जिल्लामा बाघ आएको जस्तो छ सीडीओ कँडेलको धनुषा प्रवेश



जनकपुरधाम : धेरै जिल्लामा प्रमुख जिल्ला अधिकारी बनेर कार्यसम्पादनमा अमूल्य अनुभव आर्जन गरेका सरकारका सहसचिव प्रदिपराज कँडेल धनुषा जिल्ला पस्ने बित्तिकै सुधारवादी अभियान सुरु गरिसकेका छन् । आफ्नो टाउकामा आफै आगो लगाउन आँट गर्ने समाज सुधारक कँडेल सुधार आफैँबाट सुरु गर्नुपर्छ भन्ने मान्यता राख्छन् । धनुषामा प्रमुख जिल्ला अधिकारी बनेर पसेको केही दिनमै जनकपुरस्थित जिल्ला प्रशासन कार्यालयमा देखिने गरी सुधारका कामहरु थालिसकेका छन् ।

उनी धनुषा पस्नुपूर्व मालपोत, नापी, भन्सार, श्रम तथा यातायात सबैजसो कार्यालय जस्तै कमाउ कार्यालयका रुपमा परिचित थिए, निगरानी गर्ने धनुषाको जिल्ला प्रशासन कार्यालय पनि मौन हुन्थ्यो । बिचौलियाको रजगज थियो, जिल्ला प्रशासन कार्यालयमा पनि । कर्मचारीले लेनदेनको सेटिंग गरेर मात्रै काम गर्छन् भनेर कानेखुशी हुन्थ्यो । कार्यालय अस्तब्यस्त, गुट्खा र पानको छिटा चारैतिर भित्तामा, कार्यालय परिसरमा फोहरको डंगुर ।

अहिले कार्यालय परिसर चिटिक्क छ । सेवाग्राही बस्ने सुविधा छ । निःशुल्क खानेपानी । चाहेमा सेवाग्राही आफैँले चिया बनाएर खान सक्छन् । फ्रि वाईफाईको सुविधा, काम लिएर जाउँजाउँ जस्तो । समयमै काम तमाम । टेन्सन फ्रि । असहाय र अपाङ्गका लागि अपाङ्गमैत्री कोठाको प्रबन्ध ।

प्रमुख जिल्ला अधिकारी कँडेलको सुधारवादी चिन्तन र कामकार्यलाई जनकपुरवासीले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् । आजभोलि जनकपुरका चिया पसलमा गफ चल्नेगर्छ, सिडियो हुनु त प्रदिपराज कँडेलजस्तो पो !

बिचौलियाले भरिभराउ हुने जिल्ला प्रशासन कार्यालय परिसर अब सेवाग्राहीमैत्री बन्दै गएको आभास हुन्छ  । महिला-आमा सेवाग्राहीका लागि स्तनपान कक्षको व्यवस्था छ । अफिसका लागि चाहिने सामान नागरिक सहायता कक्षमै राखिएको छ । १० रूपैयाँ मूल्यको टिकट १५ रुपैयाँमा किन्नु पर्ने बाध्यता टरेको छ । सेवाग्राहीलाई माइकबाट बोलाउने गर्नुका साथै विद्युतीय टोकन पनि चलिरहेको हुन्छ । सीसीटिभी क्यामरामार्फत् सबैमाथि निगरानी गरिरहेका हुन्छन्, प्रमुख जिल्ला अधिकारी कँडेल ।

सेवाग्राहीलाई स्थानीय मैथिली भाषामा स्वागत गर्दै टोकन लिएर प्रतीक्षालयमा बस्न आग्रह गरिन्छ । कार्यालय डिजिटलमय बनेसँगै सेवाग्राहीले अतिरिक्त रकम बुझाउनु पर्ने परिपाटीको अन्त्य भएको छ । प्रजिअ कँडेलले नक्कली नागरिकता बनाउने बिचौलिया र जिल्ला प्रशासनका कर्मचारीगरी ८ जनामाथि कारवाहीसहित वैज्ञानिक तथा सेवामुखी प्रणाली बसाएका हुन् ।

पाँचथरमा रहँदा निरक्षर उन्मुलनको अभियानमा सहयोग पुग्ने गरी उनले ‘इच वान, टिच वान’ अर्थात ‘हरेक एकजनाले अर्को एक जना’लाई सिकाउने भन्ने अत्यन्तै लोकप्रिय जनमुखी अभियान नै चलाए । परिणामतः, कँडेलकै शब्दमा, धेरै निरक्षरहरु मोबाइलमा फोन गर्न सक्ने, नम्बर हेर्न सक्ने र नेपाली भाषा सामान्य पढ्न सक्नेसम्म भएका थिए ।

त्यस्तै कँडेलले सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारी रहँदा ‘टच टु फाइन्ड’ अर्थात खोजेको कागजात तुरुन्तै भेटिने गरी कार्यालय व्यवस्थापनमा चुस्त अनि दुरुस्त बनाउने अभियान पनि सुरु गरेका थिए ।

सहसचिव कँडेलले पाँचथर र गुल्मीमा ‘गरिबका लागि कपडा बैंक’ भन्ने अभियान नै चलाए । पाँचथर र गुल्मीमा त्यो अभियान जारी छ ।

गुल्मीमा रहँदा कँडेलले सेवाग्राहीलाई निःशुल्क चियाकफी र पानी पिउने व्यवस्था गरेपछि सामाजिक सञ्जालबाट सिडिओले सस्तो लोकप्रियताका लागि राज्यको ढुकुटी सक्यो भनेर टिकाटिप्पणी सुरु भयो । तर उनले यो सेवामा स्थानीय राजनीतिक दलका नेता, समाजसेवी लगायतले सहयोगको पूरै खर्च विवरण हरेक पटक सार्वजनिक गरिरहे ।

गुल्मीको बडागाउँमा आगलागी भएर पूरै गाउँ खरानी भयो । त्यसको चौथो दिन उनले दलका प्रतिनिधि, सेना, प्रहरी, नागरिक समाज सबै मिलेर ५४ वटा टहरा बनाए । फेरि उनलाई सस्तो लोकप्रियताको आरोप लाग्यो ।

पाँचथरमा उनले ‘ध्वनी बडापत्र’ को अवधारणा ल्याए । सेवाग्राहीले सुनेरै सम्बन्धित कार्यालयबाट प्राप्त हुने सेवासुविधाबारे जानकारी पाए । पाँचथरमा रहँदा उनी सडक बिस्तारका लागि आफै घन बोकेर ढुँगा फुटाउँदै हिँडे ।

एकाउन्टिविलिटी ल्याब नामक अन्तर्राष्ट्रिय संस्थाबाट कँडेलले सन् २०१५ को ‘इन्टिग्रिटी आइडल अवार्ड’ पाएका थिए । उनले गाउँगाउँमा सिंहदरवार अभियानमा उत्कृष्ट प्रमुख जिल्ला अधिकारीको सम्मान पाएका थिए ।

२०४६ सालमा निजामती सेवामा जागीर खान हिंडेका कँडेल कर्मचारीले सेवाग्राहीलाई दिएको दुःख देखेर जनसेवाका यस्ता उपायहरु फुरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्