मदिरा उद्योग सञ्चालक कलवारद्वयलाई एक वर्ष कैद



नरेश सर्राफ/वीरगञ्ज : अन्तःशुल्कको स्टिकर हिनामिना गरेको आरोपमा पक्राउ परेका मदिरा उद्योग सञ्चालकद्वय ओमप्रकाश कलवार र शम्भुशरण कलवारविरुद्ध आन्तरिक राजस्व कार्यालय वीरगञ्जले ३१ करोडभन्दा बढी बिगो दाबीसहित एक वर्ष कैद सजायको फैसला गरेको छ । उनीहरुमाथि मदिराको बोतलमा प्रयोग हुने अन्तः शुल्कको स्टिकर दुरुपयोग गरेको ठहर गरिएको छ ।

सजायका भागिदार दुईभाइका मदिरा उद्योगहरु वीरगञ्ज २४ रामगढवामा उदयपुर डिस्टिलरी प्रालि र पर्साको पोखरीया बसन्तपुरमा जयश्री धौलागिरी डिस्टिलरीका नामबाट सञ्चालित छन् । सञ्चालकसँग ३१ करोड ६३ लाख ३० हजार ८० रुपैयाँ बिगो, जरिवाना र विलम्ब शुल्क असुल उपर गर्न एक–एक वर्ष कैद सजायको फैसला गरिएको हो । अन्तः शुल्कका नाममा आन्तरिक राजस्व कार्यालय वीरगञ्जले यस्तो खाले फैसला सुनाएको यो पहिलो पटक हो ।

मदिरा उद्योगी दाजुभाइलाई अन्तःशुल्क ऐन २०५८ कोदफा १६ का उपदफा १ (क) र दफा १६ को उपदफा २ (ख) बमोजिमको कसुर ठहर गरी अन्तःशुल्क राजस्व दबाएको, छिपाएको, छलेको पुष्टि भएपछि यही भदौ २६ गते पक्राउ गरी कारवाहीको प्रक्रिया अगाडि बढाइएको हो । कलवार दाजुभाइले जानीजानी बदनियतपूर्वक अन्तःशुल्क दबाउने, छिपाउने, कर छल्ने उदेश्यले अन्तःशुल्क स्टिकर हिनामिना र दुरुपयोग गर्दा अन्तःशुल्क ऐनअनुसार कसुर ठहर गर्दै बिगो दाबीसहित एक-एक वर्षको कैद सजाय फैसला सुनाइएको हो ।

उदयपुर डिस्टिलरीका संचालक ओम प्रकाशको हकमा आर्थिक वर्ष २०७१/०७२, आव ०७३/०७४ र आव ०७४/०७५ मा अन्तःशुल्कको स्टिकर खरीद गरेर लगेको र त्यसको आम्दानी खातामा जनाएको आम्दानी खातामा प्रत्येक दिनको खर्च र मौज्दातको विवरण जनाएको, स्टिकर अल्या गर्दा अर्थात जिम्मेवारी सार्दा जानाजानी बदनियतपूर्वक कम संख्यामा अल्या गरेको भेटिएको थियो ।

कलवारले उत्पादित मदिरा श्रीराम ट्रेडिङ्ग कन्सर्न प्रालिको नक्कली दोहोरो-तेहोरो कर बिजक जारी गरी बिक्री गरेको बेहोरा समेत पुष्टि भएको हुँदा आन्तरिक राजश्व कार्यालय, वीरगन्जले विगो, जरिवाना र विलम्ब शुल्क जोडेर जम्मा २६ करोड १५ लाख ७० हजार ३ सय ४७ रुपैया असुल गर्नुको साथै एक बर्ष कैद फैसला गरेको हो ।

जयश्री धौलागिरीका संचालक तथा ओमप्रकाशका दाई शम्भुशरण कलवारले अन्तःशुल्कको स्टिकर हिनामिना गरेको अभियोग पुष्टि भएपछि बिगो, जरिवाना र विलम्ब शुल्क गरी कुल ५ करोड ४७ लाख ५९ हजार ७ सय ३३ रुपैया असुल गर्नुका साथै १ वर्ष कैद सजाय फैसला गरेको छ । शम्भु वीरगन्जकै सबभन्दा पुरानो श्रीराम सिनेमा हलका सञ्चालक समेत हुन् ।

कार्यालयको फैसलामा चित्त नबुझे दुवैजनालाई ३५ दिनभित्र राजश्व न्यायधिकरण अनामनगर काठमाडौैंमा पुनरावेदन गर्न जानु भनी फैसलामा जनाइएको छ । स्टिकर हिनामिनाको निरीक्षणमा खटेका आफ्नै कार्यालयका चार जना कर्मचारीलाई समेत विभागीय कारवाहीको लागि सिफारिस गरिएको राजस्व कार्यालय वीरगञ्जका प्रमुख गोपीकृष्ण कोईरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्