करोडौं कुम्ल्याउने जर्नेल भूमिगत



काठमडौं : प्रधानसेनपति पूर्णचन्द्र थापाले सेनाभित्र मौलाउदै गरेको गलत प्रवृत्ति र अनियमितताविरुद्ध जेहाद छेड्ने उद्घोष गरिरहँदा सेनाका एक जर्नेल भने भूमिगत हुन पुगेका छन् । यसरी भूमिगत हुन पर्नाको कारण हो, ती जर्नेल जागिरमा छँदा करोडौं रकम कुम्ल्याउनु ।

जागिर अवधिमा मालदार ठाउँमा रजाई गर्दै आएका ती जर्नेल पछिल्लो पटक निजगढ–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माण आयोजनामा मस्ती गरेका थिए । त्यही मस्तीको फल अहिले निस्केको छ । फास्ट ट्रयाकमा हालीमुहाली गरेका र अहिले चाहि भूमिगत भएर बसेका ती जर्नेल हुन्, योगेन्द्र खाँण ।

पहिले एक डफ्फा सैनिक लिएर हिड्ने जर्नेल खाँण अहिले उनको खोजीमा एक डफ्फा सैनिक खटिएका छन् । उनलाई खोज्न हिँडेको उनको घर पुगेका सैनिक प्रहरी रित्तो हात फर्किएका छन् ।

(फास्ट ट्रयाक) निर्माणक्रममा आफन्त पोसेको र करोडौं अनियमितता गरेको भनी जंगी अड्डामा पूर्वप्राविधिक जर्नेल खाँणविरुद्ध उजुरी परेसँगै प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘जर्नेलमात्रै हैन, उनका जिजुबाजे नै भए पनि बाँकी राखिँदैन’ भन्दै यस प्रकरणको छानबिन गर्ने जिम्मा दिएका छन्, सिनियर जर्नेल शरद गिरीलाई ।

फास्ट ट्रयाक निर्माणक्रममा अग्लो पुल र सुरुङ बनाउन नेपालीले नसक्ने र त्यसका लागि अन्तर्राष्ट्रिय टेण्डर गर्नुपर्ने अवस्था विद्यमान छ ।

सो कामका लागि जंगी अड्डाले प्रकृया मिलाउँदै गर्दा खाँणले तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीको आदेशानुसार मौखिक रुपमै आफ्ना मान्छेको डोजर, लोडर लगाएर अर्थ वर्क (जमिन सम्याउने काम) काम गरेका थिए । त्यो बेला उनले जमिन सम्याउनकै लागि पचासौँ करोड घोटाला गरेको सैनिक स्रोतले जनाएको छ ।

उनले बिनायोजना लाखौँ स्क्वायर फुट बाटो त्यसै खन्न लगाउने, बिल बनाउने र पैसा दिने काम गरेको तथा मौखिक जिम्मा र हाताहाती पैसा दिएर उनले अनियमितता गरेको उजुरी प्रधानसेनापतिको सचिवालयमा पुगे पछि उनले खाँणलाई नभई संलग्न जति सबैमाथि कारवाही गर्ने प्रधानसेनापति थापाले बताउँदै आएका छन् ।

छानबिनक्रममा दोषी ठहर हुने सैनिक वा गैरसैनिक, जो भए पनि यसचोटि बच्न नसक्ने गरी कारवाही अगाडि बढाइएको रक्षा स्रोतले जनाएको छ ।

तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीकै पालामा लोकमानसिंह कार्कीका सम्धी रोहिणी थपलियालाई जबर्जस्ती जहाज र स्पेयर पार्टस् खरिद गर्न दिँदा गोलमाल भएको प्रकरण छानबिनका निम्ति नागरिक उड्डयनको फाँटमा काम गरिसकेका वा रिटायर्ड भएका विशेषज्ञको समेत अहिले खोजी भइरहेको सैनिक मुख्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्