ज्येष्ठ नागरिक अनुभवका खानी हुन्, देश निर्माणमा महत्वपूर्ण : प्रधानमन्त्री



काठमाडाैं : प्रधानमन्त्री केपी ओलीले ज्येष्ठ नागरिक अनुभवका खानी भएकाले उनीहरुकाे अनुभव देश निर्माणका लागि महत्वपूर्ण हुने बताएका छन् ।

 

२८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले सन्तानकाे कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने बताए ।

 

जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सङ्गालेका देशका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गर्दै जेष्ठ नागरिकको हकहित संरक्षण र सम्बद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको प्रष्ट पारे ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा यस वर्ष ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ भन्ने मूल नाराका साथ आज ज्येष्ठ नागरिक दिवस मनाइँदै छ ।

 

समाजमा आउँदा दिनमा जेष्ठ नागरिकको जनसंख्यामा वृद्धि हुँदै जाने तर बदलिएको परिवारिक संरचना तथा व्यक्तिको जीवनशैली र रोजगारीका लागि युवाको विदेशिने क्रमका कारण घरघरमा ज्येष्ठ नागरिक एक्लिने अवस्था आएको प्रधानमन्त्रीले बताए ।

 

प्रधानमन्त्रीले भने, ‘कतिपय अवस्थामा ज्येष्ठ नागरिकले आफन्तबाटै अपहेलित र उपेक्षित भएर जीवन बिताउनु परेको छ । सरकार ज्येष्ठ नागरिकका यस्ता समस्याप्रति गम्भीर छ ।’

 

ज्येष्ठ नागरिकको दैनिकी सहज बनाउन उनीहरुलार्इ नागरिक भत्ताका अतिरिक्त सरकारले यसै आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक बीमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

 

ज्येष्ठ नागरिकको सुरक्षाका लागि कानूनी प्रावधानको व्यवस्था गर्न ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा आवश्यक संशोधन गर्ने प्रक्रिया अघि बढेको जानकारी पनि प्रधानमन्त्रीले सन्देशमार्फत् दिएका छन् ।

 

‘ज्येष्ठ नागरिकको उचित र सम्मानित व्यवस्थापन वृद्धाश्रम निर्माण गरेर होइन, सन्तानले नै वृद्ध बाबुआमाको रेखदेख गर्नु पर्दछ भन्ने हाम्रो सामाजिक मान्यताको प्रवद्र्धन गरेर मात्र सम्भव छ’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्