जुृम्लामा मनपरी भाडा



सिञ्जा : जुम्ला बजारबाट कनकासुन्दरी गोठिज्युला सञ्चालन हुने साना सवारी साधनले मनपरी भाडा असुल्ने गरेको पाइएको छ । गाडीहरुले मनपरी शुल्क असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् ।

लासीबाट बजारसम्म पहिले १०० रुपैयाँमा यात्रु ओसार्ने गाडीहरुले आजकल २०० रुपैयाँ भाडा लिने गरेको स्थानीयवासी उमेश बुढाले जानकारी गराए । अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रु आवतजावत गर्न बाध्य भएको बुढाको भनाइ छ ।

अप्ठ्यारो बाटोमा क्षमताभन्दा बढी यात्रु राखेर गाडीहरु सञ्चालन हुने गरेको उनले बताए । “जुवाडाम रहेको प्रहरी चौकी नजीक आएपछि यात्रुहरु झार्ने गरिन्छ”, बुढाले भने, “कोटाभिड नजीक पुगेपछि पुनः यात्रु राखेर बजार ल्याउने गरिएको छ ।”

यात्रुको ढाड सेकिने गरी भाडा असुल गरिएको प्रति उनले विरोध जनाउनुभयो । लासीबाट बजारसम्म र बजारबाट लासीसम्म जाने साना गाडीहरुले पछाडिको ढाला र छतभरि मान्छे बोकेर सञ्चालन हुने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ती सडकमा चल्ने सवारी साधनमाथि निगरानी नगर्दा सवारी सञ्चालकले मनपरी भाडा असुल्ने गरेका हुन् ।

यात्रुहरुका अनुसार पाँच जना चढ्न मिल्ने सिट क्षमताको गाडीमा झण्डै २५ जनासम्म कोचेर मनपरी शुल्क लिने गरेको गुनासो गरेका छन् । सवारी चालक र सवारीधनीले पातारासी ‘रुट’मा मनपरी भाडा असुली रहँदा पनि प्रहरी चुप हुँदा यात्रुहरुले दुःख पाएका हुन् ।

लासीबाट बजार–बजार–उथ्र्रुसम्म चल्ने गाडीहरुमा बढी पैसा असुल्ने र सिट सङ्ख्याभन्दा सातौँ गुणा बढी यात्रु ओसार्ने गरेको स्थानीयवासी शिवा बुढाले बताए । प्रहरीको सक्रियाता नहुँदा गाडीधनीहरु खुलेआम यात्रु ठग्ने गरेका गुनासो आइरहेको छ ।

ट्राफिक प्रहरीले बजारमा बसेर जरिवाना काट्ने गरे पनि दिनहुँ गाडी धनीहरुले निर्बाध मान्छे कोच्ने र बढी रकम असुल्ने कार्य जारी राखेका छन् । ट्राफिक प्रहरीको उपस्थिति नभएका कारणले आफूखुशी चालक र सवारीधनीले भाडा असुल्ने गरेको शिवा बुढाले गुनासो गरे ।

टिकट काट्ने काउन्टरको व्यवस्था नभएका कारण बीच बाटामै यात्रुबाट रकम लिने गरिएको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्