नयाँ पुस्ताको नयाँ सोच र कार्यशैली तथा नयाँनयाँ अन्तरविरोध र तिनका समाधानका उपायहरुको भेउ पाउँदैन । सबै हिसाबले बूढो पुस्ताको पार्टी नेतृत्व पछि परिसकेको हुन्छ । राजा वीरेन्द्रको वंशनाशपछि श्रीपेच पहिरेका ज्ञानेन्द्रले नारायणहिटी पुग्ने बित्तिकै “डा. ऋषिकेश शाह, डा. तुल्सी गिरी, परशुनारायण चौधरी, सूर्यबहादुर थापा कहाँ छन्, तुरन्त खोजील्याऊ” भनी हुकुम दिएका थिए । कसरी पुस्ता–पुस्ताका बीचमा र राजनीतिक परिवर्तनको सिंगो चरणहरुका बीच यति ठूलो खाडल सिर्जना हुन जान्छ यही दृष्टान्त पर्याप्त छ ।

कार्यकर्ता र जनसम्बन्धमा दरार
स्वभावैले पुस्तान्तर भएपछि कार्यकर्ता र जनतासँग नेताहरुको सम्बन्धमा कटौती हुँदै जान्छ । परिणामस्वरुप कार्यकर्ता जनताका बीचमा जान सक्दैनन् । यसले नेता र कार्यकर्ताका बीचमा अनावश्यक अन्तरविरोध सिर्जना गर्छ । यही अन्तरविरोध कार्यकर्ता र जनताका बीचमा पनि खडा हुन्छ ।

सिर्जनशीलता र नयाँपनको अभाव
पार्टी र पार्टीको नेतृत्व पुरानै रहेपछि सिर्जनशीलता र नयाँपन भनेको कुन चरीको नाम हो थाह हुन समेत् छाड्छ । जब धरातलीय यथार्थबाट पार्टी नेताहरु कट्दै जान्छन्, उनीहरुको सोच्ने तरीका, काम गर्ने तरीका र संसारलाई हेर्ने र फेर्ने तरिकामा पनि भुत्तेपनको विकास हुन्छ । माओले चीनका सन्दर्भमा यही समस्या समाधानका लागि पुराना, नयाँ र युवा पिढीलाई ‘थ्रि–इन–वान’ को आधारमा एउटै कमिटीमा समेटेका थिए ।

सामन्ती पिरामिड नेतृत्वको विरासत
बिजुक्छे लगायतका कम्युनिष्टहरुको पार्टी नेतृत्व सामन्ती पिरामिड शैलीमा आधारित छ । सांगठनिक संरचनाको यो मोडेलले ‘विना श्रीपेचका राजाहरु’ जन्माउँछ । यसलाई लेनिनको प्रेसिडियम शैलीको मोडलमा ढाल्न र प्रयोगमा ल्याउन जरुरी छ । यसले मात्र सामूहिक नेतृत्वको विकास गर्न मद्दत पुर्याउँछ ।

यसका साथै जनवादी केन्द्रियताको अभ्यास नहुनु, फरक मतको सफाया गरिनु आदि पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्