आजदेखि मैथिली समुदायमा जितिया पर्व सुरु 



जनकपुरधाम :  नेपालको तराई क्षेत्रका हिन्दू नारीहरुले मनाउँदै आएको कठोर मानिने जितिया पर्व आजदेखि मैथिली समुदायमा सुरु भएको छ । आज नेपाली मैथिली महिलाहरु बिहानै सागर, तलाउ, पोखरीमा गई नुहाईधुवाई, पूजा अर्चना गÞरी व्रत बस्ने गर्छन् । 

 

जितिया पर्व विवाहिता महिलाहरुको साझा पर्वका रुपमा मनाइन्छ । सबैखाले विपद्बाट मुक्तिका लागि आफ्नो सन्तानको रक्षार्थ महिलाहरु जितिया मनाउने गर्छन् । असोज कृष्ण अष्टमीदेखि तीन दिनसम्म जितिया मनाउने गरिन्छ ।

 

यस पर्वको पहिलो दिन आज अर्थात् सोमबार व्रतालु महिलाले नुहाएर शुद्ध भई भोजन गर्ने गर्छन् । ब्रतालु महिलाहरुले नदी, पोखरी तथा जलासयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल, सिन्दुरलगायत सामग्री सूर्यपुत्र शालिवाहनका छोरा जितवाहनलाई चढाउने गछन् । 

 

जनकपुरधामस्थित गंगासागर, धनुष सागर, अंगराज सर, महाराज सागर, पापमोचनी र दूधमति नदीमा ब्रतालु महिलाहरुको आजको दिन घुइँचो लाग्ने गर्छ । पर्वको दोस्रो दिनदेखि ब्रतालुहरु २४ घण्टा लामो निराहार उपवास बस्ने गर्छन् । ब्रत बसेका महिलाहरु एकै स्थानमा जम्मा भई भगवान् जितवाहनको कथा सुन्ने परम्परा छ ।

 

आज राति भोजनपश्चात् ब्रतालु महिलाहरुले मंगलबार रातसम्म पानीसमेत नखाई निराहार व्रत बस्ने गर्छन् । पर्वको अन्तिम दिन ब्रतालु महिलाहरु पुनः नदी, पोखरी र जलासयमा स्नान गरी  पवित्रता साथ चिउरा, दही तथा सख्खरको प्रसाद बनाई अर्घ दिइसकेपछि जितिया ब्रत समाप्त हुने गर्छ । 

 

थारू समुदायमा पनि जितियाको उत्सव धुमधाम हुने गर्छ । तराई मधेशको सिरहा, सप्तरी, महोत्तरी र सर्लाही बारालगायत क्षेत्रमा जितवाहन भगवानको मूर्तिसमेत बनाई मेलाको आयोजना पनि गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्